संसारभरिका सनातन हिन्दूहरूको महान् पर्व बडादशैँ, विजयादशमी, दशैँ आदि नामले प्रसिद्ध छ । नवदुर्गाको उपासना गरी जीवनमा सुख, शान्ति, समृद्धि, उन्नति प्राप्तिको महत्वपूर्ण पर्व नवरात्र पर्व हो । हामी नेपालीहरू शक्ति साधनाका अनुयायी र उपासक भएको हुनाले शक्ति प्राप्तिका लागि दैवीय शक्तिको उपासना महत्वपूर्ण मानिन्छ ।
दशैँमा आरोग्यको लागि गहुँ र जौ मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्र, फूलपाती भित्र्याउनु, दशैँको टीका लाउनु, एक दिन भए पनि धर्ती छोड्नु, पिङ खेल्नु, चंगा उडाउनु, शक्तिपीठको दर्शन गर्नु, मान्यजनबाट टीका थाप्नु, आशीर्वाद लिनु, मिठो–मसिनु खानु, नयाँ वस्त्र लगाउनु, देवीको दर्शन गरी पूजा, आरधना गर्नु, फूलपातीलाई बाजा–गाजासहित दशैँ घरमा प्रवेश गराउनु, सात्विक भोजन गर्नु, खिचडी, कुभिन्डो, नरिवल आदिको बलि दिनु परम्पराअनुसार बलि चढाउनुजस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको बुझिन्छ । नवदुर्गा उपासनाले दैविक साक्षात्कार गराउनमा सहयोग पुग्दछ ।
सबै देवताहरूको एकीकृत शक्ति नै नवदुर्गा भवानी हुन् । जगत्जननी दुर्गा विभिन्न परिस्थितिमा अनेकौँ रूपमा अवतरित भएर मानवजगत र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ । नवदुर्गा भवानीले महिषासुर रक्तबीज, चण्डमुण्डप्रचण्डको वध गरी दानवीय शक्तिको नाश गरेर जगत्कल्याण गरेको शास्त्रहरूमा उल्लेख छ । वैदिक सनातन धर्मावलम्बीहरूले नवरात्रअन्तर्गत घटनास्थापनाको दिन दीप, कलश, गणेश र स्थापना गरी जमरा राखेर दशैँको पूजा विधिवत् आरम्भ हुन्छ । देवीको पूजनपश्चात् पूजाआरती गरी नैवेद्य अर्पण गरिन्छ । घटस्थापनाको दिन गहुँ, जौ र धान मिसाएर (सप्तधान्य पनि लिन सकिन्छ) जयन्ती मंगला काली...मन्त्रले जमरा राख्नुपर्छ । द्वितीया तथा प्रतिपदाको दिन जसरी नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्दछ ।
यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको समयमा गीत वाद्यादी गरेर बिल्व वृक्षमा देवीबोधन गर्नुपर्छ, बिल्व निमन्त्रण गर्नुपर्छ । बेलको हाँगामा तेल र हर्दी लेपन गरेर मन्त्रसहित देवीको आह्वान गरिन्छ । सप्तमीको दिन पहिलेको जस्तै पूजापाठ, आरतीपछि बेलुकीको समयमा बेल वृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्छ । गीत वाद्यादी गर्दै फूलपातीलाई दशैँ घरमा प्रवेश गराउनुपर्छ । फूलपातीको दिन भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ ।
अष्टमीको दिन बिहान नित्य पूजा गरी नौबर्से कन्यालाई पूजा गर्नुपर्छ । पूजा गरिएकी कन्यालाई नैवेद्य भेटी आादि अर्पण गर्नुपर्छ । राति कालरात्रि देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन बाघको आह्वान, पूजन गर्नुपर्छ । गणेश, भैरव, चतुःषष्ठी योगिनीको पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ । रात्रि समयमा अग्नि स्थापना विधिले हवन गर्ने विधान रहेको छ ।
नवमीको दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार पूजा गरी १० वर्षीय कन्या ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्छ । नवमीको दिन नौ जना कन्या र दुई वटुक (गणेश र भैरव) को रूपमा पूजन गर्ने पद्धति पनि रहेको छ । मन्त्रसहित कुभिन्डो र नरिवलको बलि अर्पण गर्नुपर्छ । यही दिन अग्नि स्थापना विधिले विशेष रूपमा भगवतीको नाम मन्त्रले हवन गर्नुपर्छ । दशमीको दिन उत्तरांग पूजन गरी अपराजिता देवीको पूजा गर्नुपर्छ । आफ्ना इष्टदेवता, कुलदेवतालाई प्रसाद चढाएर आफ्ना मान्यजनबाट विजयादशमीको टीका–प्रसाद ग्रहण गर्नुपर्छ ।