कैलाली–सुदूरपश्चिम प्रदेश सरकारको लगानी बढेपछि टीकापुर अस्पतालको सेवा प्रवाह क्षमता बढ्दै गएको छ। १५ शैय्याको आइसोलेसन भवन, १५ बेड एचडीयू, पाँच बेड एनआईसीयू, १५ एनएमक्यूको अक्सिजन प्लान्ट स्थापना भइसकेको छ। यहाँका एचडीयू र एनआईसीयू बेड निरन्तर भरिएका हुन्छन् भने प्लान्टबाट उत्पादित अक्सिजन एचडीयू र एनआईसीयूमा पाइपबाट अरू वार्डमा सिलिन्डरमा भरेर पुर्याउने व्यवस्था छ। सो अस्पतालको सेवा सुविधा विस्तारले सेवाग्राहीको आकर्षण बढेको छ।
तीन बेडको डाइलासिस सेवा स्थापना हुने क्रममा छ भने चार करोडको लागतमा सरुवा रोग उपचार तथा अनुसन्धान केन्द्र, साढे दुई करोडको लागतमा चिकित्सकको आवास गृह निर्माणाधीन अवस्थामा छ।
टीकापुर अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सक र नौ जना अधिकृत कार्यरत छन्। चिकित्सकको दरबन्दी थपिएसँगै यहाँ आउने अधिकांश बिरामीको रोगको निदान, उपचार, शल्यक्रिया हुन थालेको छ। बिरामी रेफर न्यून हुँदै गएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ७८ हजार बिरामीले उपचार पाएको टीकापुर अस्पतालमा २०७८/०७९ मा ९० हजारभन्दा बढीले उपचार पाएका छन्। यस वर्षको पहिलो छ महिनामै ७७ हजार ५०० बिरामीले उपचार सेवा लिइसकेका छन्।
५१ शय्या सञ्चालनको अनुमति पाए पनि अहिले ७८ शøया चलेको छ तर सरकारबाट ५१ शय्या बराबरको जनशक्ति र बजेट दिन सकेको छैन तर पछिल्लो समय थपिएको साधन स्रोतले गुणस्तीय सेवा दिन कोसिस गरिरहेको अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।