अहिलेको युगले थोरै समय र लगानीबाट ठूलोभन्दा ठूलो परिणाम प्राप्त गर्ने प्रविधि र कौशल हासिल गरेको छ । हरेक क्षेत्रमा प्रचलित सम्पूर्ण प्रविधि (मेसिन÷पद्धति) ले हाम्रो दिनचर्यालाई निकै सहज बनाएका छन् । केही दशकअगाडि महिनौँ लाग्ने कामहरू अहिले केही छिनमै सम्पन्न हुन्छन् । यो तीव्रतम विकासले हामी पनि तत्काल परिणाम खोज्ने भएका छौँ । आजको भोलि नै परिणाम प्राप्ति हुनुपर्छ भन्ने आममनोविज्ञान निर्माण भइरहेको छ । मानिस जुनसुकै कुरा पनि सहज र सरल मार्गबाट प्राप्त गर्न चाहन्छ । कठिन, लामो र झन्झटिलो विषयले जति नै राम्रो र दिगो परिणाम ल्याउने भए पनि त्यसतर्फ मानिसको आकर्षण निकै कम छ ।
सभ्यता विकाससँगै निम्तिएका दीर्घरोगहरूले मानिसलाई दिनानुदिन प्रताडित बनाइरहेका छन् । संक्रमणजन्य रोगहरूमा मानव सभ्यताले एक हदसम्म सफलता पाए पनि दीर्घरोग अर्थात् ‘क्रोनिक डिजिज’ सबैभन्दा ठूलो समस्याका रूपमा देखापरेका छन् । दीर्घरोग न्यूनीकरण वा नियन्त्रणका लागि सर्वाधिक लाभप्रद मानिएपछि योग अहिले विश्वव्यापी बनेको छ । तर, योग गर्नसमेत मानिसहरू आफ्नो समय नभएको गुनासो गर्छन् । ‘पेन किलर’ खाएर तत्काल आराम खोज्न अभ्यस्त मानिसलाई योग, लामो र झन्झटिलो प्रक्रिया प्रतीत भइरहेको छ । योगासनका लागि निश्चित अवस्था, समय र वातावरणको आवश्यकता पर्छ । योग गर्ने समय मिलाउन सकिएन भन्नेका लागि योगशास्त्रसँग सम्बन्धित मुद्रा शारीरिक स्वास्थ्य र मानसिक आनन्दका लागि अत्यन्तै सजिलो विधि हो । गाडीमा बसिरहँदा, कसैसँग कुरा गरिरहँदा वा कार्यालयमा बसिरहँदा पनि मुद्राको अभ्यास गर्न सकिन्छ । कम समय, बृहत् र व्यवस्थित प्रयत्नबिना नै मुद्राबाट ठूलो लाभ लिन सकिन्छ । त्यसकारण वर्तमान युगका लागि मुद्रा अभ्यास तुलनात्मक रूपमा सहज र सरल छ ।
मुद्रालाई पाँच वर्गमा विभक्त गरिएको छ– हस्त मुद्रा, मन मुद्रा, बन्ध मुद्रा, आधार मुद्रा र काया मुद्रा ।
हस्त मुद्रा

हस्त मुद्रा विभिन्न छन् । खास गरी बुढी औँला र चोर औँलालाई जोडेर गरिने ज्ञान मुद्राका बारेमा हामी धेरथोर जानकार छौँ । समाजमा प्रचलित ध्यानमा ज्ञान मुद्राको अत्यधिक प्रयोग भइरहेको देख्रिन्छ । हस्त मुद्रामध्ये हामीले प्राण मुद्राबाट बढी लाभ लिन सक्छौँ । प्राणशक्तिलाई बढाउने भएकै कारण यसको नाम प्राण मुद्रा रहेको हो । प्राणसामथ्र्य बढ्नासाथ शारीरिक र मानसिक शक्ति बढ्छ । उक्त शक्तिले तनाव घटाउँछ र सिर्जनात्मक क्षमता बढाउँछ । मानसिक तनाव नहुनेबित्तिकै शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत पुग्छ । कसैसँग कुराकानी गरिरहँदा पनि यो मुद्रा प्रयोग गर्न सकिन्छ ।
मन मुद्रा

