सदीक्षा बस्याल नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक तहमा फेसन डिजाइनिङ पढ्दै छिन् । बुटवलकी स्थायीबासी सदीक्षा १७ वर्षकी भइन् । उनी अहिले ललितपुर पाटनमा बस्छिन् । उनलाई स्केच गर्न, चित्र बनाउन, गाउन, नाच्न र किताबहरू पढ्न मन पर्छ । नयाँ कन्टेन्ट क्रियट गराउन मन पराउने उनी फुर्सद हुँदा भिडियो पनि बनाउने गर्छिन् ।

सदीक्षालाई सानैदेखि फेसन डिजाइनिङ रुची थियो । उनी ५ कक्षामा हुँदा देखिनै आफ्नो लागि पृथक खालको ड्रेस कन्सेप्ट सोच्ने गर्थिन् । फेसन र मोडलिङ रिलेटेड फिल्ड भएकाले उनलाई मोडलिङ पनि रुची जागेको हो ।
‘मैले यसअघि ब्युटी प्याजेन्टमा पनि भाग लिएको थिएँ सदीक्षा भन्छिन्, त्यतिबेला परिवारबाट खासै सर्पोट थिएन तर अहिले फेमलीले पनि सहयोग गरिरहनु भएको छ ।’ उनी पूर्व मिस नेपाल श्रृंखला खतिवडा, मोडल सविता कार्कीलाई रोलमोडल मान्छिन् ।

यो प्रतियोगितामा भाग लिएर जीवनका लागि चाहिने थुप्रै सीप सिकेको बस्याल बताउँछिन् । आत्मविश्वास बढेको छ, मानिसहरूका अगाडि कसरी प्रस्तुत हुने भन्ने बारेमा जानकारी पाइएको छ, आफूलाई सुन्दर र पृथक ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बारेमा ग्रुमिङ क्लासमा सिकेको उनी बताउँछिन् ।

‘म फेसन डिजाइनिङ कोर्स पनि गरिरहेको छु । मलाई कुन ड्रेस कसरी क्यारी गर्नुपर्छ, कलर सेलेक्सन कसरी गरिनुपर्छ, डिजाइनमा अरुभन्दा भिन्न कसरी गर्न सकिन्छ लगायत जानकारी हुने भएकाले मलाई अन्य प्रतियोगीभन्दा फरक देखिन् मद्दत पुग्ने ठानेको छु’ सदीक्षा भन्छिन् ।