शिक्षाको नाउँमा भएको वैधानिक लुटबाट अभिभावकहरू लुटिन बाध्य भएको सत्य हो। तर, यो अर्धसत्य मात्र हो। मुख्य लुटको शिकार त विद्यार्थीहरू भइरहेका छन्। उनीहरूमाथि शिक्षाको नाउँमा जे गरिँदै छ, त्यो अत्याचारभन्दा कम छैन।
आँखामा पट्टी बाँधेकी महिलाले हातमा तराजु बोकेको तस्बिर वा मूर्ति देख्नेबित्तिकै सम्बन्धित मूर्ति वा विषय कानुनी क्षेत्रसँग सम्बन्धित हो भनेर ठम्याउन गाह्रो पर्दैन। आँखामा पट्टी बाँधिनुको अर्थ नियम–कानुन कोही कतैतर्फ नलागी निष्पक्ष हुन्छ भन्न खोजिएको हो। तर, काननुले भावना, मर्म र संवेगलाई आत्मसात् गर्न नसक्ने तथ्यलाई आधार बनाएर हिन्दी भाषामा ‘कानुन अन्धा है’ भन्ने लोकोक्ति खूब प्रचलित छ।
कानुनी राज्यलाई हामी मानव सभ्यताको उच्चतम उपलब्धिका रूपमा लिन्छौँ, जसले राज्य र समाजलाई व्यवस्थित बनाएको छ। एउटा
पद्धतिसहित जीवनशैली अगाडि बढेको छ। हरेकले आफूमाथि भएका अपमान, अपराध र शोषण अन्त्यका लागि सहज मार्ग वा उपचार खोज्ने अवस्थाको सुनिश्चितता दिएको छ। तर, यसो भनिरहँदा के कानुनी राज्यले सबै अपराधीलाई दण्डित गर्न सकेको छ? अथवा, निर्दाेषलाई पुरस्कृत र अपराधीलाई दण्डित गर्ने अवस्थालाई कानुनी राज्यले पूर्ण प्रत्याभूति गर्न सकेको छ? पक्कै पनि छैन।
झट्ट हेर्दा कानुनले अपराधीलाई दण्डित गरेको देखिन्छ। हत्या, बलात्कार वा कुनै पनि अपराधमा अपराधी करार भइसकेको व्यक्ति प्रचलित कानुनी व्यवस्थाअनुसार दण्डित हुन्छ नै। यहाँ अपराधी करार भइसकेको मानिसलाई त कानुनले दण्डित गर्छ तर अपराधीलाई अपराधीको पहिचान दिन भने हाम्रो कानुनी व्यवस्था शतप्रतिशत असफल छ भन्न सकिन्छ। उदाहरणका लागि, राजनीति गर्ने नेता, कर्मचारी वा कुनै न कुनै क्षेत्रबाट शक्ति र सामथ्र्य आर्जन गरेका मानिसले कानुनविपरीत कति कार्य गरेका होलान्?
उनीहरूले गरेको धनआर्जन कानुनसम्मत छ त? हामी अधिकांश जनता उनीहरूले गरेका धेरै कार्य कानुन र विधि–विधानसम्मत छैनन् भन्नेमा सहमत छौँ। तर, कानुनले उनीहरूलाई दोषी करार गर्न सक्दैन। यसको अर्थ कानुनी राज्य केही होइन वा नियम–कानुनले केही गर्न सक्दैन भन्न खोजिएको होइन। मात्र के हो भने काननुले ‘वैधानिक लुट’लाई अपराधका रूपमा दर्ज गर्न सक्दैन। आज संसार अवैधानिक कार्यले भन्दा वैधानिक लुटले त्रस्त छ। व्यापार, व्यवसायलगायत अनेकौँ चक्रव्यूहभित्र रहेको वैधानिक लुट आजको मुख्य चुनौती हो।
वैधानिक लुट
आज नेपालमा शिक्षाको नाममा जे भइरहेको छ, आज स्वास्थ्यमा जसरी व्यापारीकरण भइरहेको छ? त्यो ठीक छ? त्यो न्यायसम्मत छ? त्यो विवेकसम्मत छ? पक्कै पनि छैन। अलिकति होश राख्ने मानिसले शिक्षा र स्वास्थ्यमा भइरहेका कर्मलाई लुटको खेती नै भन्न सक्छ। तर, यसरी भइरहेको लुटको खेतीलाई काननुले किन नियन्त्रण गर्न नसकेको होला? यस्तो लुटको खेती गर्नेहरू किन दण्डित हुन नसकेका होलान्?
