वातावरण सुन्दरी प्रतियोगिता मिस अर्थ २०२४ अन्तर्गत ‘अपसाइक्लिङ फेसन शो’ आयोजना गरिएको छ । खेर गएका सामग्रीको पुनःप्रयोगमार्फत तयार पारिएका आकर्षक र वातावरणमैत्री पहिरनलाई लिएर प्रतिस्पर्धा गरिएको थियो । जसमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी थिइन् । सुमनाले पहिरिएको पहिरन इको–फ्रेन्ड्ली र नयाँ डिजाइन रहेको निर्णायकले बताएका थिए । यस प्रतिस्पर्धामा मौरिससले स्वर्ण पदक र नेदरल्याण्ड्सले काँस्य पदक जिते ।
‘यी डेलिगेट्सले दिगो फेसनको सुन्दरतालाई हाइलाइट गर्दै, खेर गएका सामग्रीलाई आश्चर्यजनक सिर्जनामा रूपान्तरण गरे । यी प्रेरणादायी पर्यावरणमैत्री डिजाइन आकर्षक पनि छन्’ विजेता घोषणा गर्दै मिस अर्थले भनेको छ । समुन्द्रमा प्लास्टिक प्रदूषणबारे नेपालले डिजाइन तयार पारेको थियो । यो पहिरनको उपल्लो भाग टेबलमा बिच्छयाउन प्रयोग हुने टेबलक्लोथको प्रयोग गरिएको छ । तल्लो भागलाई पोलिथिन प्लास्टिकले तयार पारिएको छ जसले समुन्द्रमा हुने प्रदूषित फोका झल्काउने जनाइएको छ ।






















