कुनै पनि समस्याको ५० प्रतिशत दोष अरूको र बाँकी ५० प्रतिशत आफ्नो हुन्छ भनेर स्विकार्न सक्ने मानिस नै नेता बन्छ। समस्या अरूमा भन्दा आफूमा बढी देख्न सक्ने चेतले नै मानिस वास्तविक नेता बन्न सक्छ। आफूमा समस्या देख्ने क्षमताका लागि मनमाथिको नियन्त्रण अनिवार्य शर्त हो।
नेतृत्व विकासलाई संसारमै महत्त्वपूर्ण विषयका रूपमा लिइन्छ। नेतृत्व विकाससम्बद्ध विविध तालिम, पद्धति र कार्यक्रम संसारमा प्रचलित छन्। हामीकहाँ पनि नेतृत्व विकाससँग जोडिएका विभिन्न तालिम र कार्यक्रम प्रचलनमा आइरहेका छन्।
राजनीतिक दलभित्र नेतृत्व विकासलाई सबैभन्दा बढी जोड दिने गरिन्छ।
एउटा राजनीतिक दलभित्र कुनै पनि कार्यकर्ता नेतृत्वमा पुग्न दशकौँ लाग्छ। सामान्यतः कुनै पनि क्षेत्रमा स्थापित हुन यही मार्ग वा पद्धतिकै अनुसरण गर्नुपर्छ भनेर निश्चित गर्न सकिन्न। सफलतासम्बन्धी हरेकका निजात्मक अनुभव र मार्गहरू छन्। तर, प्रायः क्षेत्रमा स्थापित हुन लामा र छोटा दुवै बाटा छन्।
अधिकांश मानिस लामो बाटोबाट शिखरमा पुग्छन् भने कसैकसैले छोटो बाटोमार्फत पनि गन्तव्य भेट्टाउँछन्। अन्य क्षेत्रमा छोटो बाटोको जति सम्भावना हुन्छ, त्यति सम्भावना एउटा राजनीतिक पार्टीको नेतृत्वमा पुग्नका लागि हुन्न। अर्थात्, समयको लामो र निरन्तरको यात्राबाट नगुज्री नेता बन्न सकिन्न।
हाम्रा नेतालाई नै हेरौँ, उनीहरूले जीवनको सबैभन्दा उर्वर समय कठिन र जोखिमपूर्ण यात्रामा खर्चिएका छन्। सम्पूर्ण यौवनकाल जीवन–मरणको दोसाँधमा बिताएका छन्। त्यत्रो संघर्ष र जोखिम मोलेका नेताहरू सरकारमा पुग्छन् वा देशको नेतृत्व गर्ने जिम्मेवारी लिन्छन्। तर, हामी उनीहरूको नेतृत्वबाट सन्तुष्ट बन्दैनौँ।
अझ राम्रा नेता नभएका कारण देश बर्बाद भयो भन्छौँ। हाम्रो जीवनस्तर उँभो नलाग्नुको पछाडि देशले वास्तविक नेता नपाउनुको परिणाम हो भन्नेमा लगभग सम्पूर्ण नेपाली सहमत छौँ। वर्षाैंवर्ष जेल बसेका, परिवर्तनका लागि मर्नसमेत तयार भएका, दशकौँ खास राजनीतिक विचार र दर्शनप्रति प्रतिबद्ध भएर काम गरेका नेतृत्वप्रति पनि हामी असन्तुष्ट हुन बाध्य हुन्छौँ। किन ? यति लामो निरन्तरता र संघर्षबाट स्थापित भएका भनिएका नेतृत्वहरूबाट पनि हामी ‘वास्तविक नेता’को अनुभूति गर्न सकिरहेका छैनौँ।
नेतृत्व के हो ? मानिस कसरी सफल नेता बन्छ ? सफल नेताका सद्गुण के–के हुन् ? संघर्ष, निरन्तरता र विज्ञताले मात्र नेता बन्ने हो भने हाम्रा नेतालाई हामीले ‘असफल नेतृत्व’ भन्ने थिएनौँ। संघर्ष, निरन्तरता र जोखिम मोल्ने सामथ्र्यले पनि कुनै मानिसलाई सफल नेता बनाउँदैन भने केले बनाउँछ त ? राजनीतिक नेतृत्वमा मात्र होइन, कुनै पुरुष वा महिलाले घरभित्र कसरी सफल नेतृत्व दिन सक्छन् ? कुनै संघसंस्था वा कार्यालयमा सफल नेतृत्व कसरी तयार हुन्छ ?
