–एला डेभिस
प्रकृति हाम्रो मृत्युको कारण हुने गरी सबैभन्दा बढी निर्मम कुन ठाउँमा हुन्छिन् होला ? हावाहुण्डरी आएको ठाउँमा, ज्वालामुखी विस्फोट भएको ठाउँमा कि अन्यत्रै ? संसारका खतरनाक ठाउँमध्ये सबैभन्दा प्राणघातक चाहिँ कुन होलान् ?
पानी
पानीमा रहनसक्ने क्षमता हामीमा छैन । त्यसैले पानीमा हामी निरीह हुन्छौँ । पानीमा तैरिन हामीले डुंगा आदि आविष्कार गरिसकेका छौँ । तर, पनि सन् २०१२ मा समुद्रमा १ हजार ५१ जनाको मृत्यु भयो । तीमध्ये अत्यन्तै थोरै समुद्रका ज्वारभाटाले सोहोरेर लगेका कारण मरेका थिए ।
कुनै ठाउँको पानी बढी खतरनाक हुन्छ । विशिष्ट भूगोलले त्यहाँका पानीलाई बढी घातक बनाएको हुन्छ । नर्वेछेउको साल्टस्ट्रोमेन समुद्री नाका यस्तै ठाउँमध्ये पर्छ, जहाँ संसारकै सबैभन्दा बलिया ज्वाराभाटा निस्किने गर्छन् । त्यहाँका ज्वाराभाटा र भुमरीबारे पर्याप्त अध्ययन भएकाले हावा भर्न मिल्ने डुंगामा चढेर अनुभवी डुंगाचालकको सहयोगले पर्यटकहरू सो नाका सजिलै पार गर्न सक्ने भएका छन् ।
पानीबाहिरका भूभागमा पुगेर पनि पानीले उत्पात मच्चाउने गर्छ । तटीय क्षेत्रका मानिसलाई समुद्रको पानीले डुबानमा पार्ने गरेका उदाहरण प्रशस्तै छन् । होचा द्वीपहरूको समूह माल्दिभ्स यस्तै जोखिमपूर्ण ठाउँमा पर्छ । जलवायु परिवर्तनका कारण समुद्री सतह क्रमशः बढ्दै गएकाले ती द्वीपहरूमा पानीमार्फत आइलाग्ने जोखिम पनि बढ्दै गएको छ । सुनामी अथवा समुद्री आँधीका कारण समुद्री सतह अकस्मात् बढ्यो भने त्यहाँ ठूलै विपत्ति निम्तिनेछ ।
सुनामी आएमा ज्वारभाटा अत्यन्तै शक्तिशाली हुन्छन् । त्यस्तो बेलामा हरेक ज्वारभाटाले अथाह पानी लिएर दगुर्ने गर्छन् । ७१ प्रतिशत सुनामी प्रशान्त महासागरमा आउने गर्छन् । यद्यपि, भूकम्पका कारण जुनसुकै समुद्री क्षेत्रमा पनि सुनामी आउन सक्छ ।
सुनामी आउँदै गरेको सूचना दिएर क्षति कम गर्ने विधि विकास भइसकेको छ । तर, सुनामी आउनुभन्दा २० मिनेटअघि मात्रै सूचना प्राप्त हुने भएकाले सुनामीले अहिले पनि ठूलो संख्यामा मानिस मारिरहेको छ । सन् २००४ मा इन्डोनेसियाको सुमात्राको तटीय क्षेत्रमा आएको भूकम्पले समुद्रमा सुनामी ल्याउँदा इन्डोनेसिया र आसपासका १५ मुलुकका २ लाख ८० हजार मानिसको मृत्यु भएको थियो ।
सुनामीभन्दा बाढीबाट बढी मानिस मर्ने गरेका छन् । सन् १९३१ मा चीनको याङ्त्सी नदीमा बाढी आउँदा दशौँ लाख मानिसको मृत्यु भएको थियो । त्यस वर्ष चीनमा हिमपातलगत्तै भीषण वर्षा भएको थियो, जसकारण त्यहाँ ठूलो बाढी आएको थियो । सो बाढीलाई अहिलेसम्मकै ठूलो प्राकृतिक विपत्ति मान्ने गरिन्छ । जलवायु परिवर्तनसँगै अहिले अर्बौं मानिस बाढीको जोखिममा बाँचिरहेका छन् ।
हावा
