काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय लोकतन्त्रको उपहास भएको बताएका छन् । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गर्दै मन्त्री बनेका साहले ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका हुन् ।
माओवादीले साहसहित माओवादीबाट सांसद बनी एमाले प्रवेश गरेर मन्त्री भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट हटाउन मंगलबार संसद सचिवालयमा पत्राचार गरेको छ ।
'जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’ साहले फेसबुकमा लेखेका छन् ।
एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानुनी डण्डा चलाउन नसुहाउने साहको भनाई छ । ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू फेरि नांगै भएको साहले उल्लेख गरेका छन् ।
सांसदहरुमाथि हमलाको दुष्प्रयास गरिएको भन्दै उनले त्यसलाई प्रतिगामी कार्यको संज्ञासमेत दिएका छन् ।
#निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त...
Posted by Prabhu Sah on Tuesday, 6 April 2021