सुन्दर छालाका लागि ‘हाइड्राफेसियल’

डा.स्मृति श्रेष्ठ, सौन्दर्य विशेषज्ञ     ०८ माघ २०७७, बिहिबार
सुन्दर छालाका लागि ‘हाइड्राफेसियल’

पछिल्लो समय छालाको स्याहार र सुन्दरतामा ध्यान दिनेको संख्या बढ्दो छ। सुन्दरतासम्बन्धी उपचार गर्नेहरू पनि बढ्दै छन्। कतिपयले फेसियल गरी अनुहारको छालाको स्याहार गर्छन्। आजभोलि मेडिकल ग्रेडको हाइड्राफेसियल प्रचलनमा आएको छ। ‘हाइड्रा’ अर्थात् पानी वा तरल पदार्थ। त्यसैले तरल पदार्थको सहायताले छालाको भित्री पत्रसम्म सफा गर्ने प्रविधि हाइड्राफेसियल हो।

यो नयाँ प्रविधिको फेसियल चरणबद्ध रूपले गरिन्छ र दुखाइरहित हुन्छ। पहिलो चरणमा छाला सफा गरेर मेसिनबाट एक्सफोलिएट गरिन्छ। जसले फुस्रो छालाको पत्र हटाएर छालालाई चम्किलो बनाउँछ। 

त्यसपछि विभिन्न केमिकलको सहायताले थुनिएको तेलको ग्रन्थी खोलिन्छ। यसरी थुनिएको ग्रन्थी खुलेपछि डन्डीफोर र विकार प्रेसरले तानेर फालिन्छ। त्यसपछि छालालाई अत्यावश्यक पौष्टिक भिटामिन र सिरम मेसिनबाट नै छालाभित्र पुर्‍याइन्छ। 

हाइड्राफेसियलका फाइदा

–छाला सफा, विकाररहित, स्वस्थ हुन्छ

–डन्डीफोर घट्छ

–पोतो र कालो दाग कम हुन्छन् 

–आँखा वरिपरिको चाउरी घट्छ

–प्रदूषणको विकार बाहिरिन्छ 

–सुक्खा र रुखो छाला नरम हुन्छ

–ओठ र घाँटीको कालो दाग घट्छ

कसले गर्नु हुँदैन ?

सुक्खा तथा तैलीय सबै किसिमको स्वस्थ छाला हुनेले यो फेसियल गराउन सक्छन्। तर, संवेदनशील छाला हुने र छालामा डाबर भएकाले यस्तो फेसियल गराउनुअगाडि डाक्टरको सल्लाह लिनु जरुरी हुन्छ। यसमा प्रयोग हुने मेडिकल तŒवहरू कोही–कोहीलाई सुट नहुन सक्छ। राजेसिया तथा इक्जिमाका रोगीलाई सबै थरी सिरम नफाप्न सक्छ। गर्भवतीले पनि सिरम छानेर मात्र डाक्टरसँग फेसियल गराएको राम्रो हुन्छ।

प्रतिक्रिया