जुन १४ मा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या गरेपछि बलिउडमा परिवारवाद, गुटबन्दीबारे चर्को बहस भइरहेको छ । न्वारनदेखिको बल लगाएरबलिउडमा आफ्ना छोराछोरीलाई स्थापित गराउने सेलिब्रिटी थुप्रै छन् ।हिन्दी सिनेमामा सफल केही पिताले आफ्नै फिल्मबाट छोराछोरीलाई डेब्यू गराएका छन्, जसको निर्देशन उनीहरू आफैँले गरेका छन् ।
राकेश रोशन
अभिनयबाट निर्देशनमा छिरेका राकेश रोशनलेबलिउडमा आफ्नो छोरा ऋतिक रोशनलाई स्थापित गराउन खूब मेहनत गरेका छन् । सन् २००० मा फिल्म ‘कहो न प्यार है’ बाट ऋतिकले बलिउडमा प्रवेश गरे । फिल्मको निर्देशन बुबा राकेशले नै गरेका थिए । फिल्मले अपार सफलता हात पा¥यो । १० करोड भारु बजेट रहेको फिल्मले त्यतिबेला ८० करोड भारु कमाएको थियो ।ऋतिक रातारात स्टार बने । उनका लाखौँ प्रशंसक भए । त्यसमा महिला प्रशंसकको संख्या बढी थियो । ऋतिकका त्यसपछिका फिल्मले खासै कमाल गर्न सकेनन् । छोराको फिल्मी करिअर डुब्न थालेपछि सन् २००३ मा राकेशले आफ्नै निर्देशनमा फिल्म ‘कोई मिल गया’ बनाए । फिल्म हिट भयो । त्यसको तीन वर्षपछि बुबाले निर्देशन गरेको फिल्म ‘कृष’ मा ऋतिक सुपरहिरोका रूपमा देखिए । त्यसपछि सन् २०१३ मा राकेशले छोरालाई लिएर ‘कृष–३’ बनाएका थिए ।
फिरोज खान
जमानाका हिट अभिनेता फिरोज खानले बलिउडमा निर्माता÷निर्देशकको पहिचान पनि बनाएका थिए । छोरा फरदिन खानलाई उनी बलिउडमा स्थापित भएको हेर्न चाहन्थे । त्यसका लागि उनले आफैँ छोरालाई लन्च गरे । सन् १९९८ मा फिल्म ‘प्रेम अगन’ बाट फरदिनले बलिउडमा डेब्यू गरे । जसको निर्देशनका जिम्मा फिरोज आफैँले लिएका थिए । फिल्म दर्शकलाई मन परेन । नराम्ररी असफल भयो । छोरालाई हिट कलाकार बनाउने फिरोजको सपना अधुरै रह्यो । फरदिनको करिअर बचाउन बुबाले त्यसपछि पनि थुप्रै प्रयास गरे । उनले ‘जानशीं’ फिल्म बनाए । यस पटक पनि सफलता हात लागेन ।
राज कपुर
बलिउडमा ‘सोम्यान’ का रूपमा प्रसिद्ध राज कपुरले माइला छोरा ऋषि कपुरलाई आफ्नो फिल्मबाट डेब्यू गराएका थिए । सन् १९७३ फिल्म ‘बबी’ बाट ऋषि सिनेमा जगत्मा भित्रिएका थिए । फिल्म बक्स अफिसमा सफल भयो र ऋषि स्टार बने । राज कपुरका जेठा छोरा रणधीर कपुर र कान्छा छोरा राजीव कपुरले पनि फिल्म क्षेत्रमा काम गरे । बुबाद्वारा निर्देशित फिल्मबाट डेब्यू नगरे पनि उनीहरूको करिअर उकास्न बुबाले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । रणधीरको पहिलो फिल्म ‘कल आज और कल’ का निर्माता राज कपुर नै थिए । कान्छो छोरा राजीव अभिनीत हिट फिल्म ‘राम तेरी गंगा मैली’ को निर्देशन पनि राज कपुरले नै गरेका थिए ।
सुनील दत्त
प्रसिद्ध अभिनेता सुनील दत्त र अभिनेत्री नरगिसका छोरा हुन्, सञ्जय दत्त । उनले फिल्म ‘रकी’ बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्मको निर्देशन स्वयं सुनीलले गरेका थिए । फिल्म हिट भयो । हिट फिल्म दिएर पनि बलिउडमा सञ्जयको करिअर खासै उकालो लाग्न सकेन । सन् १९९३ मुम्बईमा भएको बम काण्डमा सञ्जयको नाम जोडियो । छोराको ध्वस्त भइरहेकोकरिअर बचाउन बुबा अगाडि सरे । प्रतिष्ठित बुबाको कृपाले सञ्जयले फिल्ममा काम पाइरहे । पछि सफल अभिनेताको सूचीमा नाम लेखाउन सफल भए ।
महेश भट्ट
निर्देशक महेश भट्टले आफ्नी जेठी छोरी पूजा भट्टको करिअरको सुरुवात सफलताका साथ गराए । पूजाले फिल्म ‘ड्याडी’ बाट बलिउडमा प्रवेश गरिन् । त्यसको निर्देशन महेशले नै गरेका थिए । सन् १९९०को दशकको सफल अभिनेत्रीमा गनिने पूजाको हिट फिल्म ‘सडक’ को निर्देशन पनि बुबाले नै गरेका थिए । लामो समययता अभिनयबाट टाढिएकी पूजाले फेरि ‘सडक २’ बाट कमब्याक गर्ने भएकी छिन् । यसमा महेशकी कान्छी छोरी आलिया भट्टले पनि काम गर्नेछिन् ।
सनी देओल
सन् २०१९ को सेप्टेम्बरमा फिल्म ‘पल पल दिल के पास’ रिलिज भयो । फिल्ममा मुख्य भूमिकामा थिए, अभिनेता करण देओल । उनी अभिनेता सनी देओलका छोरा हुन् । फिल्म क्षेत्रमा देओल परिवारको तेस्रो पुस्ताले प्रवेश गरेको हो । धमेन्द्र आफ्ना जमानाका सुपरहिट अभिनेता थिए । उनका छोराछोरी सनी, बबी र इशाले हिन्दी सिनेमामै करिअर बनाए । सनीले सफलता हात पारे पनि बबी र इशाको करिअर फिल्म क्षेत्रमा सन्तोषजनक रहेन । त्यसपछि तेस्रो पुस्ताका सनीका छोराले फिल्ममा प्रवेश गरे । छोराको धमाकेदार डेब्यूको चाहनाले फिल्मको निर्देशनसमेत सनी आफैँले गरे । तर, पनि उनले सोचेजस्तो भएन । फिल्म असफल भयो । ६० करोड भारु बजेट रहेको फिल्मको बक्स अफिस कलेक्सन आठ करोड भारु पनि पुगेन ।