‘बादशाह जुट’ मेरो डेब्यू फिल्म हो। यसअघि मोडिलिङ, टेलिसिरियल र विज्ञापनमा काम गरेकी थिएँ। क्यामेरा मेरा लागि नौलो कुरा थिएन। तर, नेपाली फिल्ममा काम गर्नु नौलो थियो। इन्डियामा जन्मेहुर्के पनि ममीले मलाई नेपाली भाषा सिकाउनुभएको थियो। नेपाली राम्रो बोल्न सक्छु।
निर्देशक जोनी सिंह मुम्बईमा नयाँ फिल्मका लागि हिरोइनको खोजी गरिरहनुभएको रहेछ। उहाँले मलाई ‘नेपाली फिल्म गर्छौ?’ भनेर सोध्नुभयो। मैले स्क्रिप्ट सुनेँ। आफ्नो भूमिका बुझेपछि गर्न सक्छु भन्ने महसुस भयो। गर्छु भनेँ।
नेपाल आएपछि अडिसन भयो। म छानिएँ। काम सुरु भयो। मलाई संवाद बोल्न अलिक गाह्रो भयो। कुनै–कुनै नेपाली शब्द उच्चारण गर्न कठिन भएको थियो। तर, मलाई फिल्मको पूरै टिमले एकदमै सहयोग गर्यो। फिल्मको वर्कसपमा मलाई नेपाली बोल्न लगाइएको थियो। त्यसपछि सुटिङमा सहज भयो। सिन गर्दागर्दै डायलग बिर्संदा निर्देशकले सिकाउनुहुन्थ्यो।
फिल्ममा सुशील श्रेष्ठ, रोबिन तामाङ, अमिर गौतम, रश्मी पाण्डे आदि कलाकार हुनुहुन्थ्यो। सुटिङ काठमाडौँ र पोखरामा भएको थियो। फिल्ममा हिरोलाई भिलेनहरूले बम र पटाका पड्काएर तर्साउने एउटा सिन छ। त्यतिबेला म र सुशील भाग्नुपर्ने हुन्छ। यही सिन पोखरामा गरिरहँदा एकदमै पानी परेको थियो। पटाका पड्केपछि भाग्न खोज्दा बाटोको सानो ढुंगा उडेर मेरो पेटमा लागेको थियो। सुटिङ सक्किएपछि हेर्दा चोट लागेको रहेछ।
सुटिङमा एकदमै रमाइलो गरियो। सबै मिलेर खाना बनाउँथ्यौँ। वातावरण घरको जस्तो हुन्थ्यो। सुटिङ चलिरहँदा घरै बिर्सेको थिएँ। काम गरिरहेको छु भन्ने महसुसै नभई फिल्मको सुटिङ सकियो।