यसको जवाफका लागि धेरै घोत्लिनै पर्दैन। यस्ता लुट वैधानिक छन्। लुटको खेती गर्नेले नियम–कानुन र विधि–विधानकै अनुसरण गरेका छन्। उनीहरूको लुट मानिसको मनले ठम्याउँछ। मानिसको आँखाले देख्छ। तर, कानुनको आँखाले देख्दैन।
शिक्षामा भइहरेको निजीकरणको विषयमा बेलाबेलामा प्रश्न उठ्ने गर्छ। विशेष गरी, विद्यार्थी भर्नाको समयमा भर्ना शुल्कलगायत विषयलाई लिएर शैक्षिक निजीकरणको सन्दर्भ सतहमा आउँछ। केही मानिस ‘शिक्षा महँगो भो, सामान्य मानिसको पहुँचमा भएन’ भनेर आवाज उठाइरहेका छन्।
शिक्षाको नाउँमा भएको वैधानिक लुटबाट अभिभावकहरू लुटिन बाध्य भएको सत्य हो। तर, यो अर्धसत्य मात्र हो। मुख्य लुटको शिकार त विद्यार्थीहरू भइरहेका छन्। उनीहरूमाथि शिक्षाको नाउँमा जे गरिँदै छ, त्यो अत्याचारभन्दा कम छैन। अपराधभन्दा कम छैन। जीवनमा कहिल्यै काममा नआउने सूत्र घोक्न बाध्य पार्नु, जीवनका लागि नभएर नम्बर ल्याउनका लागि पढ्न प्रेरित गर्नु कुनै अपराधभन्दा कम छ र? दशौँ वर्ष लगाएर पढेको कुराको पाँच–सात प्रतिशत मात्र जीवनमा काम लाग्छ भने त्यो कुनै अन्यायभन्दा कम हुन्छ र? तर, यी सबै सन्दर्भमा हाम्रा कानुन काम नलाग्ने छन्। हाम्रा नियम भुत्ते छन्। त्यसैले हिन्दी भाषामा ‘कानुन अन्धा है’ भनिएको होला।
चाल्र्स ब्रोन्सनको जीवन कथा
एकातर्फ कानुनी राज्यकै आवरणमा वैधानिक लुट भइरहेको छ र उक्त लुटबाट अधिकांंश नागरिक पीडित छन् भने अर्कातर्फ त्यही वैधानिक लुटलाई कसैले विरोध गर्यो, अटेर गर्यो वा उक्त लुट स्विकार्दिनँ भन्यो भने सम्बन्धित व्यक्ति कानुनको सहारामा अपराधी करार हुनुपर्ने अवस्था छ। यसरी हेर्दा हामीले भनिरहेको कानुनी राज्यका कतिपय सन्दर्भ र अवस्थामा दण्डित हुनुपर्ने अपराधी सार्वजनिक स्थलमा पुरस्कृत भइरहेको छ भने देश र राज्यका लागि काम लाग्ने मानिस जेलमा कोचिन बाध्य छ।
‘सोलिटरी फिटनेस’ नामक चर्चित पुस्तकका लेखक चाल्र्स ब्रोन्सन खुंखार अपराधीका रूपमा बेलायतको एक जेलमा सजाय भुक्तान गरिरहेका छन्। उनको जीवनी रोचक मात्र छैन, सोचनीय र प्रेरणादायीसमेत छ। ब्रोन्सनको जेलजीवनले वर्तमान सभ्यतालाई नै खिस्याइरहेको प्रतीत हुन्छ।
तेह्र वर्षको उमेरसम्म ब्रोन्सन सामान्य बालक थिए। तत्पश्चात् उनी अपराधको दुनियाँमा प्रवेश गरे। सामान्य चोरीबाट सुरु भएको उनको अपराध बिस्तारै बढ्दै गयो। उनले हतियार बोकेर लुटपाटसमेत गर्न थालेपछि उनी ठूलै अपराधीका रूपमा दर्ज हुन थाले। यिनै अपराधले उनलाई जेलसम्म पुर्यायो। जेलमा पनि उनको अपराधी मानसिकता सुध्रिएन। जेलमा रहेका अन्य कैदीलाई मरणासन्न हुने गरी पिट्न थाले। उनलाई जेल सरुवा गरियो। तैपनि, उनी सुध्रिएनन्। बरु सुरक्षा गार्डहरूलाई नै पिट्न थाले।
उनको अगाडि जो पथ्र्याे, उसलाई उनी जेले पायो त्यसैले बजाइहाल्थे। उनलाई मानसिक अस्पातलसमेत लगियो। त्यहाँ उनले डाक्टरहरूलाई पिटिदिए। त्यसपछि जेलमा उनलाई छुट्टै राखियो। राखेको कोठा नै भत्काइदिए। सुरुमा सात वर्षको कारावास सजाय तोकिएर जेल गएका ब्रोन्सन जेलभित्र नै गरेका अपराधका कारण आजन्म कारावाससम्म पुगे। रोचक त के छ भने ब्रोन्सनको हातबाट आजसम्म कोही मारिएका छैनन्। तर, पनि उनी आजन्म कारावास भोग्न बाध्य छन्।
