कार्बोहाइड्रेटजन्य खाना
शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ । छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम खानु राम्रो हुन्छ । यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँछ । जसले गर्दा शरीरमा चिल्लो पदार्थ बढी उत्सर्जन हुन्छ र यसले डन्डीफोर चाँडो फैलाउँछ । कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ । यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँदैन ।
बढी नुन
आँखाको तलपट्टिको भाग सुनिने अथवा आँखावरिपरि डार्क सर्कल देखापर्ने समस्याबाट हैरान हुनुभएको छ भने पक्कै पनि तपाईंले सोडियमको मात्रा बढी लिइरहनुभएको छ । यस्ता समस्याबाट छुटकारा पाउन शरीरमा सोडियमको मात्रा घटाउनुपर्ने हुन्छ । यसका लागि हामीले दिनहुँ खाने नुनको मात्रामा कटौती गर्नुपर्ने हुन्छ ।
बढी नुन खानाले टिस्युलाई फुलाउने गर्छ, जसकारण आँखा तलको छाला सुनिएजस्तो देखिन्छ । मानिस जतिबेला पनि थाकेकोजस्तो देखिन्छ । नुनको मात्रा घटाएपछि यसको क्षतिपूर्तिका लागि केरालगायत पोटासियमयुक्त खानाको मात्रा बढाउनुपर्छ ।
बढी मदिरा
सन्तुलित मात्रामा मदिरा लिने हो भने यसले स्वास्थ्यमा खासै हानि गर्दैन । तर, यसको मात्रा सन्तुलन बाहिर गयो भने यसले समग्र स्वास्थ्यसँगै छालामा पनि हानि पुर्याउँछ । बढी मात्रामा रक्सी खाँदा यसले शरीरमा पानीको मात्रा कम गराउँछ । शरीरमा पानीको मात्रा कम भएमा छाला चाउरिने, सुक्खा हुनेलगायत समस्या देखापर्छ । यसले शरीरमा भिटामिन ‘ए’ को मात्रा पनि घटाउँछ । भिटामिन ‘ए’ ले बिग्रिएको छाला मर्मत गर्ने, नयाँ छाला उत्पादन गर्न सघाउनेलगायत काम गर्छ । रक्सीको मात्रा बढी हुँदै गयो भने डन्डीफोर, अनुहारमा रातो धब्बा हुने, लुतो, दादलगायत समस्या देखापर्न थाल्छ ।
बढी बोसो भएको खाना
बोसो बढी भएको खाना, घीउ, बोसोयुक्त मासु आदिले छालालाई हानि पु¥याउँछ । छालाको स्वास्थ्यका लागि उपयुक्त हुने बोसो ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेललगायतमा पाइने भएकाले यस्ता खानाको मात्रा बढाउनुपर्छ । यस्ता खानाले छालाको क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
दूधजन्य पदार्थ
दूधजन्य पदार्थ स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ । तर, ओखती पनि बढी भयो भने यसले खती गर्छ भनेझैँ यसको मात्रा बढी भयो भने यसले छालालाई पिरोल्न थाल्छ । दुग्धपदार्थ बढी मात्रामा लिने गर्दा डन्डीफोर, नाक वरिपरि कालो तथा सेतो गिर्खा आउनेलगायत समस्या उत्पन्न हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन् । सन्तुलित मात्रामा दुग्धपदार्थ खाने । दूधको तलतल बढी नै लाग्ने गरेको छ भने पानीको मात्रा बढाउने । सर्बत खाने गर्नुपर्छ ।
कफी
कफीमा पाइने स्टेरोइडले ‘स्ट्रेस हर्मोन’ बढाउँछ । यस्तो हर्मोनले मानसिक तनाव त बढाउँछ नै छालालाई पनि खराब पार्दै लान्छ । त्यही भएर कफीका अम्मलीलाई छाला सुन्दर र स्वस्थ बनाउने चाहना छ भने तत्काल कफीको मात्रा घटाउनुपर्छ । कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । कफी बढी खाने मानिस चाँडै बूढो देखिन थाल्ने र छाला चाउरिन्छ । कफीको सट्टा हर्बल टी अथवा डिक्याफिनेटेड टी खानु राम्रो हुन्छ ।