काठमाडौं – बाराको परपवानीपुरमा आमा र छोराको हत्या भएको छ । परवानीपुर गाउँपालिका–१ का ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको गएराति हत्या भएको हो ।
उनीहरू दुवैको घाँटीमा चक्कु प्रहार गरी विभत्स तरिकाले हत्या गरेको खुलेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए । धारिलो हतियार प्रयोग गरेर हत्या गरिएका दुवैको शव घरभित्रै फेला परेको हो ।
मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डलको पेटमा चक्कु प्रहार भएको छ । मृतक रामेश्वर मण्डलकी बहिनी २० वर्षीया रिणा कुमारी मण्डल पनि घाइते छन् । घाइतेको स्थानीय एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृतक रामेश्वरकी श्रीमती २३ वर्षीया मानिता देवी भने सामान्य घाइते छन् । बारा प्रहरीका अनुसार राति साढे २ बजे अज्ञात एक व्यक्तिले रामेश्वरको घरभित्र छिरेर परिवारका सदस्यमाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको खुलेको छ ।
घटनाको अनुसन्धानका लागि बारा प्रहरी प्रमुख एसपी कुँवरसहितको विशेष टोली रातिबाट नै खटिएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रामेश्वरको हत्या गर्न घरभित्र छिरेका युवाको हुलिया पनि ३०र३२ वर्षकै जस्तो देखिएको खुलेको छ । प्रहरीका अनुसार युवा सीमा नाका हुँदै भारत भागेको आंशका गरिएको छ ।
एसपी कुँवरसहितको टोलीले भारतीय प्रहरीसँग समन्वय बढाएको छ । अनुसन्धानका संलग्न प्रहरीका अनुसार मृतक रामेश्वरकी श्रीमतीको भूमिकाबारे पनि विश्लेषण गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामी विभिन्न कोणबाट अनुसन्धान गर्दै छौँ । हत्याको कारण के हुनसक्छ भन्ने कारण खोजिरहेका छौँ । हत्या गर्ने युवा कसरी रामेश्वरको घरसम्म पुग्यो?त्यो बारे पनि अनुसन्धान हुँदै छ । लुटपाट गर्ने उदेश्यले हत्या गरेको जस्तो देखिँदैन ।’
प्रहरीले रामेश्वरको श्रीमती मानिता देवीलाई सोधपुछ गरिरहेको छ । मानिता र रामेश्वरको १० वर्षअघि विवाह भएको थियो । प्रहरीको अनुसन्धानका क्रममा श्रीमान्रश्रीमतिबीच समेत सम्बन्ध राम्रो नभएको खुलेको छ ।