‘विज्ञापनको पछि लाग्दा कुरूप भइएला’ 

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     ०२ माघ २०७७, शुक्रबार
‘विज्ञापनको पछि लाग्दा कुरूप भइएला’ 

उपचारका क्रममा विभिन्न केस भेटिन्छन् । ग्रामीण भेगबाट आउने बिरामी छालासम्बन्धी भिन्न खालका समस्या लिएर आउँछन् भने शहरबाट आउनेहरू ‘अनुहारको सौन्दर्य बिग्रियो, कसरी राम्रो बनाउन सकिन्छ ?’ भन्दै आउँछन् । 
छालाको बाथ, कत्ले रोग (सोरियासिस), जीउभरि फोका आउने रोग (पेम्फिगस), डन्डीफोर, सुक्खा छाला, एलर्जीका बिरामी पनि धेरै नै आउने गरेका छन् । नेपालमा अन्यत्र उपलब्ध नहुने स्किन एलर्जी टेस्ट धुलिखेलमा हुन्छ । मेलानोसाइट्स प्रत्यारोपाण गरेर सेतो दुभीको उपचार गर्ने प्रविधि पनि धुलिखेल अस्पतालबाटै सुरु भएको हो । कपाल झर्ने, अकस्मात् दाह्री तथा कपाल खुइलिने समस्याको पनि भरपर्दो उपचार सेवा धुलिखेल अस्पतालमा उपलब्ध छ ।  
जो कोही पनि आफ्नो सौन्दर्य लामो समयसम्म टिकिरहोस् भन्ने नै चाहन्छन् । कोही पनि नराम्रो अनुहार लिएर हिँड्न चाहँदैनन् । सुन्दर बन्ने धुनमा धेरैले आफ्नो अनुहारको छालामा जथाभावी क्रिम तथा औषधि दलेर बिगारिरहेका हुन्छन् । विशेष गरेर अनुहारमा आउने विभिन्न खालका दाग तथा धब्बा यति दिनभित्र सफाचट भएर जान्छ भन्ने विज्ञापनको पछि लागेर अनुहार कुरूप बनाउनेहरू उपचारका क्रममा धेरै भेटिन्छन् । सामान्य ब्युटिपार्लरदेखि लेजर मेसिन राम्रोसँग अपरेट गर्न नजान्नेसम्मकाले सौन्दर्य विशेषज्ञको ट्याग भिरेर धेरैको अनुहार कुरूप बनाइदिएका छन् । 
कुनै पेशा तथा व्यवसायको फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने व्यक्तिको अनुहारमा चायापोतो आयो, अनुहारमा चाउरी प¥यो, ठूला–ठूला कोठी आयो भने उसले काम नै गुमाउनुपर्ने परिस्थिति आउन सक्छ । हामीकहाँ उपचारका लागि आउने कतिपयले अनुहारमा आएको दाग, पेटमा देखिएको स्ट्रेचमार्क, कपाल झरेको कारणले व्यावसायिक जीवनमा विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो गर्छन् । मार्केटिङमा हिँड्नुपर्ने युवा ‘कपाल झरेर तालु हुन लागियो, काममा समस्या हुन्छ’ भन्दै उपचारका लागि आउने गरेका छन् । आफ्नो रूप र सौन्दर्यलाई मेन्टेन गरिराख्न अहिले विभिन्न उपचार सेवा उपलब्ध भएकाले यसको उपयोग गर्न सक्दा आफूलाई सुन्दर र स्मार्ट राख्न सकिन्छ । 
कलाकार, व्यापारी, एक्सपोजर हुनुपर्ने पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति अहिले विभिन्न खाले सौन्दर्य बढाउने उपचारका लागि आउने गरेका छन् । सबैजना अनुहारको छाला चाउरी परेको, दाग आएको, कपाल झरेको, मोटापन बढेकोजस्ता समस्या लिएर अस्पताल आउने गरेका छन् । 
(डा. कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन् ) 

प्रतिक्रिया