काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सप्ताहान्तमा इरानभित्रका कैयौँ सैन्य ठेगानामा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकाले यो कारबाहीलाई आत्मरक्षा भनेको छ ।
इरानका गो रुक र केश्म आइल्यान्डमा रहेका राडार र ड्रोनका ‘कमान्ड एन्ड कन्ट्रोल’ सेन्टरलाई निसाना बनाइएको अमेरिकाले जनाएको छ । कुवेतले आफूमाथि आक्रमण भएको आधिकारिक घोषणा गरेको केही मिनेटपछि अमेरिकाले यसबारे विज्ञप्ति सार्वजनिक गरेको हो ।
अमेरिकी सेनाले यो आक्रमण इरानको आक्रामक गतिविधिको एउटा आवश्यक जवाफ भएको जनाएको छ । इरानले हालै अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडान भरिरहेको अमेरिकाको एउटा एमक्यू–१ ड्रोन खसालेको थियो ।
ड्रोन र मिसाइल आक्रमण गरियोः कुवेत
अमेरिकी सैन्य बेस रहेको कुवेतले सोमबार आफूतिर आउँदै गरेका ड्रोन र मिसाइललाई बीचमै रोकिएको जनाएको छ । ती ड्रोन र मिसाइल कहाँबाट प्रहार गरिएका भन्नेबारे कुवेतले कुनै विस्तृत विवरण दिएको छैन ।
अर्कोतर्फ, इरानको अर्धसैनिक बल इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सप्ताहान्तमा अमेरिकी सेनाले इरानी सैन्य ठेगानामा गरेको हवाई आक्रमणको जवाफमा आफूले त्यहाँस्थित एउटो अमेरिकी बेसलाई निसाना बनाएको जनाएको छ । यही कारण कुवेतमा गरिएको उक्त आक्रमणका पछाडि इरानकै हात रहेको सम्भावनालाई बलियो बनाएको छ ।