सुनसरी–धरान उपमहानगरपालिका–१४ की रमा नेपाली आज बिहानै हरियो चुरा र मेहेन्दी लगाएर मन्दिरमा पुगिन्। हरेक वर्ष साउने सङ्क्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो श्रृङ्गारमा सजिने गर्छिन्। उनी भन्छिन्, “साउन सुरु भएपछि हरियो श्रृङ्गारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । ब्रत बसेर हरियो चुरा लगाउँदा आत्मिक सन्तुष्टि मिल्छ ।”
उनका अनुसार साउन महिना जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो महिना सुरु हुनासाथ महिलामा विशेष उत्साह जाग्ने गर्दछ । हरियो चुरा, मेहेन्दी, हरियो र पहेँलो पहिरन केवल सजावट मात्र नभई उहाँ परम्परा र आस्थाका प्रतीक ठान्छिन्। शिवको पूजा गर्दै सोमवार ब्रत बस्दा आत्मिक शान्ति मिल्ने उनको अनुभव छ । बाल्यकाल सम्झँदै उनी भन्छिन्, “पहिले आमा बिहानै उठेर गाईको दूध, बेलपत्र लिएर पूजा गर्न मन्दिर जानुहुन्थ्यो । अहिले म आफैंले पनि त्यो परम्परा निर्वाह गरिरहेकी छु ।”
साउन महिनाको ब्रतले अनुशासन, संयम र श्रद्धाको भाव सिकाउने बताउँदै उनले हरियो रङलाई जीवनमा आशा र समृद्धिको प्रतीकका रूपमा लिएकी छिन् । साथीहरूसँग चुरा किन्न बजार जाँदा हुने रमाइलो क्षण अझै विशेष लाग्ने गरेको उनको अनुभव छ । साउन महिनाको आगमनसँगै नेपाली हिन्दू समुदायमा विशेष उमङ्ग र उल्लास छाउने गर्दछ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिदेखि नै देशका विभिन्न शहरमा हरियाली पोशाक, चुरा र मेहेन्दीको रौनक देखिन थालेको छ । धरान, सुनसरीलगायतका सहरमा साउन लागेसँगै महिला दिदीबहिनी हरियो, पहेँलो र रातो रङका पहिरन, चुरा तथा मेहेन्दीमा सजिएर धार्मिक आस्था प्रकट गरिरहेका छन् ।
धरान उपमहानगरपालिका–३ की पवित्रा सुवेदी पनि साउनभर हरियो चुरा, पोते र पहिरनमा सजिन मन लाग्ने बताउँछिन् । उनले प्रत्येक सोमबार ब्रत बस्ने र शिव मन्दिर गई पूजापाठ गर्ने गरेको बताइन्। शिवको कृपा पाउन पार्वतीले जस्तै हरियो पहिरन र चुरा लगाएर ब्रत बसिन्छ भन्ने विश्वासले गर्दा यो परम्परा पछ्याउँदै आएको उनले सुनाइन्। धरान उपमहानगरपालिका–२० की सरस्वती राई भन्छिन्, “साउनमा बजारको चहलपहल हेर्दा दसैँ झैँ लाग्छ । उनले पनि साउनमा लगाउन केही दिनअघि नै बजार आई हरियो चुरा, पोते र कपडा किनेको बताइन्।
साउनमा विशेषगरी सोमबारका दिन ब्रत बसी शिव मन्दिरमा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । विशेषगरी विवाहित महिलाहरूका लागि साउन महिना धर्म, संस्कृति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यस महिनाभर महिलाहरूले ब्रत बस्ने शिव मन्दिर जाने, शाकाहारी भोजन ग्रहण गर्ने तथा हरियो श्रृङ्गारका सामग्री प्रयोग गर्ने परम्परा रहेको छ ।
साउन महिना शिवजीको आराधनाको विशेष समयको रुपमा लिने गरिन्छ । यो महिनाभर ब्रत बस्ने, मन्दिर जाने, चुरा–मेहेन्दी लगाउने चलन पुरानै हो । तर समयसँगै यसको महत्व अझ बढेको छ । अहिले महिलाहरूले यो समयलाई आत्मचिन्तन र आध्यात्मिक उन्नतिको समयका रूपमा पनि लिने गरेका छन् । साडीमा हरियो र पहेँलो रङको मेल, चुरा र मेहेन्दीले सजिएको हात यी सबै कुराले हाम्रो संस्कृतिलाई जीवित राखेको छ ।
