के हो कर्म सिद्धान्त ?

योगी विकासानन्द     २७ माघ २०७७, मङ्गलबार
के हो कर्म सिद्धान्त ?

मान्छे धनी र प्रतिष्ठित बन्न चाहनु स्वाभाविक हो।उपभोगवादले सर्वत्र प्रभाव पारेको वर्तमान समयमा खास गरी धनआर्जनका लागि जे पनि गर्न मिल्छ भन्ने मूल्य झांगिँदै गएको छ। हाम्रो परम्परागत बुझाइ, पौराणिक मान्यता र धार्मिक संस्कार–संस्कृतिले गलत कर्म (पाप कर्म) लाई पूर्ण निरुत्साहित र निषेध गरेको छ।जुन मात्रामा पाप कर्म गरिन्छ, पछि (जिउँदै रहँदा वा मृत्युपछि) सोही मात्रामा दण्ड भोग्नुपर्छ भन्ने हाम्रो परम्परागत धारणा हो।

दण्ड कुनै व्यक्ति वा लौकिक संस्थाले नदिएर परमात्मा वा अस्तित्वले (नदेखिने शक्तिले) दिन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ।हरेक घरमा पुगेको यो मान्यता बिस्तारै हराउँदै गएको छ।‘बाप बडा न भैया, सबसे बडा रुपैयाँ’ भन्ने हिन्दी भाषाको लोकोक्तिजस्तै जसरी हुन्छ आफ्नो निजी स्वार्थपूर्ति नै केन्द्रीय पक्ष बन्न पुगेको छ।  

हामीले गरेका खराब कर्मले हामीलाई स्वतः कसरी दण्डित गराउँछ भन्ने विषयमा अघिल्ला अंकमा पनि चर्चा गरिसकेका छौँ।विशेष गरी, आफूले गरेको कुकर्म जिनका रूपमा आफ्ना सन्तानमा सर्छ र उनीहरूले शत्रुवत व्यवहार गरेर दुःख दिन्छन् भन्ने विषयमा हामीले चर्चा गरिसकेका छौँ।सन्तान जन्मिसकेको छ भने त ‘पाप कर्म गरे हुने रहेछ नि’ भन्ने लाग्न सक्छ।तर, सन्तान जन्माइसकेका आमाबाबुका लागि पनि प्रकृतिले दण्डको विधि–विधान बनाएकै छ।

गलत कार्यले प्रिय मान्छेलाई पार्छ प्रभाव 

जहाँ प्रेम हुन्छ, त्यहाँ दुवैबीच उस्तै–उस्तै अनुभव र विचार हुन्छन्।एकले अर्काेलाई सम्झियो भने अर्काेले पनि सम्झिरहेको हुन्छ।जसलाई मर्फाेजेनेटिक फिल्ड भनिन्छ।डा. रुपर्ट सेल्ड्रकले ‘न्यू साइन्स’ भन्ने आफ्नो किताबमा मर्फाेजेनेटिक फिल्डबारे व्यापक चर्चा गरेका छन्। उक्त किताबमा जापानका बाँदरहरूलाई लिएर एउटा उदाहरण प्रस्तुत गरिएको छ।केही वैज्ञानिकले जापानको एक टापूमा रहेका बाँदरलाई आलु पखालेर खान सिकाए।

सिकाएका बाँदरले आलु पखालेर खानु स्वाभाविक हो।तर, उक्त टापूभन्दा सय किलोमिटर टाढाको टापूमा रहेका बाँदरले पनि आलु पखालेर खान थाले।यसरी हेर्दा नदेखिने तरंगबाट पनि एकले अर्काेको मनोविज्ञानलाई प्रभाव पार्छ भन्ने स्पष्ट हुन्छ। 

त्यस्तै, आफ्ना गलत कर्मले आफूले सबैभन्दा बढी माया गर्ने गरेको मानिसलाई प्रभाव पार्छ। अर्थात्, तपाईंको अपराध वा पाप कर्मले तपार्इंको सबैभन्दा प्रिय मानिसको मनोविज्ञानलाई नकारात्मक रूपमा प्रभावित बनाउँछ।आफ्नो प्रिय मान्छे नै बर्बाद भयो भने तपाईंको जीवन सुखी र खुशी रहला त ? 

