स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा छलफल

राम्रो अनलाइन     ०४ असार २०८३, बिहिबार
स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा छलफल

काठमाडौं–संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सचिवालय, सिंहदरबारमा समितिका सभापति जयन्ती देवी राईको अध्यक्षतामा आयोजित बैठकमा स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा छलफल भएको छ ।

संविधान तथा प्रचलित कानुनबमोजिम आगामी स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा माननीय आयुक्त डा. जानकी कुमारी तुलाधरले मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन, निर्वाचन तथा मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापन, जनशक्ति परिचालन तथा बजेट अनुमानसम्बन्धी कार्यहरू निरन्तर भइरहेको जानकारी गराइन्। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ पश्चात हालसम्म १ लाख ८१ हजार ३६७ जनाको मतदाता विवरण सङ्कलन भएको तथा १८ हजार ६२२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएकोमा सोसम्बन्धी नियमित कार्य भइरहेको विषयमा समेत डा. तुलाधरले प्रकाश पारिन्।

आगामी स्थानीय तह निर्वाचनका सम्बन्धमा समितिका सदस्यहरूले निर्वाचनको समयमै तयारी, मतदाता नामावलीको शुद्धता, मतदान केन्द्र व्यवस्थापन, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाको व्यवस्थापन तथा निर्वाचनलाई थप विश्वसनीय र सहभागितामूलक बनाउने सम्बन्धमा जिज्ञासा एवं सुझाव राखेका थिए । सो अवसरमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले उठान भएका प्रश्नहरूको सम्बोधन गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी ढङ्गले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए। उक्त अवसरमा निर्वाचनलाई व्यवस्थित र सबैका लागि स्वीकारयोग्य बनाउन समितिका माननीय सदस्यहरूबाट रचनात्मक सुझावहरू समेत प्राप्त भएका छन् ।

छलफलका क्रममा निर्वाचनको मिति कम्तीमा छ महिना अगावै घोषणा गर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पदहरू पूर्ति गर्ने, मतदाता नामावली व्यवस्थापन प्रणालीको स्तरोन्नति गर्ने, मतपत्र छपाइका लागि प्रयोग भइरहेको उपकरणको आधुनिकीकरण गर्ने तथा गलत सूचना र दुष्प्रचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्ने सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्रस्तुत भएका छन् ।

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको सफल व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सञ्चारमाध्यम र अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त अवसरमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्ती देवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाय, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र श्री सगुन शम्शेर जबरा, आयोगका निमित्त सचिव श्री राजेन्द्रकुमार केसी तथा अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया