मंगल मुर्मु, चोट्टी मुन्डा र रेड इन्डियन कलाकार तीनै जनाले जंगल र जमिनसँगको आफ्नो विशिष्ट सम्बन्धका कारण खास विश्वदृष्टिकोण बनाएका छन् । मानवीय सम्बन्ध, लेनदेन, दोस्ती र दुश्मनीका तिनका आफ्नै परिभाषा छन् ।
को आदिवासी हो र को होइन ? विवाद चल्न थालेको धेरै भयो । नेपालमा राज्य निर्माणको प्रसंगसँग सधैँ आदिवासिताको प्रश्न जोडिने गरेको छ । मूलवासीलगायत अवधारणा पनि अघि सारिएका छन् । जनीयता (एथ्निसिटी), जनजातीयता जस्ता विषयमा प्राज्ञिक र राजनीतिक तहमा छलफल चलेका छन् । जब यस्ता छलफल चल्न थाल्छन्, मलाई तीन जना आदिवासी पात्रको सम्झना हुन्छ । यी तीन पात्रका कथा सम्झेपछि लाग्छ– आदिवासिताको मुद्दामा को पहिले आएको वा को पछि आएको भन्दा अरू नै सवाल बढी महत्वका छन् । आदिवासी र जनाजातिहरू जल, जंगल र जमिनसँग कसरी गाँसिएका छन् ? जमिनसँगको उनीहरूको सम्बन्धका विशिष्टता के के हुन् ? साथै, जीवन र प्रकृतिलाई बुझ्ने उनीहरूको विश्वदृष्टिकोण अरूभन्दा कति भिन्न छ ? यी प्रश्नले नै उनीहरूका संस्कार, भाषा, संस्कृति र विशिष्ट पहिचान बनाएका हुन्छन् । यी प्रश्नबारे चिन्तन गर्न बाध्य बनाउने तीन प्रिय पात्रबारे चर्चा गरौँ ।
सबभन्दा पछिल्लो समय भेट भएको मंगल मुर्मु हो । ऊ भारतको बंगाल राज्यको विरभुमनजिकै आदिवासी जीवन बाँचिरहेको सन्थाल हो । हन्सदा सोभेन्द्र शेखर नामका भारतीय कथाकारको ‘द आदिवासी विल नट डान्स’ नामको कथामा मंगलसँग मेरो भेट भएको हो । सन्थाल गीत गाउन, नाच्न सिपालु मुर्मु नाचगान समूह सञ्चालन गर्ने मान्छे पनि हो । नजिकै बजारमा होस् वा वरपर गाउँमा, कुनै पर्व वा कार्यक्रममा उसको नेतृत्वमा आदिवासी गीत र नृत्यहरू प्रस्तुत हुन्थे । सरकारी कार्यक्रममा समेत उसको टोलीलाई आदिवासित्व प्रदर्शन गर्ने हेतु नाचगानका लागि निम्तो गरिन्थ्यो । त्यसै क्रममा उसको गाउँभन्दा केही पर अर्को एक आदिवासी क्षेत्रमा आयोजना हुने भनिएको ठूलो सभामा राष्ट्रपतिको आगमन हुने खबर फैलियो । खबरसँगै उसको घरमा एउटा सरकारी पत्र आइपुग्यो । रितअनुरूप उसको टोलीलाई भव्य आदिवासी नृत्यको तयारी गर्ने आग्रहसहित लेखिएको पत्र थियो त्यो । सधैँ अभाव र गरिबीले कोपरेको गाउँमा, त्यो थोरै आम्दानीको पनि खबर थियो । मुर्मु तयारीमा लाग्यो ।

