सत्तापक्षको अवरोधपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित 

राम्रो अनलाइन     २५ माघ २०७७, आइतबार
सत्तापक्षको अवरोधपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित 

सत्तापक्षका नेकपा सांसदको अवरोधपछि प्रदेश १ को प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित भएको छ । 

सत्ता पक्षका सांसदले निलम्बित १६ जना सांसदलाई उपस्थित हुन दिन नहुने माग गर्दै सदन अवरुद्ध गरेका हुन् । सत्तापक्षका सांसदले बैठकमा अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् । 

दिउँसो २ बजे बस्ने भनिएको बैठक कार्यसूची विवादका कारण ४ बजेमात्र सुरु भएको थियो । बैठक सुरु भए लगत्तै सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका हुन् । 

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । केन्द्रमा नेकपा दुई समूह बनेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । 

सो प्रस्ताव बैठकको कार्यसूचीमा रहेको थियो ।

प्रतिक्रिया