आफ्नै मनमाथिको नेतृत्व 

योगी विकासानन्द     १३ जेठ २०७८, बिहिबार
आफ्नै मनमाथिको नेतृत्व 

 कुनै पनि समस्याको ५० प्रतिशत दोष अरूको र बाँकी ५० प्रतिशत आफ्नो हुन्छ भनेर स्विकार्न सक्ने मानिस नै नेता बन्छ । समस्या अरूमा भन्दा आफूमा बढी देख्न सक्ने चेतले नै मानिस वास्तविक नेता बन्न सक्छ । आफूमा समस्या देख्ने क्षमताका लागि मनमाथिको नियन्त्रण अनिवार्य शर्त हो ।


नेतृत्व विकासलाई संसारमै महत्वपूर्ण विषयका रूपमा लिइन्छ । नेतृत्व विकाससम्बद्ध विविध तालिम, पद्धति र कार्यक्रम संसारमा प्रचलित छन् । हामीकहाँ पनि नेतृत्व विकाससँग जोडिएका विभिन्न तालिम र कार्यक्रम प्रचलनमा आइरहेका छन् ।

राजनीतिक दलभित्र नेतृत्व विकासलाई सबैभन्दा बढी जोड दिने गरिन्छ । एउटा राजनीतिक दलभित्र कुनै पनि कार्यकर्ता नेतृत्वमा पुग्न दशकौँ लाग्छ । सामान्यतः कुनै पनि क्षेत्रमा स्थापित हुन यही मार्ग वा पद्धतिकै अनुसरण गर्नुपर्छ भनेर निश्चित गर्न सकिन्न । सफलतासम्बन्धी हरेकका निजात्मक अनुभव र मार्गहरू छन् । तर, प्रायः क्षेत्रमा स्थापित हुन लामा र छोटा दुवै बाटा छन् । अधिकांश मानिस लामो बाटोबाट शिखरमा पुग्छन् भने कसैकसैले छोटो बाटोमार्फत पनि गन्तव्य भेट्टाउँछन् । अन्य क्षेत्रमा छोटो बाटोको जति सम्भावना हुन्छ, त्यति सम्भावना एउटा राजनीतिक पार्टीको नेतृत्वमा पुग्नका लागि हुन्न । अर्थात्, समयको लामो र निरन्तरको यात्राबाट नगुज्री नेता बन्न सकिन्न । 

हाम्रा नेतालाई नै हेरौँ, उनीहरूले जीवनको सबैभन्दा उर्वर समय कठिन र जोखिमपूर्ण यात्रामा खर्चिएका छन् । सम्पूर्ण यौवनकाल जीवन–मरणको दोसाँधमा बिताएका छन् । त्यत्रो संघर्ष र जोखिम मोलेका नेताहरू सरकारमा पुग्छन् वा देशको नेतृत्व गर्ने जिम्मेवारी लिन्छन् । तर, हामी उनीहरूको नेतृत्वबाट सन्तुष्ट बन्दैनौँ । अझ राम्रा नेता नभएका कारण देश बर्बाद भयो भन्छौँ । हाम्रो जीवनस्तर उँभो नलाग्नुको पछाडि देशले वास्तविक नेता नपाउनुको परिणाम हो भन्नेमा लगभग सम्पूर्ण नेपाली सहमत छौँ । वर्षाैंवर्ष जेल बसेका, परिवर्तनका लागि मर्नसमेत तयार भएका, दशकौँ खास राजनीतिक विचार र दर्शनप्रति प्रतिबद्ध भएर काम गरेका नेतृत्वप्रति पनि हामी असन्तुष्ट हुन बाध्य हुन्छौँ । किन ? यति लामो निरन्तरता र संघर्षबाट स्थापित भएका भनिएका नेतृत्वहरूबाट पनि हामी ‘वास्तविक नेता’को अनुभूति गर्न सकिरहेका छैनौँ ।

नेतृत्व के हो ? मानिस कसरी सफल नेता बन्छ ? सफल नेताका सद्गुण के–के हुन् ? संघर्ष, निरन्तरता र विज्ञताले मात्र नेता बन्ने हो भने हाम्रा नेतालाई हामीले ‘असफल नेतृत्व’ भन्ने थिएनौँ । संघर्ष, निरन्तरता र जोखिम मोल्ने सामथ्र्यले पनि कुनै मानिसलाई सफल नेता बनाउँदैन भने केले बनाउँछ त ? राजनीतिक नेतृत्वमा मात्र होइन, कुनै पुरुष वा महिलाले घरभित्र कसरी सफल नेतृत्व दिन सक्छन् ? कुनै संघसंस्था वा कार्यालयमा सफल नेतृत्व कसरी तयार हुन्छ ?