नृत्यको तयारी गर्न कार्यक्रमस्थल नजिकैको ठाउँमा मुर्मुको टोली पुग्यो । जसै द्रुत गतिमा तयारी थालियो, उसकी छोरीले हतास हुँदै फोन गरी । छोरीज्वाइँ बसोबास गरिरहेको सिँगो आदिवासी गाउँ खाली गर्ने सरकारी फरमानका कारण ऊ आत्तिएकी थिई । सो आदेशको विरोध गर्दै निस्किएको जुलुसमा मुर्मुको ज्वाइँ सहभागी भएको थियो । प्रहरीले धरपकड गर्दा ज्वाइँ र आदिवासी गाउँका दर्जनौँ युवा थुनिएका थिए । गाउँमा दमन सुरु भएपछि सबै भागेर मंगल मुर्मुको गाउँमा आउन थाले । छोरी र उसका सन्तानलगायत अन्य आफन्त गाउँमा शरणार्थी भएर आएपछि, व्ययभार बढ्यो । त्यही व्यय धान्नकै लागि पनि नृत्यको तयारी गर्नु जरुरी थियो । जुन कम्पनीका लागि आदिवासी गाउँ नै खाली गराएर जग्गा हडपिएको थियो, त्यही कम्पनीलाई चाहिने ऊर्जा उत्पादनका लागि सञ्चालनमा ल्याउन लागिएको ‘पावर प्लान्ट’ उद्घाटन गर्न आउँदै थिए राष्ट्रपति । उनैको सम्मानमा मुर्मुको टोलीले आदिवासी नृत्य तयारी गरिरहेको थियो ।
कार्यक्रमको दिन मुर्मु आफ्नो टोली लिएर राष्ट्रपति विराजमान भएको विशाल मञ्चअघिल्तिर पुग्यो । नृत्य सुरु गर्नुअघि उसले माइक तान्यो र राष्ट्रपतिलाई न्यानो अभिवादन ग¥यो । त्यसपछि ऊ नृत्य प्रस्तुत गर्न छोडेर आफूले सकेको र जानेको हिन्दीमा एकोहोरो भाषण गर्न थाल्योः ‘जोहर, राष्ट्रपति बाबु । हामीलाई गर्व र खुशी लागेको छ कि तपाईं हाम्रो सन्थाल बस्तीमा आउनुभएको छ र हामीलाई तपाईंको स्वागतका लागि गीत र नृत्य प्रस्तुत गर्न भनिएको छ । हामी तपाईंका अघिल्तिर गाउँछौँ र नाच्छौँ तर हामीलाई भन्दिनुस्, के हामीले नाच्नु र गाउनुपर्ने कुनै कारण छ ? के हामी खुशी हुनुपर्ने कुनै कारण छ ? अब तपाईं यहाँ पावर प्लान्ट बनाउन थाल्नुहुनेछ तर यही प्लान्ट हामी सबै आदिवासीको अन्त्यको कारण बन्नेछ । तपाईंका अगलबगल बसेका मानिसहरूले भनेका होलान् कि यो पावर प्लान्टले हामी आदिवासीहरूको भाग्य बदलिनेछ । तर, यिनै मानिसले हामीलाई हाम्रा थातथलोबाट निकाला गरेका छन् । अब हामी जाने ठाउँ कतै छैन र खेती गर्ने ठाउँ पनि बाँकी रहेन । यो पावर प्लान्ट कसरी राम्रो हुनसक्छ हाम्रा लागि ? अनि कसरी हामी आदिवासीहरू खुशी भएर नाचौँ ? जबसम्म हामीलाई हाम्रो घर र जमिन फिर्ता गरिँदैन, हामी गाउँदैनौँ, हामी नाच्दैनौँ । हामी आदिवासीहरू नाच्दैनौँ...।’ त्यसपछि उसका मुखमा प्रहरीको बुट बज्रिन्छ ।
मंगल मुर्मुले नवउदारवादी राज्यसत्ताबाट आफ्नो जमिन जोगाउन र आदिवासी कलाकर्मको इज्जत राख्न गरेको संघर्षले आदिवासिताबारे माथि भनिएका प्रश्नमाथि सोच्न बाध्य बनाउँछ ।
