काठमाडौं – चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट यो चलचित्रको छायांकन सुरु भएको हो ।
एक हप्ता श्रीलंका टापुमा छायांकन गरेपछि बाँकी काठमाडौं, भक्तपुर र कीर्तिपुरमा गरिनेछ । चलचित्रको छायांकन ७० दिन हुने निर्देशक परिच्छेद सेनले बताएका छन् ।
सोसल पिरयड ड्रामा ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौलालगायत छन् ।
‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।
यसैबीच, अशोक थापा मगरको निर्देशनमा निर्माण भएको चलचित्र ‘जलाकी’को छायांकन सकिएको छ । पर्यटकीय नगरी पोखरास्थित इन्टरनेसनल म्युजियममा अन्तिम दृश्य खिच्दै सिनेमाको ‘इन्डक्ल्याप’ गरिएको हो ।
चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । उपासनासँगै चलचित्रमा अभिनेता तथा गायक सोनम तोप्देन र शिल्पा मास्के मुख्य भूमिकामा छन् । यी तीन कलाकारबीचको त्रिकोणात्मक सम्बन्ध नै सिनेमाको मूल कथा हुने बुझिएको छ ।