सम्प्रदाय धर्म होइन : डा. योगी विकासानन्द

योगी विकासानन्द     ३० माघ २०७७, शुक्रबार
सम्प्रदाय धर्म होइन : डा. योगी विकासानन्द

धर्मको उल्टो रूप पाप हो भन्ने बुझाइ हाम्रो समाजमा विद्यमान छ। यो गलत बुझाइ हो। किनकि, पापको उल्टो धर्म नभएर पुण्य हो। हामीले जुन–जुन कर्मलाई धर्म भनेर बुझ्दै आएका छौँ, ती अधिकांश धर्म नभएर पुण्य हुन्। संसारमा अरूलाई हित हुने जति पनि कार्य छन्, ती कार्य पुण्य कार्य हुन्।

अहिले पश्चिमा देशमा स्वयंसेवासम्बन्धी पढाइ नै हुन्छ। युरोप अमेरिकाका युवा स्वयंसेवकको रूपमा विश्वका विभिन्न मुलुकमा गएर लोकहितसम्बद्ध काम गर्छन्। स्वयंसेवा वा पुण्य कार्यले अरूको हित सँग–सँगै कार्य गर्ने व्यक्तिलाई पनि आत्मसम्मान प्रदान गर्छ। आत्मसम्मान प्राप्त भएपछि मान्छे सबैभन्दा बढी खुशी हुन्छ।

खुशी मान्छे, शारीरिक र मानसिक रूपमा सक्षम र सबल बन्छ। भनिरहनुपर्दैन, शारीरिक र मानसिक रूपमा सबल र स्वस्थ मानिसले नै भौतिक सम्पत्ति र मानसिक सन्तोष आर्जन गर्न सक्छ। त्यसैले पुण्य कार्यले अरूलाई मात्र होइन, आफैँलाई फाइदा गर्ने भएकाले पुण्य कार्य गर्नुपर्छ भनिएको हो।

दीर्घ आनन्द र धर्म 

यस्ता–यस्ता काम गरे धर्म हुन्छ भनेर हाम्रो लोक जीवनमा प्रचलित मूल्य आफैँमा अध्यात्म होइन। अध्यात्मका अनुसार जीवनको उद्देश्य भनेको सम्पूर्ण दुःखबाट मुक्त भएर परम ज्ञान प्राप्त गर्नु हो। परम ज्ञानसम्म पुग्नका लागि सिँढी के त ? सामान्य प्रयत्नबाट नै मानिस मुक्त हुने हो भने संसारमा औँलामा गन्न सक्ने संख्या मात्र मुक्त पुरुषहरूको हुँदैनथ्यो। मुक्तितर्फको यात्राका लागि मानिससँग दुई वटा पूर्वाधार चाहिन्छन्। पहिलो शरीरमा प्रशस्त शक्ति र दोस्रो मनमा शान्ति।

शरीरमा शक्ति भएन भने मानिसले साधना गर्न सक्दैन। मनमा शान्ति भएन भने ऊ आफूमा डुब्न सक्दैन। आफूमा डुब्न सकेन भने उसले आत्मा परमात्माको कुरा अनुभूत नै गर्न सक्दैन। आफूलाई अध्यात्मका साधक ठान्ने कतिपयले मन र आत्मा मात्र प्रमुख हो शरीर गौण हो भन्ने गरेका छन् अर्थात् मुक्तितर्फ अग्रसर हुनेले नश्वर शरीरको खासै हिफाजत गर्नु पर्दैन भन्ने उनीहरूको बुझाइ छ।

शरीर त्यतिबेला मात्रै खासै महत्त्वपूर्ण हुँदैन, जब मानिसले परम ज्ञान प्राप्त गरिसक्छ। तर, परम ज्ञानतर्फ जाने पूर्वाधार शरीर हो। शरीरको उपेक्षा गरेर अगाडि बढ्न सकिन्न। स्वस्थ र शक्तिसम्पन्न तन तथा असिम शान्तिले भरिएको मन नै अध्यात्मतर्फको पहिलो खुड्किलो हो। जहाँ पाइला नराखीकन शिखरमा पुग्न सकिन्न। 

धन कमाउने, विवाह गर्ने, छोराछोरी जन्माउनेजस्ता कर्मले मनमा दीर्घ शान्ति प्राप्त हुँदैन। त्यति मात्र होइन, उच्च ओहोदा र प्रतिष्ठाले पनि मनमा दीर्घ शान्ति दिँदैन। कुनै पनि भौतिक कुराले मनमा शान्ति प्राप्त गर्न सकिन्न। भौतिक उपार्जन वा कमाइले शरीर सुख मात्र प्राप्त हुने हो। तर, हामी भौतिक वस्तुले आनन्द दिन्छ भन्ने सोच्छौँ। त्यसैले घर बनाउन पाए सबथोक पुग्छ भन्ने लाग्छ।

