बालबालिकाले विद्यालय पुग्न गरेको संघर्ष देखेपछि समाजसेवामा मोडिएका शेर्पा

राम्रो अनलाइन     ०१ असोज २०८२, बुधबार
बालबालिकाले विद्यालय पुग्न गरेको संघर्ष देखेपछि समाजसेवामा  मोडिएका शेर्पा लाक्पा तेन्जी शेर्पा

काठमाडौँ– समाजसेवा गर्ने चाहना सबैको हुन्छ । तर, जोकोहीले आफ्नो चाहना विभिन्न कारणले पूरा गर्न सकेका हुँदैनन् । जसले निःस्वार्थभावले समाजको सेवा गर्छ, त्यही  व्यक्ति नै समाजसेवी कहलिन्छ । मानिस आधुनिक प्रतिस्पर्धाको युगमा बाँचिरहे पनि मानवीयता अझै हराएको छैन ।

त्यही मानवीय भावनालाई कायम राख्न अहिले कैयौं व्यक्ति विभिन्न युवा क्लब, सामाजिक संघ–संस्थाको माध्यमबाट आफूलाई सामाजिक कार्यतर्फ सक्रिय बनाइराखेका छन् । तिनै समाजसेवीका अनेकन् प्रयासबाट समाजमा थुप्रै उदाहरणीय विकास निर्माणका काम भइरहेका छन् ।

त्यसैले भनिन्छ, समाजमा रहेर समाज हितकै लागि निःस्वार्थ काम गर्नु नै समाजसेवा हो, जहाँ कुनै नाफा–घाटाको उद्देश्य नराखी व्यक्तिगत अथवा सामाजिक रूपमा समाज कल्याणको काम गरिन्छ । नेपालजस्तो विकासोन्मुख देशका लागि विकासमा होस्टेमा हैंसे गर्न समाजसेवा उपयुक्त विकल्प हो । त्यसैले होला, समाजसेवा शब्द निकै लोकप्रिय बन्दै गएको छ ।

समाजसेवी लाक्पा तेन्जी शेर्पा गाउँका स–साना बालबालिकाले विद्यालय पुग्न गरेको संघर्षले  समाजसेवातिर मोडिए । बाल्यकाल रामेछापमै बिताएका उनले आफ्नै गाउँठाउँबाट समाजसेवा सुरु गरे । कतै विद्यालय निर्माण गर्ने तथा कतै भत्किएका विद्यालय बनाए भने कतै विद्यालयमा आवश्यक सामग्री वितरण गरेर समाजसेवा गरिरहे ।

‘सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौं’ भन्ने उद्देश्यका साथ रामेछाप, उमाकुण्ड गाउँपालिकाका लाक्पा तेन्जी शेर्पा समाजसेवामा लागे । गाउँका स–साना बालबालिकाले विद्यालय पुग्न गरेको संघर्षले उनी समाजसेवातिर मोडिए । बाल्यकाल रामेछापमै बिताएका उनले आफ्नै गाउँठाउँबाट समाजसेवा सुरु गरे । कतै विद्यालय निर्माण गर्ने तथा कतै भत्किएका विद्यालय बनाए भने कतै विद्यालयमा आवश्यक सामग्री वितरण गरेर समाजसेवा गरिरहे ।  ‘२–३ वर्षका बच्चाले विद्यालय पुग्न गरेको संघर्षले मलाई समाजसेवामा लाग्न प्रेरित गर्‍यो।’  गाउँमा स्कुल जान कम्तीमा आधा घन्टा हिँडेर जानुपर्ने बाध्यता थियो । ‘२–३ वर्षका बच्चाका लागि त्यो सम्भव हुने कुरा थिएन । त्यसैले गाउँका बच्चाले पढ्न जान सक्ने भइसक्दा ६÷७ वर्षका हुन्थे । यसरी पढ्दै जाँदा उमेर र पढाइको अन्तर नमिलेर धेरैले पढाइ छाड्न थाले । त्यसैले मैले सबैभन्दा पहिला विद्यालय बनाएर समाजसेवामा अघि बढें’, लाक्पाले भने  ।

