तीन सय वर्षअघिको क्वारेन्टिन 

प्याट्रिक वालिस     २१ वैशाख २०७८, मङ्गलबार
तीन सय वर्षअघिको क्वारेन्टिन 

 अन्य गाउँलाई महामारीबाट बचाउन साढे तीन सय वर्षअघि इयामका गाउँलेले ठूलो त्याग गरे । उनीहरूले आफूलाई संसारबाट अलग्गै राखे ।


डर्बिसायरका साना गाउँबारे विरलै अन्तर्राष्ट्रिय समाचार बन्छ । तर, ३ सय ५० वर्षअघिको प्लेगका समयमा यहाँको एउटा गाउँ इयामले प्रदर्शन गरेको व्यवहारलाई अहिले कोरोना भाइरस महामारी रोकथामका समयमा समेत उदाहरण मानिएको छ । सन् १६६६ मा इयाममा प्लेग सुरु भएपछि यो गाउँले छिमेकी समुदायबाट आफूलाई पूर्णतः अलग्याएको थियो । यसरी ‘आइसोलेसन’मा जाँदा गाउँका थुप्रैको ज्यान गयो । तैपनि, सो क्षेत्रमा महामारी फैलिन भने दिएन । 

त्यसबेला इयामले आफैँ लगाएको क्वारेन्टिन र आजको सोसल आइसोलेसनबीच रहेको समानताबारे ‘वासिङ्टन पोस्ट’, ‘फ्रान्स २४’ र ‘क्यानेडियन टीभी’मा सामग्री प्रकाशित÷प्रसारित भए । बेलायतका राजकवि साइमन आर्मिटेजले कोरोना प्रकोप सुरु भएपछि इयाम गाउँको सम्झना गर्दै कविता लेखे । महामारीको सामना गर्दा एक समुदायका रूपमा हामी कति उपलब्धि हासिल गर्न सक्छौँ भन्ने इयामको उदाहरणले प्रस्ट पार्छ । के हामी अझै इयामका गाउँलेको निःस्वार्थ भावनासँग दाँजिन सक्छौँ ? कि हामीले आफ्नो नैतिकता र आदर गुमाइसक्यौँ ?

इयामको वास्तविक कथा आजभोलिका समाचारमा प्रस्तुत भएका वा इतिहासका अनेकौँ पुस्तकमा दोहो¥याएजस्तो वीरतापूर्ण कहानीभन्दा फरक छ । इयाममा सन् १६६५ मा प्लेग पुग्नुअघि नै लन्डन तथा अन्य कयौँ शहरमा यसले विध्वंस मच्चाइसकेको थियो । लन्डन महानगरको २० प्रतिशत जनसंख्या अर्थात् ५० हजारको ज्यान गएको थियो । बेलायतमा यसको जोखिम कति भयानक थियो भन्नेमा कसैलाई कुनै शंका थिएन । त्यसमाथि १३४८ को ‘ब्ल्याक डेथ’समेतको अनुभवका कारण महामारीलाई रोक्न बिरामीलाई स्वस्थ मानिसबाट अलग गराउनुपर्छ भन्ने स्पष्ट थियो । अहिले कोरोनाविरुद्ध प्रयोग गरिएको क्वारेन्टिनका नियम, आइसोलेसनजस्ता विधि त्यही अवधिको विरासत हो । 

तथापि, इयामको कथा अरूभन्दा भिन्न छ । करिब ३ सय ३० बासिन्दा भएको यो एकदमै सानो गाउँ थियो । सन् १६६६ को नोभेम्बरमा प्लेग थामिँदासम्म तीमध्ये २ सय ५९ जनाको ज्यान गइसकेको थियो । पूरै परिवार मरेपछि घरहरू रित्तै भएका थिए । गाउँलेले अन्य स्थानमा प्लेग नसरोस् भने गाउँ नछोड्ने निर्णय गरे । तर, त्यसको भयंकर मूल्य उनीहरूले तिर्नुप¥यो । ‘हाम्रो गाउँ खप्परैखप्परले भरिएको थियो,’ गाउँका पादरी विलियम मम्पेसनले लेखेका छन् ।
बेलायतमा हामी क्वारेन्टिनबारे घर–घरको तहमा मात्र सोच्छौँ, जहाँ ढोकामा किला ठोकिएको हुन्छ र डेनियल डिफोले आफ्नो प्रसिद्ध ‘अ जर्नल अफ द प्लेग इयर’ (सन् १७२२) मा बताएजस्तै भित्तामा रातो क्रस कोरिएको हुन्छ । तर, त्यसबेला ठूलठूला बस्तीले अरूसँग सम्पर्कविच्छेद गरेका थिए । सन् १७२२ मा फेरि प्लेगको जोखिम देखिँदा त्यसबेलाका प्रसिद्ध चिकित्सक रिचार्ड मिडले इयाममा जस्तै आइसोलेसन अपनाउनुपर्ने सुझाएका थिए । 

