काठमाडौं–नायिका परीक्षा लिम्बुले फिल्म ‘पुजार सार्की’ भन्दा अगाडि पनि फिल्ममा काम नगरेकी होइनन् । तर, यो फिल्मले उनको अभिनय क्षमता दर्शक र फिल्मीकर्मीमाझ देखाइदियो । यसपछि, परीक्षा लिम्बु सफलताको स्वाद चाखिरहेकी छिन् । उनले नै अभिनय गरेको फिल्म ‘ऊनको स्विटर’ले हलमा धमाका मच्चाइरहेको छ ।
यो फिल्ममा परीक्षाको भूमिका कम छ । तर, केही दृश्य र एउटा गीतकै कारण उनको चर्चा चुलिएको छ । परीक्षा फिल्म रिलिज हुनु अघि र रिलिज भइसकेपछि पनि दौडधूप गरिरहेकी छिन् ।
नायिका मिरुना मगर फिल्म ‘जारी २’को छायांकनमा व्यस्त हुँदा परीक्षा फिल्मको टिमसँग दौडधूप गरिरहेकी छिन् । परीक्षाले आफूलाई एउटा राम्रो कलाकारको रुपमा दर्शकले चिनेको खण्डमा आफू खुशी हुने बताइन् । उनी, दर्शकबाट पाएको मायाले निकै नै उत्साहित भएको बताउँछिन् ।
परीक्षाले सोलो नायिकाको रुपमा काम गरेको फिल्म ‘सोल्टिनी’ असोजको ३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा उनले आफ्नो काम अझै देखाउन पाउनेछिन् ।
अहिलेको पुस्तामा परीक्षासँगै अरु केही नायिकाहरू पनि करिअर बनाउने दौडमा छन् । तर, परीक्षा सफलताको सिँढी चढिरहेकी मात्र छैनन्, फिल्मी बजारमा आफ्नो फरक स्थान बनाउन लागिरहेकी छिन् ।