प्रकृतिको निश्चित विधान छ। हामीले देखेको, भोगेको र अनुभूत गरेको यो चराचर जगत् निर्धारित नियम र विधिबाट नै सञ्चालित छ। हामी मानव जाति यही प्रकृतिका सन्तान हौँ। तसर्थ हामीलाई पनि प्रकृतिको विधानले नै निर्देशित गरिरहेको छ। तर, हामी उक्त विधानलाई ठम्याउन सक्दैनौँ वा बेवास्ता गर्छाैं। यसरी प्राकृतिक नियमलाई पालना नगर्दा हामी जीवनभर कष्टको दुश्चक्रमा फस्न बाध्य हुन्छौँ।
प्रकृतिको विधान
जीवनलाई सहज र सफल बनाउने हो भने प्रकृतिको नियमलाई बुझ्नैपर्छ। प्राकृतिक नियमबारे मलाई थाहा भएन वा मतलब छैन भनेर कोही पनि उम्किन सक्दैनन्। यसरी उम्कन वा भाग्न खोज्नु आफू स्वयंका लागि संकट निम्त्याउनु हो। उदाहरणका लागि, मलाई यो देशको नियम कानुनबारे थाहा छैन भनेर सम्बन्धित देशमा बस्ने नागरिकले छुट पाउँछ ? अञ्जानमै नै सही, कुनै अपराधमा संलग्न भएको मनिसले आफूलाई देशको नियम, कानुन र संविधानबारे जानकारी नभएको भनेर सजायबाट मुक्ति पाउँछ ? पक्कै पाउँदैन। सम्बन्धित व्यक्तिलाई नियम–कानुनको विषयमा जानकारी हुनु र नहुनुले दण्ड–सजायमा कुनै पनि असर गर्दैन। सम्बन्धित देशको नियम–कानुनभन्दा बाहिर गएर कर्म गरेपछि जोसुकै पनि प्रचलित दण्डको भागीदार बन्न पुग्छ।
प्रकृतिको विधानमा पनि यही कुरा लागू हुन्छ। हामीले प्रकृतिको नियमलाई बेवास्ता गरे पनि उक्त नियमभन्दा बाहिर गएर हाम्रा क्रियाकलाप भए भने हामी दण्डित हुन पुग्छौँ। उक्त दण्डलाई हामीले भाग्य, प्रारब्ध, कर्मफल आदि भन्दै आएका छौँ।
असारमा धान रोपिएन भने मंसिरमा धान भित्र्याउन पाइँदैन। मंसिरमा धान भित्र्याउने हो भने असारमा धान रोप्ने नियमलाई पालना गर्नैपर्छ। हाम्रो जीवनमा पनि प्रकृतिले निर्दिष्ट गरिदिएका यस्ता कैयाँै नियम छन्, जसको समयमा पालना गरिएन भने जीवन जटिल बन्न पुग्छ। प्रकृतिको नियमबारे हामीलाई स्कुलमा पढाइएन। यस विषयमा हामीलाई हाम्रा अग्रजले पनि सचेत बनाएनन् वा सिकाएनन्। जीवनमा सिक्नै र जान्नैपर्ने विषय प्राथमिकतामा नपरेपछि यसले नकारात्मक परिणाम ल्याउनु स्वाभाविकै हो।
विपरीत ध्रुवमा अन्त्य
प्रकृतिका विभिन्न नियममध्ये एउटा महत्वपूर्ण नियम हो– ‘ल अफ पोलारिटी’। यसअनुसार एउटा ध्रुवबाट सुरु भएको विषय, यात्रा वा सन्दर्भ अर्काे विपरीत ध्रुवमा गएर टुंगिन्छ। अँध्यारोबाट सुरु भएको यात्राको अन्त्य उज्यालोमा हुन्छ भने संयोगको समाप्ति वियोगमा पुगेर हुन्छ। त्यसै गरी, हाम्रो जीवनमा पनि हामी यात्रा कहाँबाट सुरु गर्छाैं, त्यसको अन्त्य सोही सुरुवातको विपरीत ध्रुवमा गएर टुंगिन्छ।