त्यस्तै, बंगालकै अर्को एक सन्थाल आदिवासीसँग भेट भयो, महाश्वेता देवीको ‘चोट्टी मुन्डा एन्ड हिज एरो’ नामक उपन्यासमा । कथा लामो भएकाले यहाँ सबै सन्दर्भ उल्लेख गर्न सम्भव छैन । एउटा घटनाले धेरै संकेत गर्न सक्छ । तिरथनाथ नामको जमिनदार र आदिवासी मुख्य पात्र चोट्टी एक अर्काका दुश्मन हुन् । जमिनदार सुदखोर हो । ऊ हरसम्भव गरिबहरूबाट बढीभन्दा बढी श्रम र पैसा लुटेर आफ्नो जमिनदारी हैकम कायम राख्न खोज्छ । चोट्टी जस्ता आदिवासी पात्रहरू आफ्नो विश्वदृष्टिकोणअनुसार कसैलाई हानि नगरी र कसैबाट हस्तक्षेप नबेहोरी आफ्नो जिन्दगी आफ्नै बुतामा जिउने प्रयत्नमा हुन्छन् । उपन्यासको एउटा बिन्दुमा बेतोडले बत्तिएर आएको रेलको चक्कामा पिसिएर मारिनबाट तिरथनाथ जोगिन्छ । त्यसरी उसको ज्यान जोगाइदिने अरू कोही नभएर उही चोट्टी नै हुन्छ । दुश्मनलाई ठीक समयमा प्रहार गरेर सिध्याउने कौशलमा निपुण जमिनदारले आदिवासीको यो उदारता बुझ्न सक्दैन । उसलाई चोट्टीले बचाइसक्दा पनि अझै मारिएला भन्ने पिर लागिरहन्छ । एकोहोरो आफूलाई नमार्न बिन्ति गरिरहन्छ । त्यसबेलाको यो संवादका कारण म चोट्टीलाई सम्झिरहन्छुः
–हरे, मेरो खोपडी तिम्रो जस्तो छैन । तिम्रो दिमागमा आइरहेका जस्ता विचार मेरो टाउकोमा आउँदैनन् । मेरो ठाउँमा तिमी भएको भए मलाई मारिसक्थ्यौ, होइन ?
–मैले ?
–तर, मैले तिमीलाई बचाएँ ।
यहाँ सन्थाल आदिवासीले बंगाली जमिनदारलाई हाम्रा दुई भिन्न विश्वदृष्टिकोण छन् भनेर बुझाउन खोजेको छ । दोस्ती र दुश्मनी निभाउने पनि दुई भिन्न ढंग छन्, जुन सत्य जमिनदार बुझ्दैन । आफूले जसरी सोच्छ वा जसरी दुनियाँलाई बुझेको छ, सबैले त्यसरी नै बुझेका होलान् भन्ने भ्रममा उसले जीवन गुजार्छ । गैरसन्थालसँगको संगतले नै चोट्टीले आफ्नो विशिष्ट पहिचान र फरक विश्वदृष्टिकोणबारे बुझिसकेको हुन्छ । त्यसैले उसले आफ्नो दिमागमा आउने विचार र तिरथनाथको मस्तिष्कमा अंकुराउने विचार फरक छन् भनेको हो ।
तेस्रो प्रिय आदिवासी पात्र मेक्सिकोमा पर्ने एक दुर्गम गाउँको मान्छे हो । बी ट्राभेन नामका कथाकारले लेखेको ‘एसेम्बली लाइन’ कथामा यो ‘अच्छा मान्छे’सँग भेट भएको हो । ऊ फुर्सदमा जंगल चहार्छ र अनेक पातपतिंगर, रूखका हाँगा, फूल, अनेक जडीबुटी भेला पार्छ । धेरैजसो खेतीमा व्यस्त हुन्छ । फुर्सदको समय स–साना विभिन्न आकार र रङका टोकरीहरू बनाउँछ । यसो हेर्दा ती रंगिन टोकरी कुनै उम्दा कलाकारले बनाएका हेरिरहूँ लाग्ने कलाकृतिभन्दा कम हुँदैनन् । एक शहरिया घुमन्तेले ती टोकरीहरूको थोक उत्पादन गरेर बजारमा महँगो मूल्यमा बेच्ने सपना देख्छ । त्यही नाफाखोर सोचले डोरिएर त्यो व्यापारी यी रेड इन्डियनसँग ‘बास्केट’को भाउमा मोलमोलाइ गर्छ ।