अफ्रिकामा ‘ज्यानमारा ताल’ प्रशस्तै छन् । तर, पानीका कारण ती ताल ज्यानमारा भएका होइनन् । क्यामरुनको न्योस ताल र कंगो तथा रुवान्डाको सीमाक्षेत्रमा रहेको किभु ताल त्यस्तै ज्यानमारा तालमा पर्छन् । ती ताल ज्वालामुखी विस्फोट हुने ठाउँमा छन् । त्यसैले जमिनमुनिबाट आउने काबर्न डाइअक्साइडले ती ताल र वरिपरिको क्षेत्रलाई घातक बनाउने गर्छन् ।
ती तालका पिँधमा कहिलेकाहीँ विस्फोट हुने गर्छ । विस्फोटपछि जमिनमुनिबाट अथाह मात्रामा कार्बन डाइअक्साइड बाहिर निस्किएर तलाउमाथि कालो बादल बन्न पुग्छ । अक्सिजनभन्दा कार्बन डाइअक्साइड गह्रौँ हुने भएकाले यो जमिनको सतहमा थिग्रिन्छ र अक्सिजन चाहिँ उडेर अन्यत्रै जान्छ । सन् १९८० मा क्यामरुनमा यस्तै खालका दुइटा विस्फोट भएका थिए, जसकारण १७ सय मानिस र ३५ सय पशुचौपायाको मृत्यु भएको थियो । त्यसपछि विज्ञहरूले पाइपमार्फत सुरक्षित ढंगले तालहरूलाई कार्बन डाइअक्साइडरहित बनाउने विधि विकास गरेका छन् ।
कंगो तथा रुवान्डाको सीमाक्षेत्रमा रहेको किभु तालको पिँधबाट मिथेन ग्यास चुहिने भएकाले यो अझ खतरनाक छ । त्यहाँ चुहिने ग्यासबाट बिजुली निकाल्ने परियोजना अहिले सुरु गरिएको छ ।
हावामा मिसिने ग्यासले मात्र नभई हावा एक्लैले पनि ठूलो विपत्ति निम्त्याउने गरेको छ । अन्टार्कटिका महाद्वीपमा पर्ने केप डेनिसन सबैभन्दा वेगसँग हावा लाग्ने ठाउँमा पर्छ । तर, त्यहाँ मानव बसोबास छैन । मानव बसोबास भएको ठाउँमा पनि हावाहुण्डरी र समुद्री आँधीले ठूलो मानवीय क्षति निम्त्याउने गर्छ ।
क्यारेबियन समुद्रमा आँधी आउने बाटोमा पर्छ, हाइटी । गरिब भएकाले हाइटीमा आँधीबाट बच्ने खालका निर्माणकार्य हुन सकेका छैनन् । बाढी आउनसक्ने ठाउँमा घर बनेका छन् । आँधी रोक्ने प्राकृतिक अवरोधक जंगल फँडानी भएका छन् । पर्याप्त पैसा नभएकाले बाढी आउँदै गरेको चेतावनी दिने व्यवस्था पनि विकास हुन सकेको छैन । त्यसैले त्यहाँ समुद्री आँधीका कारण भएको क्षतिसम्बन्धी समाचार समय–समयमा आइरहने गर्छ । जर्मनीको स्टुटगार्ड विश्वविद्यालयका प्राकृतिक विपत्ति न्यूनीकरणसम्बन्धी विज्ञ जोर्न बिर्कम्यानका अनुसार चक्रवात र समुद्री आँधी आदि कहिले, कुन दिशा हुँदै आउँछ भन्ने थाहा पाउन कठिन भएकाले यो बढी घातक हुन्छ ।
ओसिनिया क्षेत्रको मुलुक भानुआटूमा समुद्री आँधीले ठूलो विनाश निम्त्याइरहन्छ । सन् २०१५ मा त्यहाँ भूकम्प, ज्वालामुखी विस्फोट र समुद्री आँधीले एकपछि अर्को गरी क्रमशः हमला गरेका थिए । ती घटनामा परी ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो । त्यहाँका एकतिहाइभन्दा बढी मानिस हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको मारमा पर्ने गर्छन् । त्यहाँका मानिसलाई प्राकृतिक विपत्तिबाट जोगाउन संसारभरिबाट सहयोग जुट्ने गरेकाले त्यहाँ मानवीय क्षति कम हुने गर्छ । जबकि सन् १९७० को नोभेम्बरमा बंगलादेशमा आएको समुद्री आँधीबाट पाँच लाख मानिसको मृत्यु भएको थियो ।
जमिन