सफलताका लागि सर्वत्र सद्भाव 

कुनै व्यक्तिको सफलताका पछाडि उसको निजात्मक प्रयत्न नै मुख्य विषय हो।तर, उक्त व्यक्तिप्रति सद्भाव, प्रेम र उसको सफलताका लागि प्रार्थना गरिदिनेहरूको संख्या जति बढी हुन्छ, उसले उति छिट्टै सफलता प्राप्त गर्छ।अर्काेतर्फ, आफूलाई घृणा गर्ने, दुत्कार्ने र आफ्नो असफलता चाहनेको संख्या जति बढी हुन्छ, असफल हुने वा दुःख पाउने सम्भावना उति नै बढी हुन्छ।हामीले जसप्रति अन्याय वा पाप कर्म गर्छाैं, उक्त व्यक्तिले जहिल्यै हाम्रो कुभलो र विनाश सोच्नु स्वाभाविकै हो।  

हाम्रो मस्तिष्कमा बिटा, अल्फा, थेटा, डेल्टा र गामा  भन्ने पाँच वटा इलेक्ट्रिकल ब्यान्ड हुन्छन्।सामान्य अवस्थामा हामी बिटा ब्यान्डमा हुन्छौँ।अल्फा ब्यान्डमा भएको मानिस बढी शान्त र सिर्जनात्मक हुन्छ।अर्थात्, यो अवस्थामा मानिसको बुद्धि र भावनाले बराबर काम गरिरहेको हुन्छ।सुत्ने क्रमको निन्द्रा र जागरणबीचको अवस्थामा थेटा ब्यान्ड सक्रिय हुन्छ र निदाएको अवस्थामा डेल्टामा पुगिन्छ।  

कसैलाई अपराध गरिरहँदा वा पाप कर्म गरिरहँदा मानिस बिटामा हुन्छ।बिटाको अवस्थामा एउटाको मनोविज्ञानले अर्काे मानिसलाई प्रभावित पार्दैन।अर्थात्, वर्तमान समयको कम्प्युटरको भाषामा भन्ने हो भने बिटा ब्यान्ड सक्रिय भएको बेलामा एकको मस्तिष्कमा रहेको फाइल अर्काेको मस्तिष्कमा ‘सेयर’ हुँदैन।तर, अल्फा सक्रिय भएको बेलामा ‘सेयर’ हुन्छ।अरू बेलामा नभए पनि सुत्ने बेलामा मस्तिष्क अल्फामा क्रियाशील हुन्छ।

उक्त समयमा आफूले जसमाथि अन्याय, अत्याचार वा पाप कर्म गरिएको हुन्छ, उक्त व्यक्ति पनि सामान्यतः अल्फामै हुन्छ।उसले तपाईंलाई श्राप दियो, कुभलो चितायो, विनाशको कामना ग¥यो भने उक्त श्राप, रिस र आक्रोशको फाइल तपाईंमा सेयर हुन्छ।यसरी सेयर भएको फाइलकै कारणले पनि सपना बिग्रन सक्छ  ।  ऐँठन अर्थात् ‘साइकिक अट्याक’ हुन सक्छ।अर्थात्, तपाईंको मनोविज्ञान बिस्तारै डाँवाडोल हुँदै जान थाल्छ।ठीक उल्टो कसैले तपाईंलाई प्रेम, सद्भाव र कल्याणको फाइल पठायो भने तपाईंमा सकारात्मक भावना र ऊर्जाको विकास हुन्छ।जसका कारण जीवन प्रगतितर्फ अगाडि बढ्छ।  

अरूले आफूप्रति सद्भाव राखून्, आफ्नो प्रगति र कल्याणको कामना गरून्,  जसले आफ्नो जीवन सफलीभूत होस् भन्नकै लागि दानको अवधारणा ल्याइएको हो।जसअन्तर्गत हरेक धर्मले कमाएको सम्पत्तिको निश्चित प्रतिशत लोकहितका लागि छुट्याउन निर्देश नै गरेको छ। 

बिल गेट्स र स्टिभ जब्स

दानले मानिसको सम्पत्ति सकिन्थ्यो भने बिल गेट्सको सम्पत्ति सकिनुपर्ने हो।किनकि, उनले ५० प्रतिशतभन्दा धेरै सम्पत्ति दान गरिसकेका छन्।तर, पनि उनी लामो समयसम्म संसारको नम्बर १ धनीका रूपमा टिकिरहे।बिल गेट्स  र स्टिभ जब्स दुवै युगपुरुष हुन्।दुवैले हामीलाई बीसौँ शताब्दिबाट एक्काइसौँ शताब्दीमा प्रवेश गरेको महसुस गराइदिए।यिनीहरूले निकै छोटो समयमा संसारभरकै जीवनशैलीमा आमूल परिर्वतन गराए।

बिल गेट्स धनीसँगसँगै दानवीर पनि बने।तर, स्टिभ जब्सले कहीँ कतै दान गरेनन्।स्टिभ जब्स तुलनात्मक रूपमा आनन्दको जीवन बाँचेनन्।रिस र अतृप्ति उनको जीवनको पर्याय बन्यो।त्यति मात्र होइन, उनले बेलैमा स्वास्थ्य गुमाए र बिते।तर, बिल गेट्सको जीवन सन्तुलित छ।उनको स्वास्थ्य समस्याका बारेमा आजसम्म कुनै कुरा सुनिएको छैन।सर्सर्ती हेर्दा पनि उनी खुशी देखिन्छन्।