“साउनको हरेक सोमबार मन्दिरमा शिव पूजाका लागि जाने हाम्रो परम्परा छ, म यसलाई केबल धार्मिक कर्तव्यको रूपमा होइन, महिलाहरूबीचको एकताको रूपमा पनि हेर्छु”, इटहरी उपमहानगरपालिका–७ का रमा बस्नेत भन्छिन्, “साउन महिनाभर हामी समूहमा पूजा गर्छौं, भजन गाउने गर्छौं, अनि एक अर्काको घरमा प्रसाद बाँड्छौँ यस्तो संस्कारले साथीहरुमा सम्बन्ध बलियो बनाउँछ ।” साउन महिना हामी महिलाका लागि भने साँच्चीकै विशेष लाग्ने गरेको बताउँदै उनी भन्छिन्, “ब्रत बस्दा शरीर शुद्ध हुन्छ, हरियो चुरा र पहेँलो कपडा लगाएर साथिहरुसँग मठमन्दिरमा पूजा गर्न जान्छौँ । यसले हाम्रा तन र मन पवित्र भएको अनुभव हुन्छ ।”
अहिले साउन महिनाको आगमनसँगै धरानको प्रमुख व्यापारिक क्षेत्र भानुचोक, सब्जीमण्डी, देसीलाइन, पुरानो बजारलगायतका स्थानमा रहेका कस्मेटिक तथा चुरा पसलमा उल्लेखनीय चहलपहल देखिएको छ । श्रृङ्गार सामग्री किनमेल गर्ने महिला ग्राहकको आवागमन बाक्लिँदै गएसँगै ती क्षेत्रमा बजार गतिविधि झनै रङ्गीन बनेको छ ।
व्यापारीहरूका अनुसार साउन महिनामा बिक्री हुने चुरा, मेहेन्दी, टिका, क्लिप, बिन्दी, नेलपोलिस, सिन्दूरलगायतका श्रृङ्गार सामग्रीमा अन्य महिनाको तुलनामा उल्लेखनीय माग बढ्ने गरेको छ । विशेषगरी विवाहित तथा किशोरी महिला साउन महिनामा हरियो रङको चुरा र मेहेन्दीप्रति आकर्षित हुने भएकाले बजारमा ती वस्तुको माग उच्च हुने गरेको गर्दछ । “साउन एक महिनाको बिक्री अरू महिनाभन्दा दोब्बर जस्तै हुन्छ”, धरान सब्जीमण्डीका व्यापारी सञ्जय महर्जनले भने, “साउन सुरु भएपछि ग्राहकको घुइँचो बिहानैदेखि लाग्ने गर्छ । अघिल्ला महिनामा फाट्टफुट्ट ग्राहक आउने तर साउन सुरु भएपछि चुरा लागाउने ग्राहक महिलाहरुको सङ्ख्या बिहानैदेखि बेलुकासम्म नै पसलमा भीड हुन्छ ।”
यसरी साउनले बजारमा ल्याउने उत्साह र चहलपहलले स्थानीय साना व्यापारीलाई मात्र होइन, सम्पूर्ण बजारलाई नै जीवन्त बनाउने गरेको देखिन्छ । व्यापारी महर्जनले भने, “साउन महिना हामीजस्ता साना व्यापारीका लागि विशेष व्यस्तता र आम्दानीको राम्रो अवसर पनि हो ।” साथै, मेहेन्दी लगाउने चलन बढेसँगै धरानका सौन्दर्य सैलुन, ब्युटीपार्लरमा समेत सेवाग्राहीको चाप दोब्बर भएको देखिएको छ । धरानको देसीलाइनमा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी रमिला खत्री साउन सुरु भएयता मेहेन्दी लगाउन आउने महिलाको सङ्ख्या दिनहुँ बढ्दै गएको बताउँछिन्।
हरियाली, हरियो चुरा, हरियो मेहेन्दी र हरियो पोशाकले साउनले नारी चेतनामा आध्यात्मिक अनुभूति थप्ने गरेको छ । धरानको सडकदेखि मन्दिर परिसरसम्म र बजारदेखि नारी मनसम्म साउने हरियालीले आत्मालाई हरित भावनासँग जोड्ने गरेको छ । साउनमा विशेषगरी विवाहित हिन्दू महिलाहरूले श्रीमान्को दीर्घायुको कामना गर्दै ब्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने तथा शिव मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । आज साउने सङ्क्रान्तिको बिहानै धरानका मन्दिरमा पूजारी र दर्शनार्थीको सङ्ख्यासमेत उल्लेखनीय बढेको देखिन्छ ।
हिन्दू शास्त्रअनुसार हरियो रङलाई हरियाली, प्रेम र आशाको प्रतीक मानिन्छ भने पहेँलो रङ पवित्रता र रातो रङ सौभाग्यको सङकेत हो । यी तीन रङगको संयोजनमा श्रृङ्गार गरेर महिलाहरू शिव उपासना र ब्रतमा सहभागी हुने गर्छन् । हिन्दू धर्मशास्त्रमा उल्लेख भएअनुसार साउन महिनाभर देवी पार्वतीले भगवान शिवलाई प्राप्त गर्न निराहार ब्रत बसी, हरियो चुरा, पोते, मेहेन्दी र पहिरनमा सजिएर पूजा गरेको वर्णन पाइन्छ् । यही धार्मिक प्रसङ्गलाई आधार मानेर नेपाली हिन्दू नारीहरूले यो महिनालाई सौभाग्य, पति दीर्घायु र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गर्छन् ।
