त्रिवि शिक्षण अस्पतालमा कोभिड १९ का बिरामीका लागि १४० शय्याको उपचार कक्ष 

राम्रो अनलाइन     २३ वैशाख २०७८, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा कोभिड १९ का बिरामीका लागि १४० शय्याको उपचार कक्ष 

काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ ।

क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।   

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन अस्पताल पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसीलाई अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले  त्यस किसिमको व्यवस्था गरिएको बताए ।

महानगर  प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताए । “जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिनेछौँ”, उनले भने ।   

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट्याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भएको छ  । 
 

प्रतिक्रिया