काठमाडौ–आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर...’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उनको भनाइ छ । ‘मधेसमा होली पर्व विशेष रुपले लिइन्छ’, उनले भने।
होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबढाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेसको परम्परा छ ।
झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्छन्, ‘जोगिरा सररर... बोलको गीत मधेसमा निकै चर्चित छ ।
राधा–कृष्ण र शिव–पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उनले सुनाए । संस्कृतविद् धिरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मियता अधिक हुने गरेको बताए । ‘ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ’, उनी भन्छन्, ‘नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।’