विहारमा नेपाली बालिकालाई बलात्कार गरी हत्या 

एजेन्सी     २६ माघ २०७७, सोमबार
विहारमा नेपाली बालिकालाई बलात्कार गरी हत्या 

भारतको बिहारमा एक नेपाली बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरिएको छ। चम्पारण जिल्लामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त घटनामा त्यहाँको स्थानीय प्रहरीको पनि मिलेमतो रहेको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धान र एक अडियोले उक्त घटनामा स्थानीय थानाका थानाध्यक्षको पनि संलग्नता रहेको संकेत गरेको हो। 
एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए।
नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदुरी गर्दै आएका सुरेश (परिवर्तित नाम)का अनुसार यो घटना २१ जनवरीको हो। उनका अनुसार त्यस दिन आफू काममा गएको र छोरा बजार गएका थिए।
बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले रोकेको तर उनी घर पुग्दा आफ्नी बहिनीलाई घाइते अवस्थामा भुईंमा लडिरहेको देखेर आफूलाई फोन गरेर बोलाएको सुरेशले निवेदनमा बताएका छन्।
उनले घर पुगेर हेर्दा छोरी जमिनमै लडिरहेकी र उसको घाँटीमा रातो दाग रहेको बताए। तत्काल उपाचारका लागि अस्पताल पुर्‍याए पनि कसैले उपचार गर्न नमानेको सुरेशले पूर्वी चम्पारणका अनुमण्डल अधिकारीलाई दिएको लिखित निवेदनमा उल्लेख गरेका छन्।

२१ जनवरीमा घटना भए पनि उजुरी १२ दिनपछि २ फेब्रअरीमा दर्ता भएको थियो। उजुरीमा विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहसहित ११ जनालाई अभियुक्त बनाइएको छ। त्यस्तै घरमालिक सियाराम शाहमाथि पनि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप लागेको छ।
एसपी झाका अनुसार यो घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ। अन्य अभियुक्तलाई गिरफ्तार गर्न एउटा कमिटी निर्माण गरिएको छ।

प्रतिक्रिया