पाल्पाकी २१ वर्षिया सदिक्षा खनालले आईसी कलेजबाट फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् । उनी १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी हुन् । उनी मिस पाल्पा टाइटल वीनर पनि हुन् । उनले मिस नेपाल टिन प्रतियोगितामा पनि भाग लिएकी थिइन् । ब्युटी प्याजेन्टमा भाग लिँदै आएपनि रनवे मोडलिङमा चाहीँ पहिलो पटक भाग लिएको सदिक्षा बताउँछिन् ।

‘मोडल हन्ट प्रतियोगिता एकदमै जेन्युन भएको र रनवे मोडलिङका लागि सबैभन्दा उपयुक्त प्लेटफर्म हो, सदिक्षा भन्छिन्, ‘आफूलाई मोडलिङमा अघि बढाउने सोचिरहेकाहरूका लागि मोडल हन्ट एकमात्र विकल्प हो ।’ यो कार्यक्रममा भाग लिनेहरूले यहाँ सिकेको नलेज आफूमा लागू गर्न सक्ने हो भने भविष्य उज्वल हुने उनको दाबी छ ।

‘म ब्युटी प्याजेन्टमा भाग लिएर आएपनि मलाई रनवेमा वाक गर्न आउँदैनथ्यो । ब्युटी प्याजेन्टमा प्रश्न उत्तरलाई फोकस गरेर ट्रेनिङ दिइन्छ, खनाल भन्छिन्, ‘यो प्रतियोगितामा समग्र व्यक्तित्व विकास सम्बन्धी ट्रेनिङ दिने भएकाले एउटा प्रोफेसनल मोडलमा हुनेपर्ने सम्पूर्ण दक्षता सिक्न अवसर प्राप्त भयो ।’

मोडलिङमै करिअर बनाउन यो प्रतियोगिता भाग लिएको उनी बताउँछिन् । मोडलिङ भनेको एक किसिमको आर्ट हो । यसको माध्यमबाट विभिन्न प्रडक्टलाई आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । मोडलिङले व्यक्तित्वमा निखार ल्याउन मद्दत गर्ने उनी बताउँछिन् । सदिक्षा तेक्वान्दोको राष्ट्रिय खेलाडी पनि हुन् । उनले विभिन्न प्रतियोगितामा मेडल जितेकी छिन् ।