हामी थलचर प्राणी हौँ । तर, पनि पृथ्वीको गर्भमा हुने प्लेटहरूको हलचल र घर्षणले गर्दा आउने भूकम्पले गर्दा पृथ्वीमै सुरक्षित रहन पनि हामीलाई अप्ठ्यारो पर्ने गर्छ । सन् १५५६ मा चीनको सान्सीमा गएको भूकम्प अहिलेसम्मकै शक्तिशाली भूकम्पमा पर्छ । सो भूकम्पका कारण आठ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ । भूकम्पपछि सुनामी पनि आउँछ । जमिन र पानी दुवै मोर्चाबाट प्राणीमाथि एकसाथ हमला गर्नसक्ने भएकाले भूकम्प सबैभन्दा घातक प्राकृतिक विपत्तिमा पर्छ ।
अमेरिकी राज्य क्यालिफोर्नियाको भूगर्भमा प्यासिफिक प्लेट र नर्थ अमेरिकन प्लेट जुध्ने भएकाले त्यहाँ शक्तिशाली भूकम्प गइरहन्छ । अमेरिकाको लस एन्जलस र जापानको टोकियो भूकम्पको बढी जोखिम भएका शहरमा पर्छन् । तर, पनि उन्नत प्रविधिबाट पूर्वाधारलगायत निर्माण हुने गरेकाले त्यहाँ मानवीय क्षति कम हुने गरेको छ । संसारभरमा जाने ८१ प्रतिशतजति ठूला भूकम्प प्यासिफिक क्षेत्रमा जाने गर्छ । तर, त्यस क्षेत्रका सबै देशले टोकियोमा जस्तै उन्नत र सुरक्षित खालका पूर्वाधार निर्माण गर्न सकेका छैनन् । प्राकृतिक विपत्तिका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेका संसारका १० मध्ये आठ वटा शहर फिलिपिन्समा पर्छन् । ती शहर भूकम्प र समुद्री आँधी दुवैको उच्च जोखिममा छन् ।
आगो
भूकम्पसँगै जोडिएर आउने अर्को विपत्ति हो, ज्वालामुखी विस्फोट । दुइटा प्लेट एकअर्काबाट अलग भएपछि पृथ्वीको गर्भमा रहेको तातो लाभा बाहिर निस्किन्छ । बाहिर निस्किएपछि यसले भेटेसम्मका चिजलाई खरानी पार्छ । यस्तो जोखिम सबैभन्दा बढी भएको ठाउँ इथियोपियाको डानाकिल डिप्रेसन भन्ने ठाउँ हो । यो पृथ्वीको सबैभन्दा तातो ठाउँमध्येमा पर्छ । त्यहाँ पानी पनि कम पर्छ । त्यस्तो ठाउँमा पनि अफार जातिका मानिस बस्ने गर्छन् । इटालीको नेप्लिस शहर ज्वालामुखी गइरहने पहाडभन्दा छ माइल मात्र टाढा छ । मेक्सिको सिटी चाहिँ ४३ माइल टाढा छ ।
एक प्रतिवेदनअनुसार ज्वालामुखी विस्फोटका कारण विगत चार सय वर्षमा दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ज्वालामुखी विस्फोटको सबैभन्दा बढी जोखिममा रहेका मुलुकको सूची पनि तयार भएको छ । इन्डोनेसिया यस्ता मुलुकमध्ये पहिलो स्थानमा पर्छ । सन् १८१५ मा त्यहाँको टाम्बोरा हिमालमा ज्वालामुखी विस्फोट हुँदा ७० हजार मानिसको मृत्यु भएको थियो । ज्वालामुखी विस्फोटपछि जलवायु परिवर्तन हुन्छ । महामारी र रोगव्याधि फैलिन्छन् । यसले अझ बढी मानवीय क्षति गराउन सक्छ । इन्डोनेसियाकै मेरापी हिमालमा सन् २०१० मा ज्वालामुखी विस्फोट हुँदा ३ सय ५० जनाको मृत्यु भएको थियो । हजारौँलाई समयमै उद्धार गरिएकाले थप मानवीय क्षति हुन पाएन ।
(‘बीबीसी’बाट । ब्रिटिस स्वतन्त्र पत्रकार डेभिस विज्ञान र वातावरण विषयमा लेख्ने गर्छिन् ।)