इयामको क्वारेन्टिनकालीन इतिहास खोतल्दा लाश मात्र भेटिँदैन । यहाँको एउटा प्रेमकथा पनि अमर छ । इयामकी एमट र छिमेकी गाउँ मिडलटन डेलका रल्यान्डबीच गहिरो प्रेम थियो । उनीहरू हरेक दिन एकअर्कालाई हेर्न दुई गाउँको सीमासम्म आउँथे । तर, एक दिन एमट आइनन् । प्रेमवियोगमा छटपटाएका रल्यान्ड गाउँको सीमासम्म प्रत्येक दिन आइरहे । क्वारेन्टिन सकिएपछि मात्रै उनलाई थाहा भयो, उनकी प्रेमिका महिनौँअघि बितिसकेकी रहिछन् । अन्य गाउँलाई महामारीबाट बचाउन गाउँलेहरूले भयंकर त्याग गरे । उनीहरू गाउँबाहिरबाट किनेको खानाबाट सास अल्झाउँथे । सीमामा राखिएको ढुंगामा बनाइएको एउटा खोपिल्डोमा अमिलो राखिएको थियो । रोग नसरोस् भनेर सामान किन्दा उनीहरूत्यही अमिलोमा सिक्का डुबाएर छाडिदिन्थे । गाउँका अगुवा पादरी मम्पेसनले प्लेगमा पत्नी क्याथरिनलाई गुमाएका थिए । तैपनि, उनले आफ्ना मानिसलाई सम्हाल्न छोडेनन् । चर्चमा होइन चौरमा उनी गाउँलेहरूलाई प्रार्थना गराउँथे । 

तर, यो रंगिन इतिहासमा त्यसबेलाका अनेकौँ घटना गायब छन् । खासमा इतिहासभन्दा बढी कहानी हुन् ती । जसको मुख्य दाबी छ– यो गाउँले अरूलाई बचाउन आफूलाई वीरतापूर्वक बलिदान ग¥यो । हो, इयाम क्वारेन्टिनमा बसेकोमा कुनै सन्देह छैन । तर, आफूखुशी अरूका लागि गाउँलेले एकान्तवास रोजेको दाबीको सुरुवाती स्रोतहरूमा कुनै आधार भेटिन्न। त्यसैले आत्मबलिदान मिथक मात्र हो । 
मम्पेसनका पात्रसहित कुनै पनि सुरुवाती स्रोतमा यो गाउँले आफैँ क्वारेन्टिन रोजेको उल्लेख छैन । बरु, आइसोलेसन सफल हुन्छ र नेतृत्वले त्यसको माग गरेको छ भन्ने चर्चा भेटिन्छ । त्यो समयको आँखाले हेर्दा यो कुरा बिलकुल स्वाभाविक हो । सन् १६६० को दशकमा क्वारेन्टिन जनस्वास्थ्यको स्थापित विधि बनिसकेको थियो, तर त्यो राज्यले लागू गर्नुपथ्र्यो, जनता आफैँले होइन । 

इयामको कथा १८ औँ शताब्दीकी कवियत्री आना सेवार्डको परिकल्पना हो । उनले प्लेगसम्बन्धी १७६५ मा लेखेका पत्रहरू ऐतिहासिक उपन्यासकार वाल्टर स्कटको सम्पादनमा प्रकाशित भएका थिए । सेवार्ड पनि गाउँकी एक पादरीकी छोरी थिइन्, जो मम्पेसनका चिठीबाट अत्यन्तै प्रभावित भएकी थिइन् । त्यसमाथि पनि इयामको कथाको धेरै विवरण त घटनाको दुई सय वर्षपछि लेखिए । स्थानीय इतिहासकार तथा कर संकलक विलियम वुडले १८४२ मा एक लोकप्रिय पुस्तक प्रकाशित गरे,  जसको नाम थियो, ‘द हिस्ट्री एन्ड एन्टिक्विटिज अफ इयाम’ । उनलाई समेत यी कहानीहरूमा केही शंका लागेको थियो । त्यसैले त्यसपछिका संस्करणमा पुस्तकको नाममा ‘लेजेन्ड्स अफ प्लेग’ थपियो ।

लोक–परिकल्पनामा इयामको स्थान सुरक्षित गर्न वुडको लेखनले सहयोग ग¥यो। १९३४ मा आयोजना गरिएको स्मृतिसभामा १० हजारभन्दा बढी मानिस सामेल भए। १९५१ मा फेस्टिभल अफ ब्रिटेन आयोजना हुँदासम्म यो गाउँ बेलायती इतिहासको उच्च स्थानमा पुगिसकेको थियो । प्लेगमा मारिएका मानिसहरूको नाम इयामका घरैपिच्छे भित्तामा लेख्न थालिएको थियो । तथापि, ती मानिस सोही घरमा बसेका थिए भन्ने कुनै प्रमाण छैन । अहिले इयाममा एक हजार मानिस बस्छन् । जहाँ वर्षैपिच्छे दशौँ हजार पर्यटक आउँछन् । र, स्थानीयले तिर्खाएका पर्यटकलाई ‘बुबोनिक अरेन्ज’, ‘क्वारेन्टिन’ र ‘ब्ल्याक डेथ’ नामक पेय पदार्थ टक्य्राउँछन् । 

प्लेगका दौरान इयामका मानिस गाउँ छोडेर भागेको प्रमाण पनि भेटिएको छ । मृतक धेरैजसो गरिब परिवारका थिए । त्यसैले भाग्न सक्ने सम्पन्न परिवार क्वारेन्टिन लागू हुनुपूर्व नै भागेको देखिन्छ । मम्पेसनले आफ्ना छोराछोरी योर्कसायरमा रहेका काकाको घरमा पठाएका थिए । क्वारेन्टिन लागू भएपछि त्यहाँबाट कसैलाई बाहिर जान नदिन चौकीदार नै खटाइएको थियो । 
इयामका बासिन्दा स्वेच्छाले आइसोलेसनमा बसेका थिएनन् भने के उनीहरूको बहादुरी कम होला ? अहँ, सिमानाबाट कसैलाई बाहिर जान नदिन चौकीदार खटिएको भए पनि उनीहरूको वीरता सानो थिएन। क्वारेन्टिन पालना गर्न हरेक दिन हजारौँ वीरताको आवश्यक पथ्र्यो । यी पनि वीरताका अलि फरक स्वरूप हुन् । त्यसका लागि कम आँटले पुग्दैन । 

प्रतिबन्ध पालना गरेर निश्चित सीमाभित्र बस्न ती गाउँलेलाई कठिन भएको भए, अथवा क्वारेन्टिन पालना गराउन बलप्रयोगको चेतावनी दिनुपरेको भए, त्यो अहिले हामीले कसरी व्यवहार गर्ने भन्नेबारे अझ यथार्थपरक मार्गनिर्देश हुनसक्थ्यो । धेरैका भलाइका लागि काम गर्न आवश्यक पर्ने सबै अनुशासन आफैँले जुटाउन कठिन हुन्छ। इयामका गाउँलेले जुन किसिमको जोखिम मोले, कोभिड–१९ का कारण हामी केही हदसम्म त्यस्तै खतरामा छौँ । त्यसैले हामीले एकअर्कासँग धेरै अपेक्षा गर्नु हुँदैन। प्रभावकारी क्वारेन्टिनका लागि बाह्य र आन्तरिक दुवै शक्ति आवश्यक पर्छन् । सरकारी कामको विकल्प व्यक्तिगत पराक्रम हुन सक्दैन । यतिबेला हामीलाई दुवै आवश्यक छन् । 

–‘दी इकोनोमिस्ट’बाट । प्याट्रिक वालिस लन्डन स्कुल अफ इकोनोमिक्सको अर्थशास्त्रको इतिहास विषयका प्राध्यापक हुन् ।
 

प्रतिक्रिया