विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

कामठाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको हो ।

विराटनगरका बसिर अहमदले ३६ रन बनाए । बसिरले ३५ बलमा तीन छक्का प्रहार गरे । ५५ रनमा २ विकेट गुमाएको स्थितिबाट बसिरले सुभव रन्जानेसँग ५२ रनको साझेदारी गर्दै विराटनगरलाई १०० रन पार गराएका थिए । रन्जानेले २९ बलमा दुई चौका र दुई छक्कासति ३७ रन थपे ।

ओपनर लोकेश बमले २८ रन जोडे । मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन जोडे । विराटनगरका मर्चेनट डे लांगे गोल्डेन डक भए ।

विराटनगरलाई मध्यम योगफलमा रोक्न बलिङतर्फ संगिथ कुरे र रुपेश सिंहले समान दुई विकेट लिए । कोरेले चार ओभर बलिङगर्दा २६ रन खर्चिए । आदित्य मेहताले एक विकेट हात पारे ।

आज साविक विजेता जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया