अमेरिकाका संस्थापक पितामध्ये एक बेन्जामिन फ्य्रांकलिन (सन् १७०६–१७९०) बहुप्रतिभाशाली व्यक्ति थिए। उनी वैज्ञानिक, राजनीतिज्ञ, लेखक, अभियन्ता र कूटनीतिज्ञ थिए। उनी विभिन्न विद्युतीय आविष्कारका लागि प्रसिद्ध थिए। लाइटनिङ रड उनैको आविष्कार थियो।
उनी अलिक अनौठा व्यक्ति पनि थिए। उनको एउटा कुख्यात निबन्ध छ– ‘फार्ट प्राउड्ली’ अर्थात् ‘गर्वपूर्वक अपानवायु छोड्नुहोस्’। सन् १७८१ मा फ्रान्सका लागि अमेरिकी राजदूत रहेका बेला उनले यो निबन्ध लेखेका थिए। निबन्धमा उनले अपानवायुको वैज्ञानिक अनुसन्धान हुनुपर्ने र वैज्ञानिकहरूले यसलाई कम आपत्तिजनक बनाउन औषधि आविष्कार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनको यो निबन्धलाई धेरैले ठट्टामा उडाएका थिए।
फ्य्रांकलिनका उटपट्याङ गतिविधि चर्चित थिए। उनी झ्यालअगाडि सर्वांग नग्न उभिएर ‘वायु स्नान’ लिने गर्थे। नग्नता स्वास्थ्यका लागि फाइदाजनक भएको ठान्थे। उनको विश्वास थियो– नग्नताले शरीरमा रोग लाग्न दिँदैन।