नेता गणेशजी
हिन्दू धर्म–संस्कृतिअनुसार धार्मिक कार्य सुरु गर्दा सबैभन्दा पहिला गणेशको पूजा गर्ने परम्परा छ। कार्यमा बिघ्न नआओस् भनेर गणेशको पूजा गरिएको हो। एउटा नेताबाट पनि आम जनताले बिघ्न वा समस्याको समाधान खोज्छ। आफ्ना बिघ्नहरूको निवारण गर्छ भन्ने विश्वासमा नै जनताले कसैलाई नेतृत्वमा स्थापित गर्छ।
गणेश व्यक्ति स्वयंको आन्तरिक नेतृत्वसम्बद्ध ‘विम्बात्मक’ देवता हुन्। गणेश शब्द गण र ईश मिलेर बनेको छ। गण शब्दले जनता वा आफूवरिपरि भएको परिवार, समाज, राष्ट्र वा विश्वलाई बुझाउँछ। यी सबैलाई नेतृत्व गर्नका लागि नेतृत्व सामथ्र्यको सुरुवात आफ्नै मनबाट हुनुपर्छ। आफ्नो मनलाई जति नेतृत्व (नियन्त्रण गर्ने भन्ने अर्थमा) गर्न सकिन्छ, त्यति नै मात्रामा परिवार, समाज वा राष्ट्रलाई नेतृत्व गर्ने शक्ति प्राप्त हुन्छ।
कुनै पनि क्षेत्रमा नेतृत्व सफल वा असफल हुनुको पछाडि नेतृत्वकर्ताले आफ्नो मनलाई कति नेतृत्व गर्नसक्यो वा सकेन भन्ने तथ्य मुख्य जिम्मेवार हुन्छ। यसरी हेर्दा गणेशको गणबाट संसार र ईशबाट ईश्वर, परमात्मा वा आन्तरिक सामथ्र्य भन्ने बुझ्नुपर्छ। गणलाई नेतृत्व गर्ने हो भने आफ्नो ईश (आन्तरिक सामथ्र्य वा मन) लाई नियन्त्रित गर्नुपर्छ। गणेशका बुद्धि र सिद्धि नाम गरेका दुई श्रीमती र शुभ र लाभ नाम गरेका दुई छोरा छन्। गणेशको यो परिवारले आफ्नो मनलाई नेतृत्व गर्नसक्ने मानिसले बुद्धि पुर्याएर काम गर्छ र सिद्धि हुँदै शुभ–लाभ प्राप्त गर्छ भन्ने सन्देश दिएको छ।
गणेश र नेतृत्वसम्बद्ध माथिको विम्बात्मक उदाहरण कता–कता नमिलेको प्रतीत पनि हुनसक्छ। यो स्वाभाविक हो, सोझो र स्पष्ट नहुने भएकै कारण विम्ब भनिएको हो, जसले प्रक्रिया र गतिविधिलाई भन्दा भाव र सन्देशलाई महत्त्व दिन्छ। आफ्नै मनको नेता नभईकन बाहिर कसैको पनि नेतृत्व गर्न सकिन्न भन्ने सन्देश र सन्दर्भका लागि गणेशलाई साक्षी राखिएको हो।
नेतृत्व गर्नेले सबैभन्दा पहिले आफ्नो कमजोरी वा दोषलाई ठम्याउन सक्नुपर्छ। आफ्नो दोषलाई नेतृत्वले ठम्याउन सकेन भने उसले गलत नेतृत्व (मिसलिड) गर्छ। अरूको मात्र दोष देख्ने र आफूलाई हरदम निर्दाेष देख्ने मानिस कहिल्यै सफल नेता बन्न सक्दैन। कुनै पनि द्वन्द्व वा संघर्षको पछाडिको सम्पूर्ण कारण अर्काे पक्षको मात्र हुँदैन।
आफूले जहाँ वा जुनसुकै क्षेत्रमा संघर्ष वा समस्या झेलिन्छ, त्यो हुनुको ५० प्रतिशत भागिदारी आफ्नो पनि हो भनेर बुझ्नुपर्छ। अर्थात्, कुनै पनि समस्याको ५० प्रतिशत दोष अरूको र बाँकी ५० प्रतिशत आफ्नो हुन्छ भनेर स्विकार्न सक्ने मानिस नै नेता बन्छ। समस्या अरूमा भन्दा आफूमा बढी देख्नसक्ने चेतले नै मानिस वास्तविक नेता बन्न सक्छ। आफूमा समस्या देख्ने क्षमताका लागि मनमाथिको नियन्त्रण अनिवार्य शर्त हो।
