सुर्खेतको सिद्धार्थ कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल   

राम्रो अनलाइन     २३ वैशाख २०८१, आइतबार
सुर्खेतको सिद्धार्थ कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल   


कर्णाली–सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘सिद्धार्थ होटेल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल बनेको छ । 

पर्यटन विभागले होटेललाई चारतारे होटेलमा स्तर वर्गीकरण गरेको हो । होटेलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । 

सुविधासम्पन्न उक्त होटेलमा चार स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा रहेका छन् । साथै, चारवटा कन्फ्रेन्स हल, ६ सयजनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल, पुलबार रेस्टुरेन्टको मज्जासमेत होटेलमा लिन सकिने बताइएको छ । यस्तै, फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटिपार्लरलगायत सुविधासमेत होटेलमा समावेश छन् । 

०७२ सालदेखि सञ्चालनमा आएको यस होटेलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए । २६ वर्षअघि टीकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटेल र विभिन्न स्ट्यान्डर्डका होटेल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ ।

पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ ।

प्रतिक्रिया