भनिन्छ, समाजसेवा गर्न ठूलो  योगदान, धैर्य र लगनशीलता  चाहिन्छ । लाक्पा पनि योगदान, धैर्य एवं लगनशीलताले सधैँ समाजसेवामा लागिपरिहे र सबैलाई सहयोग गरिरहे ।

उनको जन्मभूमि नेपाल भए पनि कर्मभूमि अमेरिका बन्यो । २००१ मा अमेरिका पुगे पनि उनले समानसेवाको यात्रालाई निरन्तर जारी राखे । २०७२ भूकम्प होस् या कोरोना माहामारी । उनले हरबखत देशका लागि समाजसेवा गरिरहे । खाने मुखलाई जुंगाले छेक्दैन भनेजस्तै काम गर्ने मानिसले जहाँ गएर पनि काम गर्न सक्छ ।

नेपालमा सक्रिय सेवा गरिरहेका उनलाई अमेरिका पुगेपछि समाजसेवा गर्न सकिन्छ÷सकिँदैन भन्ने लागको  थियो । तर, अमेरिकामा आफूजस्तै समाजसेवा गर्न रुचाउने साथीको जमातले खुसी बने । उनी हाल युनाइटेड शेर्पा एसोसिएसन अर्थात् (शेर्पा क्युदोङ) संस्था मार्फत समाजसेवा गरिरहेका छन् । हाल उनी उक्त संस्थाका महासचिवसमेत हुन् ।

के हो शेर्पा क्युदोङे ?

(शेर्पा क्युदोङ) युनाइटेड शेर्पा एसोसिएसन गैरनाफामूलक संस्था हो, जुन न्यूयोर्कमा रहेको छ । त्यसमा आबद्ध सदस्यको सहयोगबाट निर्माण गरिएको सांस्कृतिक र धार्मिक स्थल हो, जसले सामाजिक एकता र सहकार्यको माध्यमले शेर्पा र हिमालयन समुदायको सांस्कृतिक उत्थान गरिरहेको छ । युनाइटेड शेर्पा एसोसिएसन शेर्पा क्युदोङ नामले परिचित छ ।

सन् २००८ मा स्थापित संस्थामा मात्रै १६ समुदायका ४,६३८ भन्दा बढी व्यक्तिले सक्रिय सदस्य र १० हजार बढी   सदस्य छन् ।  यो संस्था मात्रै नभई कोषसमेत हो । संस्थाले  सन् २०१६ यता संघले विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी चार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गरेको छ । यसका साथै शेर्पा क्युदोङले सांस्कृतिक भाषा, संगीत र सांस्कृतिक कक्षा सञ्चालन गरिरहेको छ । १९९८ देखि युवा खेलकुद कार्यक्रम पनि सफलतापूर्वक चलाउँदै आएको छ, जसले ५०० बढी युवालाई सांस्कृतिक र सामाजिक तरिकाले सक्रिय बनाएको छ  । 

संस्थाले प्राकृतिक विपत्ति जस्तै, भूकम्प (२०१५), एभरेस्ट विपत्ति (२०१२) आदिमा संकलित १,३८,००० भन्दा बढी डलर राहत रकम वितरण गर्नेलगायत मानवीय काममा पनि सक्रिय भूमिका वहन गरेको छ ।

यस्तै, कोभिड–१९ महामारीका बेला यसले खानेपानी र पीपीई वितरण गर्दै न्यूयोर्कका विद्यार्थी एवं आप्रवासी परिसंघका लागि लाइफलाइन बनेको थियो । साथै, एनवाईसी काउन्सिलसँगको सहकार्यमा आईडी एनवाईसी कार्यक्रमका लागि नेपाली र तिब्बती भाषामा पपअप सेवा केन्द्र सञ्चालन गरी समुदायलाई महत्वपूर्ण उपलब्धि प्रदान गरेको छ । यो सांस्कृतिक केन्द्र नभई शिक्षा, खेलकुद, धार्मिक, राहत र समुदाय सेवा सम्मिलित समग्र विश्वास, सेवा र पहिचानको केन्द्र हो ।

