संगीत मगर
ए जिन्दगी !
बुझ्दै छु मैले
आयु छुन्जेल
अन्धकारमा चम्किने तारा थाहै नपाई
दूरी आकाश–जमिनको
चुडिँएर झर्छ जब आयुबाट
झरिरहँदा पनि
पूरा गरेर झर्छ
इच्छा कसैको मनको
र, त प्रिय ऊ छ
आकाशमा हुँदा पनि
टुटेर झर्दा पनि
उदाउँछ हर दिन सूर्य
लिएर उही चमक
उही गति
उही उत्साह
गरेन उसले हिसाब
कि
उसको कति प्रकाश
बेकाम भयो
कति आयु बाँचेको होला
र, बाँच्नु कति छ अब
र, त
अनन्त अस्तित्वमा छ
त्यो आकाशमा
काटेर सिंगो जमिन
जब बग्यो नदी
उही नदी बाँडियो दुई किनारामा
र, कहिल्यै नभेटिने गरी
वारि–पारि भए
बाँडिन सक्यो एउटै जमिन दुई किनारामा
र, त
बगिरहन सक्यो नदी
नदी बगिरहन्छ
र, त सुन्दरता छ किनाराको
ए जिन्दगी !
बुझेको छु मैले
सीमान्तकृत सम्बन्धको सुन्दरता
सीमान्तकृत सुन्दरताको मूल्य अब
चोट लागे पनि तिमीलाई
म मलम बनिदिऊँ
निभ्नै लागे पनि म
तिमीलाई ज्योति दिन सकूँ
नबनाएर कैद तिमीलाई
यो शरीरभित्रै मात्र
तिमीलाई अमर बनाउन सकूँ
ए जिन्दगी!
मेरो आयुको धागो चुँडिएर झरे पनि
म किनारा बनूँ
तिमी
नदी बगिरहनू।