नेता गणेशजी

हिन्दू धर्म–संस्कृतिअनुसार धार्मिक कार्य सुरु गर्दा सबैभन्दा पहिला गणेशको पूजा गर्ने परम्परा छ । कार्यमा बिघ्न नआओस् भनेर गणेशको पूजा गरिएको हो । एउटा नेताबाट पनि आम जनताले बिघ्न वा समस्याको समाधान खोज्छ । आफ्ना बिघ्नहरूको निवारण गर्छ भन्ने विश्वासमा नै जनताले कसैलाई नेतृत्वमा स्थापित गर्छ ।

गणेश व्यक्ति स्वयंको आन्तरिक नेतृत्वसम्बद्ध ‘विम्बात्मक’ देवता हुन् । गणेश शब्द गण र ईश मिलेर बनेको छ । गण शब्दले जनता वा आफूवरिपरि भएको परिवार, समाज, राष्ट्र वा विश्वलाई बुझाउँछ । यी सबैलाई नेतृत्व गर्नका लागि नेतृत्व सामथ्र्यको सुरुवात आफ्नै मनबाट हुनुपर्छ । आफ्नो मनलाई जति नेतृत्व (नियन्त्रण गर्ने भन्ने अर्थमा) गर्न सकिन्छ, त्यति नै मात्रामा परिवार, समाज वा राष्ट्रलाई नेतृत्व गर्ने शक्ति प्राप्त हुन्छ । कुनै पनि क्षेत्रमा नेतृत्व सफल वा असफल हुनुको पछाडि नेतृत्वकर्ताले आफ्नो मनलाई कति नेतृत्व गर्नसक्यो वा सकेन भन्ने तथ्य मुख्य जिम्मेवार हुन्छ । यसरी हेर्दा गणेशको गणबाट संसार र ईशबाट ईश्वर, परमात्मा वा आन्तरिक सामथ्र्य भन्ने बुझ्नुपर्छ । गणलाई नेतृत्व गर्ने हो भने आफ्नो ईश (आन्तरिक सामथ्र्य वा मन) लाई नियन्त्रित गर्नुपर्छ । गणेशका बुद्धि र सिद्धि नाम गरेका दुई श्रीमती र शुभ र लाभ नाम गरेका दुई छोरा छन् । गणेशको यो परिवारले आफ्नो मनलाई नेतृत्व गर्नसक्ने मानिसले बुद्धि पु¥याएर काम गर्छ र सिद्धि हुँदै शुभ–लाभ प्राप्त गर्छ भन्ने सन्देश दिएको छ ।

गणेश र नेतृत्वसम्बद्ध माथिको विम्बात्मक उदाहरण कता–कता नमिलेको प्रतीत पनि हुनसक्छ । यो स्वाभाविक हो, सोझो र स्पष्ट नहुने भएकै कारण विम्ब भनिएको हो, जसले प्रक्रिया र गतिविधिलाई भन्दा भाव र सन्देशलाई महत्व दिन्छ । आफ्नै मनको नेता नभईकन बाहिर कसैको पनि नेतृत्व गर्न सकिन्न भन्ने सन्देश र सन्दर्भका लागि गणेशलाई साक्षी राखिएको हो ।

नेतृत्व गर्नेले सबैभन्दा पहिले आफ्नो कमजोरी वा दोषलाई ठम्याउन सक्नुपर्छ । आफ्नो दोषलाई नेतृत्वले ठम्याउन सकेन भने उसले गलत नेतृत्व (मिसलिड) गर्छ । अरूको मात्र दोष देख्ने र आफूलाई हरदम निर्दाेष देख्ने मानिस कहिल्यै सफल नेता बन्न सक्दैन । कुनै पनि द्वन्द्व वा संघर्षको पछाडिको सम्पूर्ण कारण अर्काे पक्षको मात्र हुँदैन । आफूले जहाँ वा जुनसुकै क्षेत्रमा संघर्ष वा समस्या झेलिन्छ, त्यो हुनुको ५० प्रतिशत भागिदारी आफ्नो पनि हो भनेर बुझ्नुपर्छ । अर्थात्, कुनै पनि समस्याको ५० प्रतिशत दोष अरूको र बाँकी ५० प्रतिशत आफ्नो हुन्छ भनेर स्विकार्न सक्ने मानिस नै नेता बन्छ । समस्या अरूमा भन्दा आफूमा बढी देख्नसक्ने चेतले नै मानिस वास्तविक नेता बन्न सक्छ । आफूमा समस्या देख्ने क्षमताका लागि मनमाथिको नियन्त्रण अनिवार्य शर्त हो ।