अधिकांश मान्छेका बाल्यकाल वा किशोरकालमा ठूलठूला सपना हुन्छन्। तर, ऊ आफू ठूलो हुँदै गएपछि (हुर्कंदै भन्ने अर्थमा) उसका सपना साना बन्न थाल्छन्। यसरी सपनाहरू साना–साना बन्दै जानुमा स्वयं व्यक्ति जिम्मेवार हुन्छ। किनकि, प्रायः मानिसले जहिले पनि सजिलो रोज्छ, गाह्रो रोज्दैन। सजिलोबाट सुरु भएको यात्रा गाह्रोमा गएर टुंगिन्छ। मानिसले जब सजिलोबाट झन्–झन् गाह्रोको सामना गर्न थाल्छ, अनि उसका सपना पनि साँघुरा बन्न थाल्छन्। सुरुमा सजिलोको छनोट गर्नाले नै अधिकांश मानिस जीवनमा असफल बन्न पुग्छन्।
चार ‘पी’
सफल वा धन्य जीवन बाँच्नका लागि चार वटा ‘पी’लाई बुझ्नु आवश्यक छ। अनिवार्य छ। चार पी भन्नाले ‘पेन’, ‘प्लेजर’, ‘पिक पर्फर्मेन्स’ र ‘पज’ हुन्। कष्ट, आनन्द, उच्चतम क्रियाशीलता र आरामको चक्रबाट नै हामीले जीवनमा वास्तविक उपलब्धि हासिल गर्न सक्छौँ। यो चक्रअन्तर्गत हामीले यात्रा कहाँबाट सुरु गरेका छौँ, सोहीअनुरूप नै परिणाम प्राप्त हुन्छ।
हामीले पेन अर्थात् कष्टबाट यात्रा सुरु गर्यौँ भने उक्त यात्राको समाप्ति प्लेजर अर्थात् आनन्दमा गएर टुंगिन्छ। तर, हामीले सुरुमा सजिलो रोजेर आनन्दबाट यात्रा ग¥यौँ भने त्यसको अन्त्य कष्टमा हुन्छ।
अहिले सफल वा शक्तिशाली भएका जति पनि मानिस छन्, ती सबैले सुरुवातमा संघर्ष छनोट गरेका थिए। बाध्यतावश वा बुझेर संघर्ष अर्थात् पेन रोज्ने मानिसलाई नै आज हामी पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरूमा पढ्ने र सुन्ने गरिरहेका छौँ। आज तपाईं–हामीलाई नेतृत्व गर्ने जेजति नेता छन्, उनीहरूले सुरुवातमा कष्टकै बाटो रोजेर यहाँसम्म आएका हुन्। अहिले देशको कार्यकारी अधिकार हातमा भएका व्यक्तिहरूले कुनै समय मृत्युलाई हत्केलामा राखेर हिँडेका थिए। परिवार र स्वसुखलाई तिलाञ्जली दिएर डरलाग्दो जोखिमको बाटो हिँडेका थिए।
जेल, नेल, निर्वासन, पारिवारिक विछोडलगायत पीडा र चुनौती रोजेका कारण आज उनीहरू हाम्रा नेता भएका छन्। आज उनीहरूले के गरे, गरिरहेका छन् ? त्यत्रो त्याग र संघर्ष गरेका मानिसले त्यसो गर्न मिल्थ्यो वा मिल्दैनथ्यो ? भन्ने सन्दर्भ छट्टै बहसको विषय बन्न सक्ला। तर, उनीहरूको निजात्मक जीवनलाई हेर्दा हिजो पेन रोजेका कारण आज उनीहरू प्लेजरमा छन् भन्न चाहिँ सकिन्छ।