मनसँग सम्बन्धित मुद्राहरू मन मुद्राअन्तर्गत पर्छन् । मन मुद्राअन्तर्गत शाम्भवी मुद्रा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । घेरण्ड संहितामा भनिएको छ– सत्यं सत्यं पुनः सत्यं सत्यमाह महेश्वरः । शाम्भवीं यो विजानीयात्स च ब्रह्म न चान्यथा ।’ अर्थात्, शाम्भवी मुद्राको ज्ञाता आफैँ ब्रह्मस्वरूप हुन्छ । यो कथनले नै शाम्भवी मुद्राको महत्व स्पष्ट हुन्छ ।
सन् २०१६ मा भारतस्थित इसा फाउन्डेसनले शाम्भवी मुद्रामा आधारित भएर अनुसन्धान गरेको थियो । अनुसन्धानले शाम्भवी मुद्राको अभ्यासबाट दमको रोगमा ७९ प्रतिशत, माइग्रनेमा ९० प्रतिशत, मधुमेहमा ७१ प्रतिशत, अनिद्रामा ८४ प्रतिशत र डिप्रेसनमा ९० प्रतिशत लाभ हुने तथ्य सार्वजनिक गरेको थियो ।
बन्ध मुद्रा
बन्ध तीन प्रकारका हुन्छन् ।
मूल बन्धः मलद्वारलाई ‘टाइट’ पार्नु ।
उड्डियान बन्धः सम्पूर्ण श्वास फालेर पेटलाई ‘टाइट’ पार्नु ।
जालन्धर बन्धः चिउँडो झुकाएर छातीतर्फ लग्दै घाँटीलाई बन्द पार्नु ।
त्रिबन्ध / महाबन्ध विधिः माथिका तीन वटै बन्धहरूलाई एकैपटक गर्नु नै त्रिबन्ध वा महाबन्ध हो ।
तीन वटै बन्धहरूको लाभ दिने महाबन्ध अभ्यास गर्न सकिन्छ । तुरुन्तै ऊर्जा प्रवाहका लागि महाबन्ध अत्यन्त उपयोगी हुन्छ । खास गरी, हामीलाई कुनै काम तुरुन्त गर्नुपर्ने छ, तर उक्त काम गर्ने ‘मुड’ निर्माण भएको छैन भने महाबन्धको अभ्यासले तत्काल मानसिक ताजगी र शारीरिक स्फूर्ति प्राप्त हुन्छ । उच्च रक्तचाप तथा मुटुको रोग हुनेहरूले श्वास रोक्न नमिल्ने भएका कारण यो बन्ध गर्न मिल्दैन । खाली पेट छ भने महाबन्ध जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ ।
आधार मुद्रा
वज्रौली, सहजोली र अश्विनी मुद्राहरू आधार मुद्राअन्तर्गत पर्छन् । मूलाधार चक्र (लिंग÷योनी र मलद्वारको बीचको भाग) सँग सम्बन्धित मुद्राहरू नै आधार मुद्रा हुन् । आधार मुद्रा अन्तर्गतको अश्विनी मुद्रा प्रयोगको हिसाबले सजिलो मानिन्छ । अश्विनी अश्व शब्दबाट आएको हो । अश्व भनेको घोडा हो । अश्विनी मुद्रा घोडाको शक्तिलाई आधार बनाएर प्रयोगमा ल्याइएको बताइन्छ । घोडाले सामान्यतः आराम गर्दैन । घोडा प्रायः बसेको पनि देखिँदैन । घोडाको शक्तिलाई नै आधार बनाएर शक्तिमापन इकाईलाई ‘हर्सपावर’ भनिएको हो । घोडाले आफ्नो मलद्वारलाई तान्ने र छाड्ने गरिरहन्छ । यो कार्यले नै ऊ अत्यधिक शक्तिशाली भएको हो । अश्विनी मुद्रामा पनि मलद्वारलाई खुम्च्याएर तान्ने र छाड्ने गरिन्छ । जसबाट मानसिक र शारीरिक शक्ति प्राप्त हुन्छ । अहिलेको समयको मानिस अत्यन्त व्यस्त छ । धेरै काम भ्याउन पर्दा बढी ऊर्जाको आवश्यकता पर्नु स्वाभाविक हो । आवश्यक ऊर्जा पूर्तिका लागि अश्विनी मुद्रा प्रभावकारी हुन्छ ।
काया मुद्रा

