शरीरलाई हानि पुर्‍याउने बानी

राम्रो अनलाइन     ०४ फागुन २०७७, मङ्गलबार
शरीरलाई हानि पुर्‍याउने बानी

बिहान खाजा नखानु
काममा जाने हतारले अथवा वजन घटाउने चक्करमा कोही–कोहीले बिहान खाजा खाँदैनन्। तर, बिहानको खाजा शरीरका लागि महत्त्वपूर्ण हुन्छ। यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ।

पानी कम खानु
कतिपयले पानी नखाने अथवा कम खाने गर्छन्। यो पनि शरीरका लागि हानिकारक हुन सक्छ। स्वस्थ रहन प्रशस्त पानी खानुपर्छ। 

बढी गुलियो खानु
कोही–कोही गुलियोका सोखिन हुन्छन्। उनीहरू आवश्यकताभन्दा बढी गुलियो खाने गर्छन्। यो बानीले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। बढी गुलियो खाँदा वजन बढ्छ, मधुमेह रोगको जोखिम पनि बढ्छ।

ढिलो सुत्नु
स्वस्थ शरीरका लागि मीठो निद्रा आवश्यक हुन्छ। अबेर सुत्ने बानी खराब हो। यसले स्वास्थ्यमा नराम्रो असर गर्छ।

बिहान ढिलो उठ्नु
राति अबेर सुतेपछि स्वाभाविक रूपले बिहान ढिलो उठिन्छ। अबेर सुत्ने, बिहान ढिलो उठ्ने बानीले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ।

सुत्दा मुख छोप्नु
कोही–कोहीको मुख छोपेर सुत्ने बानी हुन्छ। चिसोमा कतिपय मानिस न्यानो महसुस गर्न टोपी, सल, मोजा आदि लगाएर सुत्ने गर्छन्। यस्तो गर्नु स्वास्थ्यका लागि ठीक होइन। टाउको, खुट्टा ढाकेर सुत्दा कार्बन डाइअक्साइडको खपत बढ्न सक्छ, अक्सिजनको कमी हुन सक्छ। यसले मस्तिष्कमा असर गर्न सक्छ।

ग्याजेट हेर्दै खाना खानु
कतिपय मानिस खाना खाने बेलामा समेत मोबाइल चलाइरहेका हुन्छन्। अथवा, ट्याब, ल्यापटपलगायत अरू विद्युतीय उपकरण चलाइरहेका हुन्छन्। कोही टीभी हेर्दे खाना खान्छन्। यी सबै स्वस्थ शरीरका लागि हानिकारक बानी हुन्।

पिसाब रोक्नु
लामो समय पिसाब रोकेर राख्ने बानी एकदमै खराब हो। यसले स्वास्थ्यमा नराम्रो असर गर्छ। पिसाब रोक्दा मिर्गौलासम्बन्धी समस्या देखिन सक्छ।

प्रतिक्रिया