कुलमानः एक उदाहरण
मनलाई नेतृत्व वा नियन्त्रण गर्ने भनेको के हो ? आफ्नो मनलाई कसरी नेतृत्व गर्न सकिन्छ ? यी विषयलाई प्रष्ट पार्न नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङको कार्यसम्पादनलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ। कुलमान घिसिङ वर्तमान नेपाली समाजका ‘आइकन’ हुन्।
केही पनि हुँदैन भन्ने अवस्थाबाट गुज्रिरहेको नेपाली समाजमा कुलमानले ‘गरे के हुँदैन ?’ भन्ने नजिर प्रस्तुत गरे। विद्युत् र जलस्रोतसम्बन्धी पण्डितहरूले पाँच–सात वर्ष नेपालमा तीव्र लोडसेडिङ हुन्छ भन्ने तथ्यांक पस्किरहेको बेलामा कुलमानले जे गरे, त्यो आफैँमा चमत्कारभन्दा कम थिएन। कुलमानले यो कसरी गर्न सके त ?
धेरैलाई लाग्नसक्छ, कुलमानलाई विद्युत्सम्बन्धी विज्ञानको बारेमा जानकारी भएका कारण यो सम्भव भयो। यो पनि एउटा कारण होला। तर, कुलमानलाई जानकारी भएको प्राविधिक विषय अरूलाई जानकारी थिएन त ? पक्कै पनि थियो। कुलमानले गरेको कार्य महानतम अन्वेषण र खोजको विषय थिएन। सामान्य विज्ञान र प्रविधि मात्र थियो। जुन कुरा सम्बन्धित विषयको सामान्य विद्यार्थीले पनि जानकारी राख्न सक्थ्यो।
कुलमानले धेरै ठाउँमा भनेका छन्– ‘मलाई करोडौँको अफर आयो, तर ब्रिफकेस छाडेर नागरिकका लागि उज्यालो नै छनोट गरेँ।’ यही हो, मनलाई नेतृत्व गर्ने भनेको। सामान्यतः मनले ब्रिफकेस अर्थात् आफ्नो सम्पन्नता र सुख रोज्छ। यो आम स्वभाव हो। यो आम स्वभावभन्दा फरक भएपछि मात्रै एउटा आम मान्छे नेता बन्छ।
कुलमानले आफ्नो मनलाई लोभमा फस्न दिएनन्। आफ्नो मनलाई लगाम लगाउनसके। जसको कारण उनको नेतृत्व आम नेपालीबीच सह्रानाको विषय भएको छ। देशको सबैभन्दा प्रिय मानिसका रूपमा उनी स्थापित भएका छन्। कुलमानको विषयगत ज्ञानका कारण लोडसेडिङको अन्त्य भएको होइन, उनले आफ्नो मनलाई नेतृत्व गर्न सकेका कारण हामीले उज्यालो पाएका हौँ।
अभय मानिस नै असल नेता
मनलाई नेतृत्व गर्न सक्नु भनेको लोभ र भयलाई जित्नु हो। जब लोभ र भयले आफूलाई नेतृत्व गर्छ, तब अरूलाई नेतृत्व गर्नसक्ने सामथ्र्य गुमाइन्छ। लोभभन्दा पनि प्रमुख रूपमा भयका कारण नेतृत्व क्षमतामा ह्रास आउँछ। कुनै पनि नेताले घुस खानुको पछाडि वा वैध–अवैध सम्पूर्ण कर्म गर्नुको पछाडि भय नै जिम्मेवार छ।
