पोर्नाेबाट अध्यात्मतिर 

योगी विकासानन्द     १५ जेठ २०७८, शनिबार
पोर्नाेबाट अध्यात्मतिर 

मानिसको प्रमुख खोज नै सुखको खोज हो । सुखको सबैभन्दा ठूलो आकर्षण सेक्स हो भने सेक्सको मुख्य सुविधा पोर्नाेग्राफी हो । पोर्नाेग्राफीको तीव्र प्रयोगले नै आध्यात्मिक सभ्यताको मार्ग निर्माण गर्दैछ । किनकि, पोर्नाेबाट अघाएको मानिस अन्ततोगत्वा आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न बाध्य हुन्छ । 


पोर्नाे उद्योग
सेक्सलाई वर्तमान विश्वको सबैभन्दा ठूलो उद्योगका रूपमा लिइन्छ । संसारमा दैनिक रूपमा भइरहेको वस्तु तथा सेवासम्बन्धी व्यापारको ठुलो हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेक्ससँग जोडिएका छन् । सेक्स उद्योगको प्रत्यक्ष वा सोझो–सोझो रूप वेश्यावृत्ति र ‘पोर्नाेग्राफी’ हो । पछिल्लो समय तीव्र प्रचनलनमा आइरहेको ‘सेक्स टोय’, ‘सेक्स टुरिजम’सम्बद्ध सेवा र क्षेत्र पनि सेक्स उद्योगकै हिस्सा हुन् । यी सम्पूर्णमध्ये आर्थिक कारोबार, घनत्व र प्रभावका हिसाबले पोर्नोग्राफीलाई सबैभन्दा माथि राखिन्छ । 

पोर्नोग्राफीका कारण डरलाग्दा सामाजिक र मनोवैज्ञानिक समस्याहरू निम्तिएका छन्,  जसले सिंगो विश्वलाई नै प्रभावित बनाउन थालेका छन् । पोर्नोग्राफी हेर्ने लत (एडिक्सन) लाई संसारकै खतरनाक लतका रूपमा लिन थालिएको छ । पोर्नोग्राफीले युवा समुदायलाई नै बर्बादीतर्फ धकेलिरहेको छ ।

उत्सुकताको अन्त्य 
पोर्नोग्राफीलाई आधार बनाउँदै केही वर्षअगाडि अमेरिकी अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । मुसामा गरिएको उक्त अनुसन्धानमार्फत पोर्नोग्राफी हेर्ने लतले ठूलो समस्या निम्तने स्पष्ट भएको थियो । अनुसन्धानकर्ताहरूले एउटा खोरमा वयस्क भाले मुसालाई राखे । खोरमा मुसालाई हस्तमैथुन गर्नका निम्ति अनुकूल पद्धतिको पनि व्यवस्था गरिएको थियो । उक्त पद्धतिका कारण मुसाले निरन्तर हस्तमैथुन गर्न थाल्यो । केही समयपछि उक्त मुसामा ‘डिप्रेसन’ देखिन थाल्यो । मुसा डिप्रेसनमा गइसकेपछि उक्त खोरमा पोथी मुसालाई राखियो । अचम्म के भयो भने उसले पोथी मुसाप्रति कुनै पनि अनुराग देखाएन । हस्तमैथुन छाडेर पोथीसँग सेक्स गर्न तयार भएन । त्यति मात्र होइन, मुसालाई सबैभन्दा मन पर्ने खाना ‘चिज’ राखिदिँदा पनि मुसामा त्यसप्रति कुनै आकर्षण देखिएन । 

