काठमाडौँ–नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन्।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् ।
बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।
३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो । एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरु खाली थिए ।