वर्तमानमा हामीभन्दा माथि रहेका व्यक्तिहरू मात्र होइनन्, हामीले इतिहास भनेर जसलाई पढ्नुपर्छ, उनीहरू पनि सुरुवातमा कष्टबाटै अगाडि बढेका कारण इतिहास बन्न सकेका हुन्।
‘ल अफ पोलारिटी’ अनुसार तपाईंको यात्रा जहाँबाट सुरु भयोे, त्यो सोही विन्दु, परिवेश वा अवस्थामा गएर टुंगिदैन। आज तपाईंले भोग्नुभएको अवस्था र परिवेशको विपरीत विन्दुमै गएर टुंगिन्छ। त्यसैले जीवनमा पहिला सुख रोज्ने कि पछि सुख रोज्ने भन्ने छनोट हाम्रै पहुँचभित्र छ। तर, पहिला पनि सुख खोेज्ने र अन्त्यमा पनि सुख भोग्ने इच्छा कहिल्यै पूरा हुँदैन।
जसरी असारमा रोपाइँ गर्ने बेलामा आराम रोज्ने किसानले मंसिरमा धान भित्र्याउनुको आनन्द लिन सक्दैन, त्यसै गरी सुरुमा सुख खोज्ने मानिसले जीवनको उत्तराद्र्धमा सुख भोग्न पाउँदैन। प्रकृतिको विधान छ, जसले सुरुमा सुख रोज्यो, उसले उत्तराद्र्धमा दुःखमार्फत त्यसको हिसाब बुझाउनुपर्छ। अनि, जसले सुरुमा दुःख रोज्यो, उसले उत्तराद्र्धमा सुखमार्फत दुःखको असुल उपर गर्छ।
पाँच र ९५
संसारमा सबैको सुख र उन्नतिका लागि मान्छेले विभिन्न सिद्धान्त, विधि र परम्पराहरू निर्माण गरेको छ। यो संसारको सुख सबैले समान रूपमा भोग्न पाउनुपर्छ भन्ने ध्येयका साथ माक्र्सवादको उदय भयो। सबैको समानता र सहभागिताका लागि माक्र्सवादी दर्शनका अनुयायीहरूले संसारका विभिन्न मुलुकमा क्रान्ति पनि गरे। क्रान्तिपश्चात् क्रान्तिकारीहरू सत्तामा पनि गए। उनीहरू सत्तामा गएपछि व्यक्ति र व्यवस्था परिवर्तन भयो तर परिणाममा तात्विक भिन्नता देखिएन।
क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि पनि सम्बन्धित मुलुकमा पाँच प्रतिशतले ९५ प्रतिशतलाई शासन गरिरहेका थिए। क्रान्तिपश्चात् पनि शासक पाँच र शासित ९५ नै बन्न पुगे। चिनियाँ क्रान्तिको समाप्तिपश्चात् पनि माउत्से तुङले ‘पार्टी बुर्जुवाको घर भयो’ भनेर भन्नुको अर्थ त्यत्रो क्रान्ति गरेर आएको पार्टीभित्र पनि निश्चित व्यक्तिको पकड भयो भन्न खोजिएको हो। क्रान्तिपछि पाँच प्रतिशतमा पर्ने व्यक्ति तिनै हुन्, जसले सुरुमा सबैभन्दा बढी कष्ट र जोखिम उठाएका थिए।
यसो भनिरहँदा हिजो दुःख गर्नेले आज सत्तामा पुगेपछि सुख भोग्नुपर्छ भन्न खोजिएको होइन। हिजोको ब्याज असुल्ने र नअसुल्ने सन्दर्भ यो आलेखको केन्द्रीय पक्ष पनि होइन। एउटा सत्य चाहिँ के हो भने हिजो संघर्ष गरेकै व्यक्ति आज सत्ताको शीर्षस्थानमा छ। उसले जनता र देशलाई धोका दियो भनेर हामी उसलाई आलोचना गर्छाैं र गर्नु पनि पर्छ। तर, सँगसँगै हामीले प्रकृतिको नियमलाई पनि बुझ्नुपर्छ। हरेक नागरिकसम्म आजको संघर्षले भोलि नै सुखसम्म पुर्याउँछ भन्ने विषय पुर्याउन सक्नुपर्छ।