हरेक उत्सुकताको पछाडि मस्तिष्कमा हुने ‘डोपामाइन’ भन्ने रसायनको मुख्य भूमिका हुन्छ, जसलाई ‘न्युरो ट्रान्समिटर’ भनिन्छ । डोपामाइन ‘रिलिज’ हुँदा नै उत्सुकता र आकर्षण जागृत हुने हो  । हस्तमैथुन गर्दा पनि डोपामाइन रिलिज भएर नै आनन्द आउने हो । जति चोटी हस्तमैथुन ग¥यो, त्यति पटक डोपामाइन रिलिज हुनु स्वाभाविक नै हो । हामी सबैलाई थाहा छ– अति गरे खती हुन्छ । रिलिज भएपछि उक्त डोपामाइन मस्तिष्कमा रहेको ‘रिसेप्टर’ भित्र छिरेपछि मात्रै आनन्द र मस्तीको सञ्चार हुने हो । तर, बारम्बार डोपामाइन रिलिज भएपछि रिसेप्टरमा नै क्षति पुग्छ । मुहानमा पानी भए पनि बीचको पाइप बिग्रिएपछि धारामा पानी झर्दैन । मस्तिष्कले डोपामाइन उत्पादन गरे पनि रिसेप्टर बिग्रिएका कारण आनन्द, खुशी र उत्सुकताको महसुस नै हुन सक्दैन । परीक्षणमा राखिएको मुसाको पनि मुहान ठीक हुँदाहुँदै सञ्चार हुने पाइप बिग्रिएको थियो । 

गाउँगाउँमा पोर्नाे
खास गरी शहरी क्षेत्रमा १० वर्षको उमेरबाटै बालबालिकाहरूले पोर्नाेग्राफी हेर्ने गरेको  विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् । १० वर्षको उमेरबाट नै पोर्नाेग्राफी हेर्ने बालबालिका किशोर वयमा पुग्दानपुग्दै मानसिक समस्याको शिकार भइसक्छन् । डोपामाइनको अस्वाभाविक सञ्चारले उसको मस्तिष्कको रिसेप्टर खराब बन्न पुग्छ । अर्काेतर्फ, पोर्नाेग्राफीलाई कलाको रूपमा भन्दा पनि यथार्थको रूपमा बुझ्दा समाजमा बलात्कार र व्यभिचार बढ्नसक्छन् । 

पहिला–पहिला १६–१७ वर्षका किशोरहरूले बढीमा दिनको तीन पटकसम्म हस्तमैथुन गर्छन् भनिन्थ्यो । तर, अहिले दिनको छ पटकसम्म हस्तमैथुन गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यसको प्रमुख कारण भनेको पोर्नाेग्राफी हो । पोर्नाेग्राफी हेर्नेबित्तिकै हस्तमैथुन गर्न मन लाग्नु स्वाभाविक हो । विगतमा शहरी क्षेत्रमा मात्र उपलब्ध हुने पोर्नोग्राफी अचेल मोबाइल फोनको प्रयोगसँगै दूरदराजका युवा तथा किशोरहरूको हात–हातमा पुगेको छ । जसले गाउँका किशोर तथा युवामा पनि डिप्रेसनको जोखिम उच्च हुँदै गएको छ ।

पोर्नोबाट दिक्क 
पश्चिमा जगत्मा पोर्नाेग्राफीलाई उद्योगकै रूपमा स्विकारियो र यसलाई मनोरञ्जनको एक सशक्त माध्यमका रूपमा प्रवेश गराइयो । राज्यले नै वैधानिकता दिएपछि ठूलठूला पोर्नाे उद्योगहरू खुले । पोर्नाेग्राफीमा आबद्ध कलाकार र पोर्नाेग्राफी हेर्ने मानिसलाई व्यक्तिको निजात्मक स्वतन्त्रताका रूपमा व्याख्या गरियो । सरसरती हेर्दा पश्चिमा समाजले पोर्नाेग्राफीलाई स्वाभाविक रूपमा अंगीकार ग¥यो । तर, जब पोर्नाेग्राफीले विभिन्न मानसिक र सामाजिक समस्या निम्त्याउन थाल्यो, त्यही समाज अहिले पोर्नाेग्राफी नहेर भन्दै ‘नो फ्याफ’ जस्ता जबर्दस्त अभियानहरू सञ्चालन गरिरहेको छ ।
एउटा अतिमा पुगेपछि मात्रै मान्छेले अर्काेको खोज र अनुसन्धान गर्छ । एउटा खानाले अघाएपछि मात्र उसले अर्काे खानामा चासो दिन्छ । त्यस्तै, यौन आनन्दसँग जोडिएर संसारभर विभिन्न प्रविधिहरूको विकास गरियो । विभिन्न तौरतरिकालाई बजारीकरण गरियो । पोर्नाेग्राफीजस्ता विषयहरू जोडतोडका साथ विकास भए । तर, मानिसले आनन्दको सट्टा डिप्रेसन पायो । सन्तुष्टिको साटो तीव्र बेचैनी पायो । पोर्नाेग्राफीजस्तो एउटा अतिमा पुगेको सभ्यता अब बिस्तारै आध्यात्मिकतातर्फ प्रवेश गर्न लागेको छ । 