ब्रोन्सनबाट आजित भएपछि उनलाई जेलभित्रको सेल (गोलघर) मा राखियो। उक्त सेल सुत्न र हात तत्काउन मात्रै मिल्ने साह्र्रै सानो कोठा थियो। त्यही सेलमा राखेपछि ब्रोन्सनको जीवनीले अर्काे कोल्टे फेर्छ। त्यही सेलको बसाइले एक अपराधी विश्वख्यिात मानिस बन्न पुग्छ। सेलको साँघुरो ठाउँमा ब्रोन्सन पुसअप गर्न थाल्छन्। उनको व्यायाम यति मजबुत बनिदिन्छ कि उनले गिनिज बुक अफ वल्र्ड रेकड्र्समा नाम लेखाएर आफूलाई विश्वचर्चित बनाउँछन्।
अत्यन्त साँघुरो र एकान्त ठाउँमा आफूले गरेको व्यायामको अनुभवका आधारमा ब्रोन्सन ‘सोलिटरी फिटनेस’ भन्ने किताब लेख्छन्। उनको किताब बेस्ट सेलर बन्न पुग्छ। किनकि, शहरी जीवनमा बाँचिरहेका अधिकांश मानिस ठाउँ नभएको कारण आफूले व्यायाम गर्न नसेको गुनासो गर्छन्। जसलाई ब्रोन्सनको ‘सोलिटरी फिटनेस’ले राम्ररी सम्बोधन गरेको छ।
करोडौँ प्रति बिक्री भएपछि ‘सोलिटरी फिटनेस’ मार्फत ब्रोन्सनले करोडौँ डलर रोयल्टी प्राप्त गर्छन्। आफूले प्राप्त गरेको रोयल्टी उनले एक पैसो पनि नलिएर दान गरिदिन्छन्। त्यसै गरी, उनी जेलभित्र पेन्टिङ गर्न थाल्छन्। उनको पेन्टिङको लन्डनमा प्रदर्शनी आयोजना गरिन्छ। जसमार्फत आएको रकम पनि उनले समाजसेवामा नै खर्च गरिदिएका छन्।
ब्रोन्सनले कैयौँ सामाजिक सेवासँग सम्बन्धित पुरस्कार र सम्मान पाएका छन्। अपाराधीका रूपमा जेल जीवन बिताइरहेको व्यक्तिको सत्कर्मलाई आधार बनाएर हलिउडले सिनेमा नै निर्माण गरिसकेको छ। अब यहाँ ब्रोन्सन असल हुन् कि खराब मान्छे हुन् भन्ने प्रश्न उठ्छ। खराब भनौँ भने उनले करोडौँ डलर समाजका लागि दान दिएका छन्। जसले हजारौँ मानिसको जीवनलाई सहज बनाएको छ। असल भनौँ भने उनी अपराधीका रूपमा जेल भुक्तान गरिरहेका छन्।
समग्र मानव जातिलाई नै योगदान दिन सकेका ब्रोन्सन पक्कै पनि असल मानिस हुन्। खराब त हाम्रो कानुनी प्रणाली हो। जसले ब्रोन्सनजस्तो मानिसलाई आम मानिसको जीवनमा प्रवेश गराउन सकिरहेको छैन। परिवर्तित वा रूपान्तरित ब्रोन्सनलाई बेलायतको कानुनले परिवर्तित नै देख्न सकिरहेको छैन। उही पुरानो ब्रोन्सनका रूपमा मात्र व्यवहार गरिरहेको छ।
उनको जीवनी अध्ययन गर्दा थाहा पाइन्छ, उनी १३ वर्षको उमेरमा बस्दै आएको ठाउँबाट बसाइँ सरेर अर्काे शहरमा गएर बस्न थाल्छन्। उनलाई समयबाट वैधानिक लुटको अनुभव हुन थाल्छ र उनी बिस्तारै विद्रोही बन्न थाल्छन्। त्यही विद्रोही ऊर्जाले उनी अपराधको दुनियाँमा प्रवेश गर्छन् र अपराधी बन्छन्। गुण्डा बन्ने मानिस मन्त्री र मन्त्री बन्नुपर्ने मानिस बाध्य भएर गुण्डा बन्नुपरेको वस्तुस्थिति अर्थात्, चारैतिर देखिएको वैधानिक लुटपाटको दृश्यले ब्रोन्सनको ऊर्जा ध्वंसात्मक कार्यतर्फ अग्रसर बन्न पुग्छ।
ब्रोन्सनले आफ्नो रिस अरूसँग पोखेर जीवनको लामो समय बिताए। उनलाई सेलमा बसाइएपछि अरूसँग रिस पोख्ने वातावरण मिलेन। अनि, उनी सकारात्मक कार्यतर्फ अग्रसर भए। अर्थात्, उनलाई वातावरणले सकारात्मक हुन बाध्य बनायो।
हामीले वा हाम्रा विधि–विधानले ठीक–बेठीक वा न्याय–अन्याय भनेर निक्र्योल निकाल्दैमा प्रयोगमा ल्याएका सवै पद्धतिहरू ठीक छन् भन्न सकिँदैन। यस्ता विषयमा विमर्श र आवश्यक सकारात्मक विद्रोह गर्न सके मात्र समाज उन्नतितर्फ अग्रसर हुन सक्छ।
manokranticentre@gmail.com