एउटा बास्केटको दाम उसले पहिला ५० पैसा भनेको हुन्छ । एक सय वटा खरिद गर्ने हुँदा ४५ पैसासम्म दिन्छु भन्छ । जब शहरिया व्यापारीले १० हजार टोकरीको प्रस्ताव राख्छ, उसले प्रतिटोकरी १५ रुपैयाँ लाग्ने बताउँछ । शहरिया व्यापारी र रेड इन्डियन गाउँले कलाकारको हिसाबकिताब पटक्कै मेल खाँदैन । शहरियाले दुई घण्टा लगाएर सबै हिसाब गरेर देखाउँछ, कागजमा अनेक जोड–घटाउ, गुणन–भागा गरेर हिसाब देखाउँदा पनि सय वटा खरिद गर्दा ४५ पैसा भनेको टोकरी हजारौँ बनाउँदा रु. १५ गोटा पुग्ने आफ्नो हिसाबमा ऊ अडिन्छ । जति बढी टोकरी बनायो, त्यसको प्रतिगोटा मूल्य त्यति नै अनुपातमा बढ्दै जाने कारण उसले यसरी खुलाउँछः ‘यो टोकरी बनाउन प्रयोग हुने हरेक केस्रा हाँगा र भाटा रङ लगाएर सुकाउनुपर्छ । ती राम्ररी नसुकाई प्रयोग गर्न मिल्दैन । माथि चन्द्रमाको अवस्था हेरेर, ठीक बेलामा वनस्पतिहरू टिपेर ल्याउनुपर्छ र तिनैबाट अनेक रङ निकाल्नुपर्छ । मैले रङ लगाएर सुकाएर राखेका धागो र काठमा पुतली आएर बस्छन्, तिनै पुतलीलाई हेरेर मेरा टोकरीका आकारहरू कल्पना गर्नुपर्छ । ...अनि सबैभन्दा महत्वपूर्ण कुरा, बिहान उठेर घाम उदाएको हेर्दै म नयाँ धुनहरू बनाउँछु, चराका चिरबिर सुनेर गीत गाउँछु । हरेक टोकरीका लागि मैले गीत बनाएको हुन्छु, यी टोकरीमा मेरा गीत र अलिकति मेरो मुटुको अंश पनि मिसिएको छ, मालिक !’
टोकरीमा प्रयोग भएका कुनै धागा बजारबाट किनेर ल्याइएका थिएनन् । तिनमा पोतिएका अनेक रङ सबै वनस्पतिबाट ऊ आफँैले बनाएका रङ थिए । अनि, उसले ती टोकरीलाई अनेक आकार दिन कुनै बजारु फर्मा किनेर ल्याएको थिएन । बरु जंगलमा देखेका अनेक वनस्पति, पुतली, किरा–फट्यांग्रा र जनावरका आकारप्रकारलाई उसले विभिन्न ढाँचामा आफ्ना टोकरीमा खिपेको थियो । हरेक दिन ऊ नयाँ धुन बनाउँदै, गीत गाउँदै असाध्यै धेरै समय र श्रम लगाएर ती टोकरी बनाउँथ्यो । त्यसैले उसले आफ्नो मुटु नै तिनमा मिसिएको कुरा सुनाएको हो । ती दर्जनौँ टोकरीमा अलि–अलि बाँडेको उसको मुटुको कति मोल भनोस् ? अर्थात्, प्रकृतिसँग उसले गाँसेको नाताको सस्तो मोल कसरी भनोस् उसले ? त्यसैले उसलाई बुझ्न बजारु हिसाबकिताब काम लागेन ।
मंगल मुर्मु, चोट्टी मुन्डा र यो रेड इन्डियन कलाकार तीनै जनाले जंगल र जमिनसँगको आफ्नो विशिष्ट सम्बन्धका कारण खास विश्वदृष्टिकोण बनाएका छन् । मानवीय सम्बन्ध, लेनदेन, दोस्ती र दुश्मनीका तिनका आफ्नै परिभाषा छन् । यी विशिष्टता नबुझी उनीहरूसँग व्यवहार गर्नु अप्ठ्यारो मात्रै होइन, धेरैजसो त्यो व्यवहार अन्यायी हुनसक्छ ।