अध्यात्मको युग
अबको युग आध्यात्मिक रूपान्तरणको युग हो । हाम्रा शास्त्रीय मान्यताअनुसार हामी कलियुगको अन्तिम चरण संगम युगको समापनतर्फ छौँ । पाश्चात्य क्यालेन्डरअनुसार हरेक दुई हजार वर्षमा युग परिवर्तन हुन्छ । जसअनुसार अहिलेको युग, मीन राशिबाट कुम्भ राशिमा  प्रवेश गरेको छ । 
मीन राशि ‘लिने’ राशि हो । किनकि, ठूलो माछाले सानो माछालाई खान्छ । त्यसै गरी कुम्भ राशिको चित्रमा भरी घैँटोबाट पानी पोखिइरहेको देखिन्छ । जुन ‘दिने’को प्रतीक हो । यी शास्त्रीय मान्यतालाई हेर्दा पनि हामीहरू परिवर्तनको सँघारमा उभिएको स्पष्ट हुन्छ ।
इन्टरनेटले पोर्नाेग्राफ्रीलाई विश्वव्यापीे बनाएको हो । यही इन्टरनेटका कारण मानिसहरू तनाव र डिप्रेसनको शिकार भए । तर, अब यही इन्टरनेट नै आध्यात्मिक जागरणको माध्यम बन्ने निश्चित छ । अहिले इन्टरनेट सर्च गर्नेबित्तिकै आध्यात्मिक क्षेत्रसँग सम्बन्धित असंख्य सामग्री उपलब्ध छन् । विगतमा ध्यान वा साधनासँग सम्बन्धित कुनै जानकारी लिनुप¥यो भने आश्रम–आश्रम चहार्नुपथ्र्यो । तर, अब हातमा भएको  मोबाइलबाट नै हामी विभिन्न साधना सिक्न सक्ने भएका छौँ । 

अमेरिकाको सबैभन्दा ठूलो मत सर्वेक्षण ‘ग्यालप पोल’ ले सन् १९६२ मा बेलाबेलामा आध्यात्मिक अनुभव हुने मानिस कति छन् भनेर सर्वेक्षण गरेको थियो । त्यतिबेला २२ प्रतिशत अमेरिकीले आफूलाई बेलाबेलामा आध्यात्मिक अनुभूति हुने गरेको बताए । ‘न्युजविक’ पत्रिकाले सन् २००६ मा यसै विषयमा अर्काे सर्वेक्षण गर्दा ४९ प्रतिशतले बेलाबेलामा आफूलाई आध्यात्मिक अनुभूति हुने गरेको बताएका थिए । यसबाट नै अब संसार कता जाँदैछ भन्ने स्पष्ट पार्छ ।
मानिसको प्रमुख खोज नै सुखको खोज हो । सुखको सबैभन्दा ठूलो आकर्षण सेक्स हो भने सेक्सको मुख्य सुविधा पोर्नाेग्राफी हो । पोर्नाेग्राफीको तीव्र प्रयोगले नै आध्यात्मिक सभ्यताको मार्ग निर्माण गर्दैछ । किनकि, पोर्नाेबाट अघाएको मानिस अन्ततोगत्वा आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न बाध्य हुन्छ । 
 

प्रतिक्रिया