विपद्बाट सुदूरपश्चिममा १९ को मृत्यु

राम्रो अनलाइन     ०३ कात्तिक २०७८, बुधबार
विपद्बाट सुदूरपश्चिममा १९ को मृत्यु


सुदूरपश्चिम– अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा बुधबार साँझसम्म १९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ उपलब्ध गराएको क्षतिको विवरणअनुसार बाढी, पहिरो, डुबानमा परी डोटीमा ११, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङ र कैलालीमा एकरएक जनाको मृत्यु भएको छ ।
 
यस्तै विपद्मा परी ११ जना घाइते भएका छन् । डोटीमा छ, डडेलधुरामा दुई बैतडीमा दुई र बझाङमा एक जना घाइते भएका छन् । विपद्मा परी मृत्यु हुनेमध्ये पछिल्लो पटक सनाखत हुनेमा डोटीमा ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव ढुङ्गेल छन् । यस्तै बझाङका ७३ वर्षीय धनराज जोशी र कैलालीका ८६ वर्षीय करविरे ढोलीको पनि मृत्यु भएको पुष्टि भएको छ । घाइते हुने थप व्यक्तिमा डोटीका रमेश लुहार, भीम लुहार, करी ढुङ्गेल, बैतडीका सरस्वती विष्ट, माया विष्ट र बझाङका पदमादेवि जोशी छन् ।
 
बझाङको थलरा गाउँपालिका–४ मा गएको पहिरामा पुरिएर बेपत्ता भएका २३ जनाको खोजीकार्य जारी छ । बेपत्ताको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएकोे छ ।नदीमा बगेर बेपत्ता भएका कैलालीका दुई र डोटीका एक जनाको खोजीकार्य भइरहेको छ । माछा मार्न कैलालीको कर्णाली नदीतर्फ गएर बेपत्ता भएका तीन जनाको आज सकुशल उद्धार गरिएको छ । पहिराका कारण बझाङमा १२, डोटीमा तीन र डडेलधुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ । पहिराका कारण अवरुद्ध भएका विभिन्न सडकको पहिरो पञ्छाइ यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
 
विपद्सँगै प्रदेशका पहाडी कतिपय जिल्लामा अवरुद्ध बनेको फोन र इन्टरनेट सेवा आजदेखि आंशिकरुपमा सञ्चालन भएको छ । यता कैलालीको कर्णाली र मोहना नदीमा आएको बाढी डुबानमा परेका टीकापुर नगरपालिका–५ र ८ नं वडाका ८० घरका सदस्यलाई सकुशल नजिकको स्कुलमा सारिएको छ । कर्णाली र महाकाली नदीमा मङ्गलबार बढेको पानीको बहाव आज केही घटेको छ ।
 
कैलालीको ठूलीगाड नदीको दोभानमा दुई दिनदेखि फसेका दुई जना वर्षा रोकिएसँगै सुरक्षित रहेको जनाइएको छ । उक्त स्थानमा उद्धारका लागि आज गएको नेपाली सेनाको हेलिकप्टर उद्धार गर्नु नपर्ने भएपछि फिर्ता भएको थियो । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । आज वर्षा रोकिएपछि अपराह्नबाट घाम लागेको थियो ।

प्रतिक्रिया