तर, घर बनाइसकेपछि घर केही पनि होइन रहेछ भन्ने अनुभूति हुन्छ। त्यही घरमा गाडी भए ठीक हुन्थ्यो भन्ने अर्काे तृष्णा थपिन्छ। गाडी पाएपछि पनि गाडीले स्थायी आनन्द दिन सक्दैन। कुनै भौतिक वस्तु पाउँदा, फिल्म हेर्दा वा नाइट क्लब जाँदा आएको÷भनिएको आनन्द मन झुक्किएको मात्र हो। मन झुक्किनु आनन्द होइन। 

केही पाएर आएको आनन्दभन्दा केही दिएर आएको आनन्द बढी दीर्घायु हुन्छ। तर, हामी केही पाएर वा लिएर आनन्द पाइन्छ भन्ने बुझाइमा छौँ। कसैलाई केही दिएर वा कसैको सेवा गरेर तपाईंलाई आनन्द आउँछ भने तपाईंले पुण्य कार्य गरिरहनुभएको छ। मैले एउटा रेडियो कार्यक्रममा उद्योगी पद्मज्योतिको अन्तर्वार्ता सुनेको थिएँ। रेडियो पत्रकारले ‘तपार्इंलाई के गरेर सबैभन्दा बढी आनन्द आउँछ’ सोध्दा उनले आफूले धेरै पैसा कमाएको र कमाइ निरन्तर बढिरहेको बताएका थिए।

कमाइ जति बढे पनि खुशी चाहिँ नबढेको उनले अन्तर्वार्तामा भनेका थिए। बरु, आफूले कमाएको कुरा सामाजिक क्षेत्रमा खर्च गर्दा सबैभन्दा बढी खुशी लाग्ने उनको भनाइ थियो। उनको भनाइअनुसार कमाएरभन्दा खर्च गरेर बढी आनन्द आउँदो रहेछ। यसो भनिरहँदा कमाउनु हँुँदैन भन्न खोजिएको होइन। कमाउनुपर्छ तर कमाइ नै आनन्दको स्रोत हो भनेर भ्रममा बस्नु हुँदैन। कमाइलाई साध्य बनाउने होइन, जीवनको दुःख मुक्तिको एउटा सामान्य साधन बनाउने हो। 

भौतिक वस्तुले आधारभूत आवश्यकता पूर्तिको चरणमा मात्रै खुशी दिन्छ। एउटा पनि घर नभएको मानिस घर पाउँदा खुशी हुन्छ। तर, १५ वटा घर भएको मान्छेले १६ औँ घर बनाउँदा खुशी थपिन्न, घर मात्र थपिन्छ। खानै नपाएको मनिसले खान पाउनु खुशी हो। तर, खान पाइरहेको मानिसले मीठो परिकार पाउनु पनि खाशै खुशी होइन। 

यस अर्थले धर्म अफिम 

यसरी हेर्दा आध्यात्मिक जीवनको पूर्वाधार आनन्द हो। अनि, आनन्दको पूर्वाधार सेवा हो। लोक जीवनले त्यही सेवालाई नै धर्म मान्छ। धर्मको परिभाषा अर्काे पनि छ। घारणा गर्नु नै धर्म हो। धारणा भन्नाले मैले नियमित रूपमा गरेका साधना नै धर्म हो वा धारणा गरिएका सबै सत्कर्म धर्म हो। यो धर्मको वास्तविक र महानतम परिभाषा हो भने अर्काे परिभाषा अत्यन्तै खतरनाक छ। हिन्दू, मुस्लिम, ईसाई आदिलाई हामी धर्म भनिरहेका छौँ। यी धर्म होइनन्, सम्प्रदाय हुन्।

हिन्दू सम्प्रदाय, मुस्लिम सम्प्रदाय वा अन्य सम्प्रदाय। एक पटक ओशो रजनीशले दुनियाँमा हिन्दू, इस्लाम, शिख र ईसाई भेटिन्छन् तर मान्छे भेटिँदैनन् भनेका थिए। उनले भनेको साँचो हो। सम्प्रदायरूपी धर्मले मानिसको मनुष्यत्व नै समाप्त पारिदिएको छ। रजनीशले त हिन्दू, इस्लाम, शिख र ईसाई धर्म, धर्म नरहेर मानव सभ्यतालाई लागेको रोगसमेत भनेका थिए। अर्थात्, यही रोगका कारण एउटा देश, एउटा समाज र एउटा परिवार मात्र होइन सिंगो मानव सभ्यता नै प्रभावित भएको छ। यही सम्प्रदायरूपी धर्मलाई नै आधार बनाएर माक्र्सले ‘धर्म भनेको अफिम हो’ भनेका हुन्। 

