‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न 

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न 


काठमाडौं–फेसनको बहुआयामिक पक्षहलाई कल्पना, सृजना र अभिव्यक्तिको भव्यतालाई कपडाको क्यानभासमा प्रस्तुत गर्दै ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न भएको छ । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन अन्तर्गत फेसन डिजाइनिङ विधामा छ महिनाको पढाई सम्पन्न गरेका एक सय २६ जना विद्यार्थी डिजाइनरहरूले आफ्नो सृजनाहरूलाई चार वटा विविध अवधारणामा प्रस्तुत गरेका थिए। 

आफूले तयार पारेको सृजनालाई स्वयं आफैंले मोडलको रुपमा र्‍याम्पमाथि क्याटवाक गर्दै आकर्षक रुपमा प्रदर्शन समेत गरेका थिए । राजधानी शहरको प्रज्ञा भवनको डबलीमा प्रस्तुत गरिएको प्रतिस्पर्धात्मक फेसनमय उक्त कार्यक्रममा पारामेट्रिक प्यालेस, मेगालफोबिक, क्यारिड अवे इन डेजाभु तथा माइथोलोजिकल गार्डेन गरी चार अवधारणामा समेटिएको थियो । सहभागी विद्यार्थी डिजाइनरहरू यीनै चार अवधारणा अन्तर्गत चार समूह विभाजित थिए ।

कार्यक्रममा पारामेट्रिक प्यालेस अवधारणामा जिज्ञासा श्रेष्ठ उत्कृष्ट छनौट भइन् भने मेगालफोबिक अवधारणामा खुश्बु सेवाको सृजना उत्कृष्ट ठहरियो । क्यारिड अवे इन डेजाभु अवधारणामा सिलु बज्राचार्यको सृजनाले विजेताको उपाधि चुम्न सफल भयो भने माइथोलोजिकल गार्डेन अवधारणामा अन्तर्गत इन्द्रावती क्षेत्रीको सृजना उपाधि विजेताको हकदार बन्यो । चारै जना विजेताले विविध गिफ्ट ह्याम्परका साथमा जनही रु १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतिस्पर्धात्मक यो कार्यक्रममा गायक उदय सोताङ, संचारकर्मी कृष्ण भट्टराई, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम पदम श्रेष्ठ, निशा श्रेष्ठ तथा गीता मिश्र निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमको कोरियोग्राफी तथा संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

कार्यक्रममा आईआईएफीबाट फेसन डिजाइनिङ कोर्ष पूरा गरेका ७६ जना विद्यार्थी डिजाइनरहरु ग्राजुएट भएका थिए । उनीहरुलाई लोकप्रिय फेसन डिजाइनर युबी थापाले ग्राजुएसन सर्टिफिकेट प्रदान गरेका थिए । आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम भएको र विद्यार्थी डिजाइनहरूको कक्षाकोठाको सिकाईलाई व्यवसायिक प्लेटफर्म दिंदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुसार यो कार्यक्रम आयोजना हुँदै आएको हो ।

प्रतिक्रिया