टीकापुर – यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका १४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।
विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसान बताउँछन् । ती किसानले आठवटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् ।
टीकापुर–१ को वनगाउँ र शंकरपुर, वडा नं २ का राजीपुर र सीतापुर, वडा नं ३ का घिया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् ।
टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्त्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए ।
‘माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ,’ उनले भने, ‘हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।’
किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् ।
यतिबेला यहाँ काँक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायत तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए ।