अदालतले २० वर्ष कैद तोकेपछि फरार साह पक्राउ

राम्रो अनलाइन     १६ चैत २०७७, सोमबार

राजविराज । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए । पिसाब फेर्न भनी सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठीसमेतको प्रहारबाट दशरथ साहलाई कर्तव्य गरी मारेको प्रहरीको भनाइ छ ।

त्यसपछि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सप्तरी जिल्ला अदालतबाट विसं २०६५ चैत ११ गते, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ मङ्सिर १ गतेको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई २० वर्ष कैद ठहर भएको थियो ।
 

प्रतिक्रिया