बोलबम मेला सुरु
साउन महिनाको आगमनसँगै धरानको प्रसिद्ध धार्मिक स्थल धरान उपमहानगरपालिका–१४ मा रहेको पिण्डेश्वर मन्दिरमा पनि धार्मिक र सांस्कृतिक रौनक सुरु भएको छ । धरानको विजयपुर डाँडामा अवस्थित पिण्डेश्वर महादेव मन्दिरमा आजदेखि बोलबम मेला सुरु भएको छ । यो मेला साउन महिनाभर लाग्ने गर्दछ । साउन महिना सुरु भएसँगै धरानको प्रसिद्ध पिण्डेश्वर मन्दिर शिवभक्तको भीडले भरिन थालेको छ । विशेषगरी भारत र नेपालका विभिन्न स्थानबाट आएका भक्तजन चतरास्थित सप्तकोशी नदीमा स्नान गरी खाली खुट्टा हिँड्दै गेरुवस्त्र लगाएर पवित्र जल बोकेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने परम्परा पछिल्ला केही दशकयता अत्यन्तै बढेको छ ।
पिण्डेश्वर मन्दिरमा ‘अमृतपिण्ड’का रूपमा भगवान शिवको पूजा अर्चना गरिन्छ । मान्यता अनुसार यो मन्दिर अमृतको अंशबाट स्थापित भएकाले यहाँ चढाइने जलले विशेष पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । स्कन्ध पुराणमा समेत यसको उल्लेख भेटिन्छ । यही विश्वासका कारण हरेक वर्ष साउनभर विशेषगरी सोमबारका दिन शिवभक्त यहाँ आएर पूजापाठ गर्ने गर्छन् ।
हिन्दू धर्मशास्त्र अनुसार साउन शिवजीको प्रिय महिना मानिन्छ । विशेषगरी साउनको सोमबारलाई अत्यन्तै शुभ र फलदायी मानिन्छ । यसै कारणले धरानको पिण्डेश्वर मन्दिरमा हरेक सोमबार विशेष मेला लाग्ने गर्छ, जसलाई बोलबम मेला भनेर चिनिन्छ । यस मेलामा सहभागी हुने भक्तजन ‘बोलबम ‘हर हर महादेव’ जस्ता नारासहित श्रद्धाभावमा रमाउने गर्दछन् । उनीहरु समूह बनाएर पैदल यात्रा गर्छन् ।
भारतको बिहारस्थित देवघरको बैद्यनाथधाम मन्दिरमा बोलबम मेलाको पुरानो परम्परा रहँदै आएको थियो । विसं २०४२ देखि धरानको पिण्डेश्वर मन्दिरमा पनि बोलबम मेला सुरु गरिएको हो । विशेषगरी सीमावर्ती भारतीय राज्यहरू बिहार, झारखण्ड, उत्तर प्रदेशदेखि लिएर नेपालको तराई, पहाड, र राजधानीसम्मका भक्तजन यहाँ आउने गर्दछन् । पिण्डेश्वर मन्दिर परिसरमा यस समयमा व्रतालुहरूका लागि जलपान, विश्राम, र पूजा सामग्री किन्न सकिने दर्जनौं अस्थायी स्टलहरू समेत सञ्चालनमा ल्याइएको छ । स्थानीय बासिन्दा र धार्मिक सङ्घसंस्थाले भक्तजनलाई सहज यात्रा बनाउने उद्देश्यले स्वेच्छिक सेवा प्रदान गर्ने गर्दछन् ।
धरानको पिण्डेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटकीय हिसाबले पनि आकर्षक गन्तव्य मानिन्छ । साउनमा आयोजना हुने बोलबम मेलाले धरानको धार्मिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्दै आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए। धार्मिक श्रद्धा, सांस्कृतिक विविधता र भक्तिभावको अद्वितीय संगमको अनुभूति गराउने पिण्डेश्वर मन्दिरमा, साउन महिनाभरि बोलबमको जयकाराले वातावरण भक्तिमय बनाउने गरेको उनको भनाइ छ । शिव भक्तिको उत्सव, रंगीन श्रृङ्गारको समावेशी सौन्दर्य र पिण्डेश्वरमा गुञ्जिने बोलबमको जयघोषसँगै धरान हरेक वर्ष साउन महिना साँच्चीकै हरियाली शहर बन्ने गर्दछ।