अभय मानिस नै असल नेता
मनलाई नेतृत्व गर्न सक्नु भनेको लोभ र भयलाई जित्नु हो । जब लोभ र भयले आफूलाई नेतृत्व गर्छ, तब अरूलाई नेतृत्व गर्नसक्ने सामथ्र्य गुमाइन्छ । लोभभन्दा पनि प्रमुख रूपमा भयका कारण नेतृत्व क्षमतामा ह्रास आउँछ । कुनै पनि नेताले घुस खानुको पछाडि वा वैध–अवैध सम्पूर्ण कर्म गर्नुको पछाडि भय नै जिम्मेवार छ । मैले आज पैसाको सञ्चय गरिनँ भने भोलिको मेरो राजनीति के होला ? मेरा सन्ततिहरूको अवस्था के होला ? सम्पत्ति भएन भने अहिलेकै जस्तो शान–शौकत रहला–नरहला ? यस्ता भय मनमा उब्जिएपछि कुनै पनि नेताले घुस, भ्रष्टाचार वा अवैध कर्म गर्न थाल्छ । जबसम्म मनलाई अभय बनाउन सकिँदैन, तबसम्म असल नेतृत्व प्रदान गर्न नै सकिन्न । मान्छे जति कम भयभीत हुन्छ, उति ठूलो नेता बन्छ । मानिस जति डरपोक बन्छ, उति उसको नेतृत्व क्षमता खस्कँदै जान्छ ।

हाम्रा नेता बेला–बेलामा निर्भय देखिन्छन् तर उनीहरू अभय बन्न सकिरहेका छैनन् । निर्भय भनेको परिस्थिति र बेलाले उब्जाउने डरहीनताको अवस्था हो । यो अस्थायी वा परिस्थितिजन्य हुन्छ । अभय भनेको कुनै पनि अवस्थामा डरबोध नगर्ने मानसिक अवस्था हो । जुन निरन्तर रहन्छ । अभय भनेको भित्रबाटै आफूलाई नेतृत्व गर्नु हो । कुनै पनि कारण वा परिस्थितिमा पनि गलत आचरण, लोभ र डरमा नफस्नु हो ।

सतत अध्ययन र प्रश्न सोधाइ

जुनसुकै क्षेत्रमा पनि असल नेता बन्न आन्तरिक रूपमा (मानसिक भन्ने अर्थमा) आफ्नो मनलाई नेतृत्व गर्नुपर्छ भने बाह्य रूपमा सतत अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ । त्यसपछि उक्त अध्ययनलाई अभ्यास र अनुभवमा लैजाने हिम्मत गर्नुपर्छ । हामी नेताको अध्ययन र बौद्धिकताप्रति आकर्षित हुन्छौँ । अहिले पनि फलानो–फलानो नेता लेखपढ गर्छन् वा अध्ययन गर्छन् भन्ने विषयले महत्व पाउने गरेको छ । तर, अध्ययनलाई उसले अभ्यासमा कति ल्याएको छ भन्ने कुरामा हाम्रो ध्यान जाँदैन । अध्ययनलाई व्यवहारमा अनुवाद गर्ने व्यक्ति नै नेता हो । नत्र ऊ बुद्धिजीवी वा प्राज्ञिक व्यक्तित्व मात्र बन्न पुग्छ । अध्ययन र ज्ञानलाई कार्यान्वयनमा लैजानका लागि इच्छाशक्तिको आवश्यकता पर्छ । इच्छाशक्ति अर्थात् मनको तागत । जसरी पनि केन्द्रीय पक्ष मन नै बन्न पुग्छ । त्यसैले नेता बन्नु छ भने पहिला आफ्नो मनलाई नेतृत्व गर्न सक्नुपर्छ भनिएको हो ।

मानिसले भावनालाई प्रधानता दिँदा वा भावप्रधान प्राणी बन्दा ऊ लोभ र भयमा फस्न पुग्छ । भावनाभन्दा बढी बुद्धिले काम गर्नेबित्तिकै यस्ता समस्यामा फस्ने सम्भावना निकै कम हुन्छ । जुनसुकै कर्म गर्दा पनि आफूलाई प्रश्न गर्न सक्नुपर्छ । उदाहरणका लागि एउटा नेतालाई आर्थिक प्रलोभनको प्रस्ताव आयो भने उसले आफूलाई प्रश्न गर्नुपर्छ– ‘के यो पैसाले मलाई खुशी बनाउँछ त ? यो घुसले मेरो राजनीति माथि पुग्छ त ? विगतमा घुसलाई प्राथमिकता दिने को–को नेता राजनीतिमा सफल भए ?’ यस्ता प्रश्न गर्नेबित्तिकै मानिस भावनाबाट बाहिर आउँछ र बुद्धिले काम गर्न थाल्छ । बुद्धिले काम गर्नेबित्तिकै भय र लोभमा फस्ने सम्भावना न्यून हुन्छ । तसर्थ सफल र असल नेतृत्वका लागि हरेक काम गर्दा आफूलाई प्रश्न सोध्ने बानीको विकास अनिवार्य गर्नुपर्छ ।

manokranticentre@gmail.com

प्रतिक्रिया