काया भनेको शरीर हो । सम्पूर्ण शरीरले गर्ने मुद्रा भएको कारण यसलाई काया मुद्रा भनिएको हो । काया मुद्रा विभिन्न छन् । काया मुद्रामा सम्पूर्ण शरीर नै सहभागी हुने भएकाले यी मुद्रा गर्न विशेष स्थान आवश्यक पर्छ । अन्य वर्गका मुद्रा जस्तो सामान्य अवस्था र परिवेशमा काया मुद्रा गर्न सकिन्न । काया मुद्रामध्ये विपरीत करणी मुद्रा अत्यन्त प्रभावकारी मानिन्छ ।
अधिकांश मुद्राको अभ्यास अत्यन्तै सहज छ । जसका लागि अतिरिक्त समयसमेत छुट्याउनुपर्दैन । समयको वचतसँगै कम मेहनत र अभ्यासबाट उच्च प्रतिफल दिने मुद्रा प्रयोग वा अभ्यास आजको आवश्यकता हो ।
प्राण मुद्रा विधि
बुढी, कान्छी र साइँली औँला जोड्ने ।
प्राण मुद्राबाट हुने फाइदा
- रिस नियन्त्रण गर्छ
- थकान मेटाउँछ
- तनाव कम हुन्छ
- धैर्य वृद्धि हुन्छ
- बिर्सने समस्याबाट मुक्ति पाइन्छ
- विभिन्न दुखाइमा लाभ पुग्छ
शाम्भवी मुद्रा विधि
ढाड सीधा पारेर कुनै पनि आसनमा बस्ने । दुवै आँखालाई तेस्रो नेत्र ( दुई आँखीभुइँको बीच भाग) मा केन्द्रित गर्ने (हेर्ने) ।
शाम्भवी मुद्राबाट हुने फाइदाः
- डिप्रेसनलगायत मानसिक रोगहरूमा फाइदा पुग्छ
- आँखाको तनाव घटाउँछ
- क्रोध नियन्त्रण गर्न सघाउँछ
- विचारमाथि नियन्त्रण हुने हुँदा धैर्य बढ्छ
- दमको रोगमा फाइदा हुन्छ
- माइग्रेन र अनिद्राको समस्याबाट मुक्ति मिल्छ
- मधुमेहमा फाइदा हुन्छ
महाबन्ध विधि
ढाड सोझो पारेर बस्ने, पूरै श्वास बाहिर फाल्ने, मलद्वारलाई टाइट पार्दै पेटलाई भित्र खिच्ने र चिउँडोलाई छातीतर्फ खिच्ने (झुकाउने) ।
महाबन्धका फाइदा
- घाँटीसम्बन्धी सम्पूर्ण रोगमा फाइदा पु¥याउँछ
- किड्नी, फियो, फोक्सो र कलेजो मजबुत हुन्छन्
- कब्जियत, अपच, मधुमेह, अल्काई, ब्रोङ्काइटिस जस्ता रोगमा फाइदा पु¥याउँछ
- बुढ्यौली नियन्त्रणमा सहयोग पु¥याउँछ
अश्विनी मुद्रा विधिः
ढाडलाई सीधा बनाएर बस्ने र श्वास बिस्तारै तान्दै मलद्वारलाई खुम्च्याउने, एक क्षण श्वास रोकेर मलद्वारलाई खुम्च्याइरहने र श्वास छाड्दै मलद्वारलाई खुकुलो पार्ने । श्वाससम्बद्ध विधि गर्न नमिल्ने अवस्था छ भने मलद्वारलाई खुम्च्याउने र छाड्ने मात्र पनि गर्न सकिन्छ ।
अश्विनी मुद्राका फाइदा
- कब्जियतबाट मुक्ति पाइन्छ
- पाठेघरसम्बन्धी रोगमा फाइदा पुग्छ
- अल्काई, पाइल्स लगायत पेटका सम्पूर्ण रोगमा लाभप्रद हुन्छ
विपरीत करणी मुद्रा विधि
शव आसनमा सुत्ने र बिस्तारै दुवै गोडालाई माथि उठाउँदै लैजाने । दुवै हातले ठेल्दै कम्मरलाई माथि उठाउँदै जाने र यथाशक्य रोकिने ।
विपरीत करणी मुद्राका फाइदा
- घाँटीसम्बन्धी रोगमा फाइदा पुग्छ
- रुघाकोखोकीमा लाभ हुन्छ
- शरीर सुन्निने रोगबाट मुक्ति पाइन्छ
- पेट तथा टाउकोसम्बन्धी रोगमा फाइदा पुग्छ
- अल्काई र फिस्टुलामा लाभ हुन्छ
- स्मरणशक्ति वृद्धि हुन्छ