भारतमा अझै टुंगिएन फिफा विश्वकप २०२६ प्रसारण अधिकार

राम्रो अनलाइन     ०५ जेठ २०८३, मङ्गलबार
भारतमा अझै टुंगिएन फिफा विश्वकप २०२६ प्रसारण अधिकार

काठमाडौं– फिफा विश्वकप २०२६ सुरु हुन अब केही सातामात्र बाँकी रहँदा भारतमा प्रतियोगिताको प्रसारण अधिकार अझै टुंगो लाग्न सकेको छैन । समाचार संस्था रोयटर्सका अनुसार फिफाको मिडिया अधिकार अधिकारीहरू यसै साता भारत भ्रमणमा रहेका छन् ।

प्रसारण अधिकारको मूल्यलाई लिएर फिफा र भारतीय मिडिया कम्पनीहरूबीच सहमति नजुट्दा करोडौँ फुटबल समर्थक विश्वकप प्रत्यक्ष हेर्नबाट वञ्चित हुने सम्भावना बढेको बताइएको छ ।

भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी रिलायन्स–डिज्नी संयुक्त उद्यमले विश्वकप प्रसारण अधिकारका लागि गरेको प्रस्ताव फिफाले अस्वीकार गरेको थियो । त्यस्तै, फिफाले गरेको माग उनीहरूले अस्वीकार गर्दा सम्झौता हुन नसकेको रोयटर्सले जनाएको छ ।

यसैबीच, अर्को प्रमुख मिडिया कम्पनी सोनीले पनि अधिकार खरिद प्रक्रियामा खास रुचि नदेखाएको बताइएको छ । फिफा र भारतीय पक्षबीच वार्ता जारी रहे पनि औपचारिक सहमति भने अझै हुन सकेको छैन ।

फिफाले विश्वका १८० भन्दा बढी क्षेत्रमा प्रसारण सम्झौता सम्पन्न भइसकेको जानकारी दिँदै भारतसम्बन्धी छलफल गोपनीय चरणमा रहेको जनाएको छ ।

विश्वकप आगामी जुन ११ देखि सुरु हुँदै छ। सम्झौता ढिलो हुँदा प्रसारण पूर्वाधार निर्माण, विज्ञापन व्यवस्थापन तथा डिजिटल प्लेटफर्म तयारीका लागि समय अभाव हुने देखिएको छ ।

क्रिकेट अत्यधिक लोकप्रिय रहेको भारतमा पनि फुटबल समर्थकको संख्या ठूलो रहेको छ । डेलोइट र गुगलको २०२४ को प्रतिवेदनअनुसार भारतमा करिब ८५ मिलियन फुटबल समर्थक रहेका छन् । २०२२ विश्वकपमा भारतले विश्वव्यापी टेलिभिजन दर्शकमध्ये २।९ प्रतिशत हिस्सा ओगटेको थियो ।

प्रतिक्रिया