दान दिनु, आफूले प्राप्त गर्नु पनि हो भन्ने गतिलो उदाहरण बिल गेट्स हुन्।बिल गेट्सले संसारभरका करोडौँ मानिसलाई दान दिएका छन् भने ती करोडौँबाट आफूप्रतिको प्रार्थना र मंगल कामना लिइरहेका छन्।जसबाट उनले भौतिक प्रगति र आध्यात्मिक सन्तुष्टि प्राप्त गरिरहेका छन्।  

ग्रहदशा

ग्रहदशाबारे हामीले सुन्दै आएका छौँ।ग्रहदशा सुधारका लागि ज्योतिषीको दैलोमा पुग्ने क्रम शहरदेखि गाउँसम्म नै छ।सामान्यतः हामीलाई ग्रहदशा भनेको जन्मसँग जोडिएको वा आफ्नो नियन्त्रणभन्दा बाहिरको विषयजस्तो लाग्छ।तर, ग्रहदशा आफ्नै विगतको कर्मको प्रतिफल हो।हामीले कसैप्रति पाप कर्म गर्दा एउटा फाइल आफ्नो मस्तिष्कमा र अर्काे पीडितको मस्तिष्कमा बन्ने विषयबारे प्रकाश पारिसक्यौँ।

त्यस्तै, अर्का दुई फाइल तत्कालीन समयमा पृथ्वीनजिक आइपुगेको ग्रह र अर्काे आकाशीय तŒव इथरमा गएर बस्छ।जब फाइल गएर बसेको ग्रह एक वर्ष, छ महिना वा निश्चित समयपछि आफ्नो टाउकोनजिक आइपुग्छ, उक्त बेलामा आफूले पठाएको फाइलसँग मस्तिष्कको ‘कनेक्सन’ हुन्छ र ‘फाइल डाउनलोड’ हुन्छ।तपार्इंले सकारात्मक पठाउनुभएको भए सकारात्मक र नकारात्मक पठाउनुभएको भए नकारात्मक फाइल डाउनलोड हुन्थ्यो।अब तपार्इं आफैँ विचार गर्नुस्, तपार्इंको मस्तिष्कमा नकारात्मक फाइल डाउनलोड भयो भने तपार्इंले सोच्ने तरिका, गर्ने कर्म र प्रतिफल कस्तो होला ? 

नर्क वा आकाशीय तत्त्व 

पापी मरेपछि नर्कमा जान्छ भन्ने हामीले सुन्दै आएका छौँ।कसैलाई अति नै गाली गर्नुप¥यो भने ‘नर्कमा बास नपाओस्’ भन्ने चलन पनि छ।नर्कसँग जोडिने तेल उम्लिरहेका कराही, तिखा–तिखा भाला, रगत र पीपको नदीजस्ता विषयहरू पनि हामीले कतै न कतैबाट सुन्दै आएका छौँ।

मृत्युपश्चात् हाम्रो चेतना शरीरबाट छुट्टिन्छ।केही समयसम्म शरीर मोहका कारण चेतना मृत शरीरको आसपास नै घुम्छ।जब शरीरलाई जलाएर वा अरू माध्यमबाट नष्ट गरिन्छ, अनि ऊ आफ्नो बासस्थान (घर र प्रियजनहरू) भएको ठाउँ वरिपरि पुग्छ।बासस्थानको आसक्ति सकिएपछि उक्त चेतना आकाशीय तत्त्व अर्थात् इथरमा गएर बस्छ।चेतना इथरमा बस्दा दुःखावस्था अथवा सुखावस्थामा बस्न पुग्छ।

सुखावस्थामा बस्नु स्वर्ग हो भने दुःखावस्थामा बस्नु नर्क हो।जीवित रहँदा आफूले इथरमा पठाएका फाइलहरूले नै सुख र दुःख निर्धारण गर्छन्।किनकि, विगतमा पठाएको फाइलसँग इथरमा पुगेपछि सम्पर्क हुन्छ।सकारात्मक फाइल छ भने सकारात्मक अनुभूति र नकारात्मक फाइल छ भने नकारात्मक अनुभूति हुन्छ।जसलाई स्वर्ग र नर्कका रूपमा व्याख्या गरिँदै आएको छ।

अरूलाई खुशी बनाउनु नै जीवन बाँच्ने सबैभन्दा सरल तरिका हो।अरूलाई खुशी बनाउनु भनेको आफूले खुशी प्राप्त गर्नु हो।अरूलाई दान दिनु, आफूले उन्नति गर्नु वा भौतिक आर्जन गर्नु हो।यो कर्म सिद्धान्तलाई बुझ्न सकियो भने व्यक्तिको निजात्मक जीवन मात्र होइन, सिंगो विश्व नै सुन्दर र सुखद हुनेछ।  

प्रतिक्रिया