स्नेहाज् केयरमा मनाइयो कुकुर तिहार 

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
स्नेहाज् केयरमा मनाइयो कुकुर तिहार 


काठमाडौँ–यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार प्रा डा देवमणि भट्टराईले बताए। 

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

यसै अवसरमा, ललितपुरको चोभारस्थिति स्नेहाज् केयरले पनि कुकुर तिहार मनाएको छ। सन् २०१४ मा स्थापना भएको स्नेहाज् केयरमा विशेष गरेर सडकमा छाडिएका कुकुरलाई उपचारका साथमा संरक्षण दिन्छ। केयरले सडक कुकुरहरूलाई फूलमालासहित मीठो खान दिएर यो पर्व मनाएको हो। स्नेहाज् केयरको संरक्षणमा रहेका कुकुरहरूको पूजाअर्चनाका अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, वरिष्ठ पत्रकार विजय कुमार लगायतको उपस्थिति थियो।

स्नेहा श्रेष्ठले सञ्चालन गरेको स्नेहाज् केयरमा सडकमा गाडीको ठक्करबाट अपाङ्ग भएका कुकुरका लागि विशेष बिशेष व्यवस्था गरिएको छ । सडकका लावारिस कुकुर हुन  वा कसैले घरमा केही समय पालेर सडकमा निर्दयतापुर्वक त्यागिएका कुकुर होउन , स्हेहाले स्नेह दिने गरेकी छिन् । जसको कोही थिएन  उसलाई स्नेहाले छाना दिइन, खाना दिइन र केयर दिँदै आएकी छिन् । 

प्रतिक्रिया