१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

राम्रो अनलाइन     ०५ जेठ २०८१, शनिबार
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

 

काठमाडौं– खोटाङको दिप्रुङचुइचम्पा गाउँपालिका(७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् ।

विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म नातिको सहारामा हिँडडुल गरे ।

अहिले उनको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।

दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भएका छन् । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनमा खुसीको सीमा छैन । ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ’, उनले खुसी हुँदै भने ।

आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए । ‘मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाइहरु सबै जना परमेश्वर हुनुहुन्छ’, सहरमानले भने ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

प्रतिक्रिया