सुखदुःख चक्र
पेनबाट सुरु गरेको यात्रा बिस्तारै प्लेजरमा पुग्छ। बानी पर्दै गएपछि वा अभ्यस्त हुँदै गएपछि पेन आफैँ प्लेजरमा रूपान्तरण हुन्छ। प्लेजरलाई लामो समयसम्म टिकाउन सकियो भने त्यो पिक पर्फर्मेन्स बन्न पुग्छ। उदाहरणका लागि, कुनै बच्चालाई सुृरुमा फुटबल खेल्न गाह्रो हुन्छ। तर, उसले गाह्रोलाई स्विकार्यो भने बिस्तारै फुटबलमा उसको बानी पर्न थाल्छ। उक्त बानी पर्नुसँगै उसले आनन्दको अनुभूति गर्न थाल्छ।
जब उसले आनन्दलाई पनि लामो समय टिकाउन सक्छ, अनि मात्रै मेसी र रोनाल्डोजस्ता खेलाडी विश्व फुटबलले प्राप्त गर्छ। फुटबलको हकमा मेसी र रोनाल्डोजस्ता खेलाडी पिक पर्फर्मेन्सका उदाहरण हुन्। पिक पर्फर्मेन्सलाई सदैव टिकाइराख्छु भनेर हुँदैन, तत्पश्चात् पज अर्थात् आराम गर्नुपर्छ। उक्त आरामपछि फेरि पेन, प्लेजर, पिक पर्फर्मेन्स र पजको अर्काे नयाँ शृंखला सुरु हुन्छ। जब मानिसलाई दुःखपछि सुख आउँछ भन्ने बोध हुन्छ, तब उसले कहिल्यै पनि सुरुमा सुख रोज्दैन, दुःख नै रोज्छ।
अन्त्यमा,
अधिकांश आमाबाबुले सन्तानलाई दुःख नहोस्, कष्ट नहोस्, कसैले गाली नगरोस् वा ठेससम्म नलागोस् भन्ने ध्येयका साथ हुर्काउँछन्। जसका कारण हरेक बच्चाले सहजता जीवन हो भन्ने बुझ्छ। यही बुझाइ नै समग्र जीवनमा गलपासो बन्न पुग्छ। किनकि, उसको रोजाइ जहिले पनि सहजतातर्फ हुन्छ। सहजता कुनै न कुनै मोडमा पुगेर असहजतातर्फ मोडिन्छ।
जिराफले उठी–उठी बच्चा जन्माउँछ।
जिराफजस्तो अग्लो जनावरले उठेर बच्चा जन्माउँदा जन्मने बच्चाले सुरुमै कष्ट बेहोर्नुपर्छ। जन्मिसकेपछि आमाले उसलाई सम्हाल्दिन, बरु निर्मम ढंगले खुट्टाले हिर्काउँछे। जबसम्म बच्चा उठेर हिँड्दैन, तबसम्म जिराफले हिर्काएको हिर्काइ गर्छ। आमाको निरन्तरको प्रहारले नवजात शिशु हिँड्न बाध्य हुन्छ। ऊ हिँडेपछि मात्र आमाले उसलाई चाट्न थाल्छे, दूध खुवाउन थाल्छे। बच्चा उठेर नहिँडेको भए ऊ शिकारी जनावरको आहारा बन्थ्यो। आमाले हिर्काई–हिकाई हिँडाएको कारण उसले जीवन प्राप्त गर्यो।
जिराफले जानेको यो विषय हामी आमाबाबुले जान्न सक्नुपर्छ। आफ्ना सन्तानलाई सुखभन्दा दुःख र कष्टको बाटो रोज्न अभिप्रेरित गर्नुपर्छ।