समाजसेवा गर्ने  व्यक्तिमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक  स्वार्थ हुनु आवश्यक छ । शुद्ध सामाजिक कार्य  र सेवाले   सबैमा आत्मसन्तुष्टि र आत्मसम्मान  मिल्छ । सन् १९९५ मा रामेछाप  गुम्देल तेछिम विद्यालयबाट सामाजिका सेवामा लागेका उनी कर्मभूमिबाट समेत जन्मभूमिको सेवामा जुटिरहेका छन् ।

समाजसेवामा पैसा केही भए पनि सबथोक होइन भन्ने बुझ्न जरुरी छ । पैसाले मात्र समाजसेवा हुन्छ भन्नु एक प्रकारको दम्भ मात्रै हो । समाजसेवा तन, मन र वचनले पनि हुन्छ भनेर मनन गर्न सक्नुपर्छ । समाजसेवाका लागि आधारभूत सर्त पैसा होइन, इच्छाशक्ति हो । त्यसैले उनले शेर्पा समुदायका लागि मात्रै नभई हिन्दु समुदायका निम्ति पनि मन्दिर बनाउने काम गरे । यसका साथै उनले २०७२ भूकम्पमा घर भत्किाएकालाई रामेछापकको थथिमका ७०  घरलाई ५०–५० हजार रुपैयाँ र रामेछापकै छेवरका पनि ४० घरलाई ४०/४०हजार उपलब्ध गराएका थिए । उनी हृदयदेखि नै समाजसेवा  गर्छन् र जनताको  विश्वास  र माया बटुलिरहेका छन्। सायद उनले सेवा नगरेका क्षेत्र कतै होलान् ।

शेर्पाले विद्यालय बनाउने, गुम्बा बनाउने, मन्दिर बनाउने  सबैतिर समाजसेवा गर्दै आइरहेका छन् ।  ट्रेकिङ  गाइड हुँदादेखि सुरु गरिएको समाजसेवा उनी कालान्तरसम्म गर्न चाहन्छन्  ।

नेपालमा हाल केही अपवादलाई छाडिदिने हो भने समाजसेवाको समग्र क्षेत्र विकृति र विसंगतिको थुप्रोमा परिणत भएको छ । यसमा सरकारी नियामक निकाय समाज कल्याण परिषद्समेत अछुतो छैन । समाजसेवाका नाममा झांगिएको अर्को रुप धर्म प्रचार वा धर्म परिवर्तनका रुपमा समेत अगाडि आएको छ । राज्यको फितलो अनुगमन एकातिर छँदै छ, जसले पनि जहाँ पनि, जहिले पनि सामाजिक गतिविधिका नाममा जेसुकै गर्न पाउने छुट होला । त्यसैले निःस्वार्थभावले समाजसेवा गर्नुपर्ने  बताउँछन्, लाक्पा ।

‘समाजसेवा गर्न ठूलो योगदान, धैर्य र लगनशीलता  चाहिन्छ । समाजसेवा  त्यो  हो, जुन आफूले सहृदय र इमानदारीपूर्वक गर्न सकिन्छ । समाजसेवा व्यक्तिगत स्वार्थभन्दा धेरै  माथिको  कुरा हो । समाजसेवी बन्न ठूलो त्याग र समर्पण गर्नुपर्छ । जसले व्यवस्थित  ढंगबाट  निःस्वार्थभावले आफूलाई  समाजप्रति त्याग र अर्पण गर्छ, त्यो व्यक्ति मात्र असल समाजसेवी  बन्न सक्छ । अहिलेको समय वास्तविक  र विशुद्ध समाजसेवीलाई सम्मान र प्रोत्साहन गर्न  सिक्नुपर्छ । त्यसैले सच्चा मनबाट समाजसेवा गर्नेलाई कुनै समस्या पर्दा म कालान्तरसम्म समाजसेवा गरिरहनेछु,’  उनले भने ।

प्रतिक्रिया