ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ : शक्तिबहादुर बस्नेत

राम्रो अनलाइन     ०६ पुस २०८०, शुक्रबार
ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ : शक्तिबहादुर बस्नेत

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन् । 

सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकामा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् थपिनुले देश प्रगतितर्फ अघि बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको बताए ।
 
आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनीरुपमा थप व्यवस्था गर्न लागिएको बताए ।

मुलुकको दोस्रो ठूलो मानिएको चार सय केभी क्षमताको इनरुवा सवस्टेशनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।     हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा तीन थान पावर ट्रान्सफर्मर छन् । तीनवटै ट्रान्सफर्मरको क्षमता नौ सय ४५ एमभिए छ । त्यस्तै, २२०/१३२ केभी १६० एमभिए क्षमताका दुई थान तथा २२०/३३ केभी, ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्म छन् ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्नेछ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । साथै १३२ र ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । सबस्टेसनलाई भविश्यमा आवश्यकताअनुसार थप विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ ।  

अरुण तथा तमोर नदी र तिनका सहायक खोलामा निर्माण गरिएका तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

इनरुवा ४०० केभी सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी सिमेन्स् लिमिटेडसँग २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । चार सय केभी सबस्टेसनको डिजाइन तथा निर्माण सुपरीवेक्षण एनइए इञ्जिनियरिङ कम्पनीले गरेको थियो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नुपर्दा निर्माणमा ढिलाइ भएको थियो । 

प्रतिक्रिया