काठमाडौं । सरकारले कोरोना महामारी थप फैलन नदिन प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरको हो ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ। बैठकले अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ।
बैठकमा अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २,२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय गरेको छ।
कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिए।
संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिने मन्त्री त्रिपाठीले बताए । यातायातमा हुने भिड पनि कम गरिने उनको भनाइ छ।
आदेश जारी भएदेखि आजैदेखि लागू गरिने उनले बताए। भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।