भारतलाई धर्मभूमि भनिन्छ  । कुल जनसंख्याको एक करोड मानिस साधु छन्। एक करोड मानिस धर्मका नाममा केही पनि नगरी खान्छन्। यी एक करोडमध्ये अधिकांश गँजडी, अल्छी, ढोँगी छन्। अर्काे डरलाग्दो कुरा के हो भने साधु भेष अपराधी लुक्ने सजिलो माध्यम पनि भएको छ। भारतीय धर्मगुरु के–के गरिरहेका छन् भन्ने कुरा हामीले देख्दै आएका छौँ। अपराधी र ढोँगीका करोडौँ अनुयायी हुनु आफँैमा अर्काे अचम्मको कुरा छ। यसबाट नै सम्प्रदायरूपी धर्म के हो भन्ने स्पष्ट हुन्छ। 

सम्प्रदायमा रहेको मानिसले पनि धर्मकै कुरा गर्छ। यहाँसम्म कि अहिले संसारको सबैभन्दा क्रूर भनिएको आईएसआईएसले पनि धर्मलाई नै आधार बनाएर आफ्नो आतंक फैलाइरहेको छ। उसले आफ्नो कर्मको केन्द्र कुरानलाई बनाएको दाबी गरिरहेको छ। सम्प्रदाय धर्म होइन तर दुर्भाग्य सम्प्रदायको नेतृत्व गरिरहेकाहरूले धर्मकै कुरा गरिरहेका छन्। उनीहरू नै दान गर, सेवा गर र वितरागी बन भनिरहेका छन्। त्यति मात्र होइन, धर्मगुरु भनिएकाहरूले आफ्नो सम्प्रदायमार्फत सेवाको काम पनि गरिरहेका छन्। जसले गर्दा आममानिसमा दुविधा र भ्रम पैदा भइरहेका छन्। 

श्वास लिने सामथ्र्य अर्थात् अध्यात्म 

अध्यात्मलाई अंग्रेजीमा  spiritual भनिन्छ। spiritual ल्याटिन भाषाको स्पिरिटस spritus बाट आएको हो। जसको अर्थ श्वास हो। जबसम्म श्वास रहन्छ तबसम्म मान्छे जीवित रहन्छ भन्ने अवधारणाअनुसार spiritual  भनिएको हो। यसरी हेर्दा श्वासलाई नै आत्माको रूपमा लिइएको छ। पश्चिममा हावा, प्राण (श्वास) हुँदै आत्माको कुरा गरिएको छ भने पूर्वमा आत्मालाई आफूभित्रको ‘म’ तत्वको रूपमा लिइएको छ।

यसलाई अझ सरल रूपमा भन्नुपर्दा हाम्रो शरीरले बढीभन्दा बढी श्वास लिने सामथ्र्य राख्यो भने दिमाग तेज हुन्छ र मन खुशी हुँदै जान्छ। खुशी भएको अवस्थामा मात्र हामी सांसारिक बन्धनबाट मुक्त हुँदै जान्छौँ। त्यसैले spiritual भनेको श्वास लिने सामथ्र्यलाई बढाउनु हो पनि भन्न सकिन्छ। पतञ्जलि योग सूत्र भनिएको छ, ‘श्वास र प्रश्वासलाई विच्छेद गर्ने ताकत जब हामीमा आउँछ, त्यसबेला श्वास रोक्यो भने मन पनि रोकिन्छ। मनको सम्पूर्ण अज्ञानता नष्ट भई उज्यालैउज्यालो मात्र बाँकी हुन्छ।’ पतञ्जलिकै आधारमा भन्ने हो भने पनि मुक्तिका लागि श्वास माथिको नियन्त्रण अनिवार्य छ। यसरी हेर्दा पश्चिमको spiritualism र हाम्रो आत्माको अवधारणाका बीचमा पृथकता देखिँदैन।
कमाउने प्रयत्न वा काम संसारका सबैले गरिरहेकै हुन्छन्।

तर, मिलाएर श्वास फेर्ने कार्य प्रायः कसैले गरेका हुँदैनन्। धर्मलाई सेवा र साधनाको रूपमा लिनुपर्छ, सम्प्रदायको रूपमा लिनु हुँदैन। अध्यात्मको पूर्वाधार धर्म हो भने धर्मको पूर्वाधार संस्कृति हो। संस्कृतिले नै धर्मलाई जोगाइरहेको छ। हामीले बिहानदेखि बेलुकासम्म गर्ने कार्यमा हाम्रो संस्कार जोडिएको हुन्छ। संस्कार संस्कृतिबाट नै आउने हो। मानिसले संसारको जुनसुकै कुनामा गए पनि नबिर्सने भनेको संस्कृति हो। बरु, मानिसले भाषा बिर्सन्छ तर संस्कृति बिर्संदैन। 

संसारमा संस्कार संस्कृतिपछि मात्र धर्म सुरु भएको हो। हिन्दू वा वैदिक भनिने शब्दपछि आएको हो। वेद लेखिएपछि मात्र वैदिक भएको हो। त्यसभन्दा अगाडि अरूलाई राम्रो गर्नु, सेवा गर्नु र साधन गर्दै मुक्ति पाउनु धर्म थियो। जब धर्म सम्प्रदायमा आइपुग्यो। तब मात्रै धर्म डरलाग्दो हुन पुग्योे। 

प्रतिक्रिया