काठमाडौँ–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले आज ट्याटु बनाउँदै आएका कलाकारहरुसँग ‘ट्याटु कला’का विषयमा पहिलो पटक ललितकला संवाद आयोजना गरेको छ ।
यो कला ललितकलाभित्रै पर्ने भएर पनि ओझेलमा परेको र प्रतिष्ठानले समेट्न नसकेकाले ट्याटु कलालाई पनि मूल प्रवाहमा ल्याउने विषयमा प्रतिष्ठानले पहिलोपटक ट्याटु कलाका विषयमा छलफल गरी समस्याका विषयमा मन्थन गरेको हो ।
प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागद्वारा आयोजित उक्त संवादमा सहभागीहरुले ट्याटु कला छुट्टै कला नभएर ललितकलाको एउटा विधा भएकाले यसलाई पनि समेटेर अघि बढ्न प्रतिष्ठानलाई अनुरोध गरेका थिए । उनीहरुले ट्याटु कलालाई महत्व नदिएको र भेदभाव गरेको महसुस हुने गरेको बताउँदै त्यसो हुँदा पनि समाजमा स्वतस्फूर्तरुपमा यसको महत्व बढिरहेको बताएका छन्।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लुकेर रहेका कला र सृजनालाई उजागर गर्न प्रतिष्ठान लागिपरेको र सोही क्रममा ट्याटु कलाका विषयमा पनि संवाद गरेर सम्भावना र समस्याका विषयमा विमर्श गरिएको बताए।
कार्यक्रममा ट्याटु कलाकार राजन महर्जनले आजको दिनमा प्रचलित र छिटो बुझ्न कलाको माध्यम नै ट्याटु कला भएको बताउँदै स्वतःस्फूर्त रुपमा घरघरमै फैलिरहेको उल्लेख गरे । उनले ललितकला नबुझेको मान्छेले पनि ट्याटु खोपिरहेको स्मरण पनि गरे । ‘मान्छेहरुले अरू कला र ट्याट् फरक हो कि भनेर सोच्ने गरेका छन् । तर यो विधा फरक छैन, ललितकलाको एउटा विधा हो, ट्याटुले देशको सभ्यता, परम्परा र पहिचानलाई अहिले पनि प्रतिनिधित्व गरिरहेको छ’, महर्जनले भने।
उनले कलाको क्यान्भास मात्रै फरक रहेको बताउँदै ट्याटु मानिसको ज्यानमा खोपिने र अन्य कला क्यान्भासमा गरिने बताए। ट्याटु कलाकार जयशङ्कर सन श्रेष्ठले प्रतिष्ठानले पहिलोपटक गरेको यो कार्यक्रम ऐतिहासिक भएको बताए। उनले अहिले ट्याटु कलालाई भेदभाव गरिएको महसुस गरिएकाले ट्याटु खोप्ने कलाकारले राम्रो प्रतिष्ठा र अवसर प्राप्त नगरेको बताए।
प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारीले पहिलोपटक ट्याटु कलाका विषयमा छलफल गरिएको भन्दै आगामी दिनमा अब सँगसँगै कार्यक्रमहरु अघि बढ्ने बताइन् । ट्याटुलाई पनि सरकारी तहबाटै जगेर्ना गर्नुपर्छ भनेर यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।