–बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले दोस्रो विश्वयुद्धताका मेकानिक भएर देशको सेवा गरेकी थिइन्। तत्कालीन राजकुमारी एलिजाबेथले ट्रकको मेकानिकका रूपमा काम गरेकी थिइन्। सन् १९४२ मा १८ वर्षीया उनी महिलाको सशस्त्र फौजमा भर्ना भएकी थिइन्। उनी इन्जिन मर्मत गर्थिन्, गाडीको पांग्रा फेर्थिन् र एम्बुलेन्स पनि चलाउँथिन्। पिता तथा तत्कालीन बेलायती राजा जर्ज छैटौँको असन्तुष्टिका विपरीत उनी सेनामा भर्ना भएकी थिइन्।
–सन् १९३६ मा अमेरिकाको न्युयोर्क शहरनिवासी इजाबेला गिल्बर्टले गालामा खोपिल्टो (डिम्पल) पार्ने ‘यन्त्र’ बनाएकी थिइन्, जसलाई उनले ‘डिम्पल मेकर’ नाम दिएकी थिइन्। गालामा खोपिल्टो पर्नु त्यतिबेला महिलाको सौन्दर्यको राम्रो मानक थियो। गिल्बर्टले बनाएको यन्त्र अनुहारमा लगाउनुपथ्र्याे। यसका दुई छेउले गालाका दुईपट्टि दबाब दिन्थे। यन्त्रको विज्ञापन छापिएको थियो, जसमा लेखिएको थियो– ‘डिम्पल मेसिनको निरन्तर प्रयोगले गालामा खोपिल्टो पर्नेछ।’ अमेरिकन मेडिकल एसोसिएसनले डिम्पल मेकर वाहियात यन्त्र भएको बताएको थियो। एसोसिएसनले यस तथाकथित यन्त्रले गालामा खोपिल्टा नपार्ने भन्दै बरु यसको लामो प्रयोगले क्यान्सर हुन सक्ने खतरा औँल्याएको थियो। यो यन्त्रलाई अमेरिकी महिलाले मन पराएनन्।
–अमेरिकाका छत्तीसौँ राष्ट्रपति लिन्डन बी जोन्सन असभ्य व्यवहार गर्ने राष्ट्रपतिका रूपमा कुख्यात थिए। उनी सार्वजनिक रूपमा अश्लील हर्कत गर्थे। अरूलाई प्यान्ट खोलेर लिंग देखाइदिनेसम्मको खराब व्यवहार प्रदर्शन गर्थे। भियतनामसँग अमेरिकाको युद्ध भइरहेको बेला उनलाई पत्रकार सम्मेलनमा एक जना पत्रकारले सोधे, ‘अमेरिका भियतनामसँग किन लडिरहेको छ ?’ जोन्सनले प्यान्टको जिपर खोले र लिंग देखाउँदै भने, ‘यही कारणले लडिरहेको छ।’ यस्ता अनेक व्यवहारका कारण उनी आलोचित थिए।