मैले आज पैसाको सञ्चय गरिनँ भने भोलिको मेरो राजनीति के होला ? मेरा सन्ततिहरूको अवस्था के होला ? सम्पत्ति भएन भने अहिलेकै जस्तो शान–शौकत रहला–नरहला ? यस्ता भय मनमा उब्जिएपछि कुनै पनि नेताले घुस, भ्रष्टाचार वा अवैध कर्म गर्न थाल्छ। जबसम्म मनलाई अभय बनाउन सकिँदैन, तबसम्म असल नेतृत्व प्रदान गर्न नै सकिन्न। मान्छे जति कम भयभीत हुन्छ, उति ठूलो नेता बन्छ। मानिस जति डरपोक बन्छ, उति उसको नेतृत्व क्षमता खस्कँदै जान्छ।
हाम्रा नेता बेला–बेलामा निर्भय देखिन्छन् तर उनीहरू अभय बन्न सकिरहेका छैनन्। निर्भय भनेको परिस्थिति र बेलाले उब्जाउने डरहीनताको अवस्था हो। यो अस्थायी वा परिस्थितिजन्य हुन्छ। अभय भनेको कुनै पनि अवस्थामा डरबोध नगर्ने मानसिक अवस्था हो। जुन निरन्तर रहन्छ। अभय भनेको भित्रबाटै आफूलाई नेतृत्व गर्नु हो। कुनै पनि कारण वा परिस्थितिमा पनि गलत आचरण, लोभ र डरमा नफस्नु हो।
सतत अध्ययन र प्रश्न सोधाइ
जुनसुकै क्षेत्रमा पनि असल नेता बन्न आन्तरिक रूपमा (मानसिक भन्ने अर्थमा) आफ्नो मनलाई नेतृत्व गर्नुपर्छ भने बाह्य रूपमा सतत अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ। त्यसपछि उक्त अध्ययनलाई अभ्यास र अनुभवमा लैजाने हिम्मत गर्नुपर्छ। हामी नेताको अध्ययन र बौद्धिकताप्रति आकर्षित हुन्छौँ।
अहिले पनि फलानो–फलानो नेता लेखपढ गर्छन् वा अध्ययन गर्छन् भन्ने विषयले महत्त्व पाउने गरेको छ। तर, अध्ययनलाई उसले अभ्यासमा कति ल्याएको छ भन्ने कुरामा हाम्रो ध्यान जाँदैन। अध्ययनलाई व्यवहारमा अनुवाद गर्ने व्यक्ति नै नेता हो। नत्र ऊ बुद्धिजीवी वा प्राज्ञिक व्यक्तित्व मात्र बन्न पुग्छ।
अध्ययन र ज्ञानलाई कार्यान्वयनमा लैजानका लागि इच्छाशक्तिको आवश्यकता पर्छ। इच्छाशक्ति अर्थात् मनको तागत। जसरी पनि केन्द्रीय पक्ष मन नै बन्न पुग्छ। त्यसैले नेता बन्नु छ भने पहिला आफ्नो मनलाई नेतृत्व गर्न सक्नुपर्छ भनिएको हो।
मानिसले भावनालाई प्रधानता दिँदा वा भावप्रधान प्राणी बन्दा ऊ लोभ र भयमा फस्न पुग्छ। भावनाभन्दा बढी बुद्धिले काम गर्नेबित्तिकै यस्ता समस्यामा फस्ने सम्भावना निकै कम हुन्छ। जुनसुकै कर्म गर्दा पनि आफूलाई प्रश्न गर्न सक्नुपर्छ। उदाहरणका लागि एउटा नेतालाई आर्थिक प्रलोभनको प्रस्ताव आयो भने उसले आफूलाई प्रश्न गर्नुपर्छ– ‘के यो पैसाले मलाई खुशी बनाउँछ त ?
यो घुसले मेरो राजनीति माथि पुग्छ त ? विगतमा घुसलाई प्राथमिकता दिने को–को नेता राजनीतिमा सफल भए ?’ यस्ता प्रश्न गर्नेबित्तिकै मानिस भावनाबाट बाहिर आउँछ र बुद्धिले काम गर्न थाल्छ। बुद्धिले काम गर्नेबित्तिकै भय र लोभमा फस्ने सम्भावना न्यून हुन्छ। तसर्थ सफल र असल नेतृत्वका लागि हरेक काम गर्दा आफूलाई प्रश्न सोध्ने बानीको विकास अनिवार्य गर्नुपर्छ।